विचार

प्रेम सम्पूर्ण अस्तित्वबोध
SHARES

भदौ १०, २०७५

    जहाँ जे छैन, त्यही कुराको आकर्षण धेरै हुन्छ। मानिसले सबैभन्दा धेरै चासो दिएको कुरा प्रेम हो। साहित्य, संगीत, चलचित्र, मूर्तिकला, चित्रकला इत्यादिमा मान्छेले अभिव्यक्त गर्ने हरेक माध्यममा प्रेमको प्राचुर्य छ। हामीलाई झूट लाग्न सक्छ तर यतिबिघ्न प्रेमप्रति दुनियाँको झुकाव केवल एउटै कुराको प्रमाण हो कि दुनियाँमा सबैभन्दा दुर्लभ कुरा प्रेम नै हो। हो, केही सीमित मानिसको जीवनमा प्रेम होला तर आमसन्दर्भमा प्रेम दुर्लभ छ। यदि जहीँतहीँ प्रेम हुने थियो भने यतिबिघ्न प्रेमको अाकर्षण हुने नै थिएन। हामीमध्ये अधिकांशका जीवनमा प्रेमी–प्रेमिका छन्। प्रेमका प्रसंगहरू छन्। प्रेमका सम्बन्धहरू पनि छन् तर साँचो अर्थमा प्रेमचाहिँ छैन।

    नझुक्किनुहोस्! बाआमाप्रति गरिने कर्तव्य प्रेम होइन। जीवनसाथीसँगको समझदारी प्रेम होइन। बालबच्चाप्रतिको जिम्मेवारीको बोध प्रेम होइन। मित्रलाई देखाउने सदासयता प्रेम होइन। विपरीत लिंगीलाई चाहनु पनि प्रेम होइन। यी सम्बन्धहरू मनोवैज्ञानिक हिसाबकिताबमा आधारित छन्। सच्चा प्रेम मनोवैज्ञानिक हिसाबकिताब हुँदै होइन।

    प्रेम नहुनुको अर्को प्रमाण हिंसा, द्वन्द्व, अपराध, शोषण हुनु हो। अशान्ति र व्याकुलता हुनु हो। प्रेमकै नाममा कयौँले आत्महत्या गरेका छन्। हजारौँले मानसिक सन्तुलन गुमाएका छन्। धेरैको हत्या गरिएका छन्। प्रेमले त अथाह आनन्द दिन्छ। दुःख दिने चिज कसरी प्रेम हुनसक्छ?

    यीभन्दा ठूला प्रमाणहरू के चाहिन्छ र! यो दुनियाँ प्रेमको मामिलामा मरुभूमि हो। हामी हरेकलाई प्रेमको महत्त्व थहा हुँदाहुँदै किन त प्रेमविहीन छ त दुनियाँ? यो दुनियाँलाई प्रेमिल बनाउने सन्दर्भमा कहाँनेर चुक्यौँ त हामी? 

    प्रेम गरिने चिज होइन

    प्रेम कार्य होइन, घटना हो। गर्छु भनेर गरिने प्रेम सच्चा प्रेम हुँदै होइन। प्रेम घटित हुनुपर्छ। घटित प्रेमका सन्दर्भमा प्रेममा परेकाहरू निरीह हुन्छन्। जे हुन्छ, आफसे आफ हुन्छ। कर्ता अर्कै अदृश्य छ। कर्तव्यबोध भएर गरिने परिवारप्रतिको प्रेम त घरघरमा छन्। हामीले यस्तो सामाजिक व्यवस्था गरेका छौँ, जहाँ प्रेम गर्नका लागि संस्थागत संरचनाका विकास गरिएका छन्। गरिएको प्रेम मस्तिष्कको उपज हो। घटित प्रेम हृदयबाट निस्कन्छ। गरिएको प्रेम, दायित्व, प्रतिबद्धता, आशक्ति, आवश्यकता आदिको जोडघटाउ हो। वास्तवमा गरिएको प्रेमलाई प्रेम भन्नु नै गलत हो।

