|

सल्यान : चौबीसै घण्टा नागरिकको सुरक्षामा तैनाथ रहने  प्रहरी आफैँ असुरक्षित छन्। २०७२ वैशाख १२ गते गएको भूकम्पले जिल्ला प्रहरी कार्यालयको भवन जीर्ण बनेपछि उनीहरू असुरक्षित बनेका हुन्।

जिल्ला प्राविधिक कार्यालयले बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको तीन वर्ष बिते पनि प्रहरीहरू जोखिम मोलेर बस्दै आइरहेका छन्। 

सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण भनेर प्रमाणित हुँदा पनि प्रहरीहरू भने सोही भवनमा बस्न बाध्य छन्। झण्डै ७० वर्ष पुरानो कच्ची ब्यारेक भवन भूकम्पले क्षतिग्रस्त बने पनि त्यसको विकल्प नभएकोले अहिलेसम्म त्यसैमा बस्दै आएको उनीहरू बताउँछन्। ६ कोठाको दुई तले कच्ची भवनमा अहिले झण्डै ४० जना बस्दै आएको प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए। 

नयाँ ब्यारेक भवन निर्माण नहुँदा सम्म प्रहरी जवानहरूले जोखिम मोलेरै भए पनि यस भवनमा गुजारा गरिरहेको शाहीको भनाइ छ। ‘हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयमा भवन निर्माण तथा मर्मतका लागि जानकारी गराई सकेका छौँ', उनले भने ‘तर अर्को भवन निर्माण नहुँदासम्म प्रहरी जवानले जोखिम मोलेर  गुजारा गर्नु पर्ने भएको छ। तर अहिलेसम्म अर्को भवन बन्ने नबन्ने  टुंगो लागेको छैन।'  

भूकम्पपछि यो भवनमा बस्नु जोखिमपुर्ण भनेर जानकारी हुँदा पनि भवनमा बस्नुको विकल्प नरहेको प्रहरी जवानहरुले बताएका छन्। कतिपय प्रहरी भने नजिकैको घरहरुमा कोठा भाडामा लिएर पनि बस्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालयको भवन २०१२ सालमा बनेको भए पनि ब्यारेक भवन भने अझै  केही वर्ष पुरानो रहेको स्थानीयको भनाइ छ। '०१२ सालमा प्रहरी कार्यालय बसेको हो', स्थानीय यज्ञबहादुर थापाले भने, 'प्रहरी कार्यालय बस्नु भन्दा अगाडी नै यहाँ त्यो ब्यारेक भवन थियो, यो भवन धेरै पुरानो भइसकेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.