|

पोखरा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जिर्णाेद्धार अन्तिम चरणमा पुगेको छ। मन्दिर निर्माणको सबै काम सकेर अहिले छानामा, लहरीमा सुनको जलप लगाउने काम भइरहेको छ।

केही दिनअघि १५ किलो सुनको जलप सकिए पनि सबै ठाउँमा नपुगेपछि काम रोकिएको थियो। थप तीन किलो सुन किनेर ल्याएपछि काम सुरु भएको मनकामना मन्दिर जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। 

‘पहिलेको अनुमान १५ किलो नै थियो, लगाउँदै जाँदा सुन अपुग भएर काम नै रोकिएको थियो’ श्रेष्ठले भने ‘अपुग भएको ठाउँमा लगाउन तीन किलो सुन चाहिने 'स्टिमेट' भयो। अहिले सुन पनि ल्याइसक्यौँ। अघिल्लो हप्तादेखि काम पनि सुरु भएको छ।’ सरकारले पुरातत्त्व विभागमार्फत दिएको चार करोड रुपैँयाले सात किलो र भक्तजनबाट उठेको रकमबाट आठ किलो सुन किनेर मन्दिरमा जलप लगाइएको थियो।

अहिले किनिएको थप तीनकिलो सुन पनि भक्तजनकै सहयोगमा संकलित रकमबाट किनिएको हो। सुन किन्न मात्रै १० करोड रुपैँया खर्च भएको जीर्णाेद्धार समितिले जनाएको छ। सुन खरिदसँगै मन्दिर जीर्णाेद्धार गर्न १३ करोड रुपैँया खर्च भइसकेको छ। मनकामना मन्दिरको दुई वटा छाना, मूलढोका, कंकालको मूर्ति, तोरण, लहरी, मुकुट र गजुरमा सुन प्रयोग भएको छ। 

हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ। भक्तजनले मात्रै मन्दिर जीर्णाेद्धार गर्न आठ करोड रुपैँया सहयोग गरेका छन्। एक हप्तामा बाँकी क्षेत्रमा सुनको जलप लगाएर दसैँसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने तयारी जीर्णोद्धार समितिको रहेको छ। अहिले मन्दिरकै आठमा मनकामनाको प्रतिमा स्थापना गरेर भक्तजनलाई पुजाआजा गर्ने व्यवस्था मिलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.