    मानिस स्वाभाविक रूपमै स्वकेन्द्रित हुन्छन्। घटित प्रेममा मनोवैज्ञानिक केन्द्र आफूबाट प्रेम गरिएको मानिसमा सर्छ। त्यसैले घटित प्रेममा ‘म’ भाव अर्थात् अहं विलय भएर जान्छ। प्रेमको प्रसँगमा मात्र होइन, भक्ति, पूजा, प्रार्थना जुनसुकै अवस्थामा कर्ता केन्द्र हो। त्यसैले गरिएको प्रेममा पनि कर्ता स्वकेन्द्रित नै रहन्छ। मैले प्रेम जस्तो महत्त्वको काम गर्दै छु भन्ने भावले त अहंलाई अझ बलवान् बनाउँछ। अहंलाई बलवान् बनाउने सन्दर्भमा त गरिने प्रेम अपराध नै हो। 

    किन हाम्रो जीवनमा प्रेम छैन? 

    प्रेम त्यसै हुँदैन। केही तयारीको आवश्यकता पर्छ। हामीले प्रेम घटित हुनका लागि जमिन तयार नपारेका मात्रै छैनौँ, प्रेम घटित हुने सम्भावनाको पनि घाँटी निमोठ्ने प्रयास गरेका छौँ। एक त गरिएका प्रेमहरू नै यसका कारक हुन्। जो मानिसले प्रेम गर्छ, उसको जीवनमा प्रेम घटित हुने सम्भावना शून्य बराबर हुन्छ। अनि हामीले गरिने प्रेमलाई जानी नजानी पुस्तान्तरण गर्दै आएका छौँ। त्यसैले हामी जिन्दगीभर प्रेमको नाममा भ्रममा परेका छौँ। हाम्रो लागि प्रेमको आयाम नै झूटो छ। 

    पहिला आफैँलाई प्रेम गर्नुहोस्

    प्रेमको पहिलो शर्त भनेको सम्पूण रूपमा आफैँलाई प्रेम गर्नु हो। के हामीले सम्पूर्ण रूपमा आफैँलाई प्रेम गरेका छौँ र? नितान्त व्यक्तिवादी चरित्र भएकाहरूले शरीरिक सुख सयललाई नै स्वयंलाई गर्ने प्रेम हो भनेर बुझेका हुन्छन्। अनि सामाजिक उत्तरदायित्वको बोझमा रमाएकाहरूले स्वयंलाई प्रेम गर्नु भनेको नितान्त स्वर्थीपना हो भनेर बुझेका हुन्छन्। हामी शरीर, मन र आत्माको संयुक्त रूप हौँ। हामीले यी तीनवटै कुरालाई दुरुस्त राख्न केही काम अनिवार्य रूपमा गर्नै पर्छ।

    हामीमध्ये कतिले स्वादलाई बिर्सेर शरीरलाई अनुकूल हुने खानेकुरा मात्रा मिलाएर खाएका छौँ? अल्छी नगरी आवश्यक मात्रामा व्यायाम गर्ने गरेका छौँ? शरीरलाई जस्तै मनलाई पनि उपयुक्त खुराक चाहिन्छ। हामीमध्ये कतिले मनको रूपान्तरणका सन्दर्भमा ध्यानलाई जीवनको एक महत्त्वपूर्ण हिस्सा बनाएका छौँ? त्यस्तै, आत्माको शुद्धिका लागि धर्मलाई धारण गर्न जरुरी छ। हामीमध्ये कतिले शील पालना गरेका छौँ? यी सबै कुरा गर्न के हामीले समय निकालेका छौँ र? हामी यतिबिघ्न बहिर्मुखी भएका छौँ कि आफूलाई प्रेम गर्ने सन्दर्भमा केवल सुखसयलको जिन्दगीको पछि लागेका छौँ। जसले आफैँलाई निस्वार्थ प्रेम गर्न सक्दैन, त्यसले अरूलाई के स्वार्थरहित प्रेम गर्नसक्छ र? अरूसँगको प्रेम घटित हुने सन्दर्भमा हामीले आफैँलाई तयार पारेका छँदै छैनौँ।   

    विपरीत लिंगीबीचको प्रेममा प्रकृति सहायक

    हुनत श्रीमान् वा श्रीमतीलाई, परिवारलाई, साथीलाई, छिमेकी र अर्को कसैलाई गर्ने प्रेममा कुनै भिन्नता छैन। प्रेम जसलाई गरे पनि उस्तै हो। तर विपरीत लिंगीबीचको प्रेममा केही भिन्नता छ। जैविक रूपमा युवायुवती (पुरुष र स्त्री) एकअर्काप्रति आकर्षित हुन्छन्। यो प्राकृतिक अनिवार्यता हो। युवायुवती एकअर्काप्रति आकर्षित नभएको दिन मानव समुदायको विलय निश्चित छ। अन्य प्रेम सम्बन्ध भन्दा फरक युवायुवतीबीचको प्रेम सम्बन्धमा प्रकृति स्वयं नै, अस्तित्व स्वयं नै सहायक भइदिने भएको हुँदा सहज रूपमा यस्तो प्रेम घट्ने सम्भावना धेरै हुन्छ। 

    धर्मको केन्द्र आनन्द 

    प्रकृति अनुकूल भइरहँदा पनि कथित धर्मगुरुहरूले युवा र युवतीबीचको प्रेमलाई पूर्णत: शारीरिक भोक मेट्ने सांसारिक सयलका रूपमा समाजलाई बुझाउँदै आएका छन्। जबकि प्रेम मानसिक रूपान्तरणको मार्ग हो। अध्यात्मिक सन्दर्भमा भन्नुपर्दा भगवानसम्म पुग्ने मार्ग हो। सांसारिक भवसागरबाट मुक्ति हुने माध्यम हो। 
    धर्मको मार्गमा हामी चुकेका छौँ। जबसम्म धर्मको केन्द्रमा भगवानलाई राखिन्छ, भक्तमा भगवानको साक्षात्कारको लोभ जाग्छ। अहंको विलयमा त्यो लोभ नै बाधा हो।

    राम्रोसँग हिँड्न नजान्दै मस्तिष्कमा सूचनालाई भण्डार गर्न हामीलाई विद्यालयमा लगिन्छ। मस्तिष्कको प्रशिक्षणमा खर्बौं खर्ब लगानी गरेको यो दुनियाँसँग हृदयको विकासका सन्दर्भमा केही ज्ञानै छैन। आजको दुनियाँ केवल विचारको धरातलमा उभिएको छ। हृदयले गर्ने बोध हाम्रा लागि दुर्लभ भएको छ।

    हामी एउटा भ्रममा बाँचेका छौँ। भगवानको अर्थ सांगोपांगो भौतिक शरीर भएको महाप्राणी होइन। भगवान भनेको त केवल एउटा अनुभूति हो। ‘म’ अर्थात् अहं विलय भएर संसारसँग एकाकार हुने अनुभूति हो, जहाँ दुःख र सुख हुँदैन, केवल आनन्द हुन्छ। त्यही भएर धर्मको केन्द्रमा आनन्दलाई राख्न जरुरी छ। वास्तवमा प्रेम भन्दा अर्को आनन्दको ठूलो स्रोत यो दुनियाँमा केही छैन।  

    समाज प्रेमको बाधक

    युवा युवतीको प्रेमलाई समाजले पनि संकुचित रूपमा लिन्छ। मानौँ, प्रेम कुनै अपराध हो। घरमा परिवारको डर। घरबाहिर समाजको डर। हामी कस्तो संसारमा छौँ, जहाँ प्रेम गर्दा डर पैदा हुन्छ, आन्नद होइन। प्रेमका सन्दर्भमा परिवार पनि बाधक छ। के प्रेम आफ्नै समुदायमा मात्रै घटित हुने अनुभूति हो र? राष्ट्रियता, आर्थिक स्तर, जात, सम्प्रदाय सबैको मिलान गरेर गरिने प्रेम पनि घटित प्रेम हो र? प्रेम जोसुकैसँग घट्न सक्ने कुरा हो।

    इज्जतका नाममा प्रेमजोडीको आफ्नैले हत्या गर्ने गरेका छन्। समाजबाट बहिस्कृत गरेका छन्। सहज रूपमा हुने युवायुवतीबीचको प्रेममा धार्मिक संस्था, समाज र परिवारले जबर्जस्त प्रतिबन्ध लगाएपछि घटित प्रेममा बाधा देखिनु स्वाभाविक हो।

    प्रेम घटित हुन हृदयप्रधान हुनु जरुरी छ। तर विडम्बना, हाम्रो समाजिक संरचनाले हामीलाई मस्तिष्कप्रधान बनाएको छ। राम्रोसँग हिँड्न नजान्दै मस्तिष्कमा सूचनालाई भण्डार गर्न हामीलाई विद्यालयमा लगिन्छ। मस्तिष्कको प्रशिक्षणमा खर्बौं खर्ब लगानी गरेको यो दुनियाँसँग हृदयको विकासका सन्दर्भमा केही ज्ञानै छैन। आजको दुनियाँ केवल विचारको धरातलमा उभिएको छ। हृदयले गर्ने बोध हाम्रा लागि दुर्लभ भएको छ।

    जब हामी कुनै कुराको सन्दर्भमा मस्तिष्कद्वारा विचार गर्न थाल्छौँ, तब हामी र विचार गरिएको चिजबीच दूरी बढ्छ। जहाँ विचार गरिन्छ, त्यहाँ प्रेमको बारेमा पनि विचार गर्न सकिन्छ। चर्चा गर्न सकिन्छ। लेख्न सकिन्छ। तर प्रेमको बोध गर्न सकिँदैन। हृदयद्वारा बोध गरिँदा, दूरी विलय हुँदै गएर क्रमशः बोध गर्ने मानिस र बोध गरिएको चिज एकाकार हुन्छन्। प्रेम भनेकै दुई आत्मा एकाकार हुनु हो। त्यसैले हृदयको विकास गर्नु, बोधको क्षमताको विकास गर्नु भनेको प्रेम घट्नका लागि आधारभूमि तयार गर्नु हो। 

    प्रवृत्तिगत रूपमा प्रेम स्वघटित मात्रै हुँदैन। यो एक प्रक्रिया पनि हो। धर्मको यात्रा, अध्यात्मको यात्रा जस्तै प्रेमको यात्रा पनि देखिनेबाट नदेखिनेसम्मको यात्रा हो। वस्तुबाट ऊर्जासम्मको यात्रा हो। भवसागरबाट भगवानसम्मको यात्रा हो। शरीरबाट शास्वतको यात्रा। पीडाबाट परमेश्वरको यात्रा हो। सीमितबाट अनन्तको यात्रा हो।

    आज हामी जहाँ उभिएका छौँ, यात्रा त्यहीँबाट सुरु गर्ने हो। प्रेमको यात्रा पनि भौतिक शरीरको आकर्षणबाटै सुरु हुने हो। प्रक्रियागत रूपमा, आकर्षण प्रेममा र प्रेम करुणामा परिणत हुन्छ। सुरुमा स्वकेन्द्रित मानिस, पछि प्रेमी वा प्रेमिकाको भौतिक शरीर अनि उसको गुणमा केन्द्रित हुँदै सम्पूर्ण रूपमा प्रेमी वा प्रेमिकामा केन्द्रित हुन्छ।

    प्रेममा मनोवैज्ञानिक केन्द्र स्वयंबाट प्रेमीप्रमिकामा सर्छ। स्वयंबाट अर्को मानिसमा केन्द्र सर्न निकै कठिन हुन्छ। तर अर्को व्यक्तिमा केन्द्र सरिसकेको अवस्थामा केन्द्र अर्को तेस्रो, चौथौ, पाँचौँमा सहजै सर्छ। अर्थात् यस्तो अवस्थामा मान्छेको मनोवैज्ञानिक केन्द्र स्वयं नभएर समग्र संसार नै केन्द्र बन्छ। सम्पूर्ण अस्तित्व नै केन्द्र बन्छ। अस्तित्वको समग्र रूप नै भगवान हो। त्यसैले प्रेम भगवानसम्म पुग्ने माध्यम हो।

    जो मानिसमा प्रेम घटित हुन्छ, उसका लागि शास्त्रले अर्थ राख्दैन। पूजाले अर्थ राख्दैन। ध्यानले अर्थ राख्दैन। धर्मले अर्थ राख्दैन किनकि प्रेम आफैँमा पूजा हो। प्रेम आफैँमा ध्यान हो। प्रेम आफैँमा शास्त्र हो। प्रेम आफैँमा धर्म हो। प्रेम आफैँमा भगवान पनि हो। प्रेम सम्पूर्ण अस्तित्वको बोध हो। त्यसैले प्रेम फल्ने भूमिलाई उर्वर बनाउअौँ। प्रेम रोपिने कुरा होइन, भूमिको उर्वरताले प्रेमलाई फलाउँछ, फुलाउँछ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]