|

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाले मनोमानी ढंगबाट पार्टी चलाउन खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा पुराना विषयसमेत ल्याएर पौडेलले हलो अड्काएपछि बैठक नै बस्न सकेन। 

बैठकका लागि पाँच घण्टा लामो आन्तरिक प्रयास भए पनि सहमति जुट्न नसकेपछि बैठक नै शनिबारसम्मका लागि स्थगित गर्नुप¥यो। वरिष्ठ नेता पौडेलले चार विषयमा सभापति देउवा समक्ष असन्तुष्टि जनाएपछि बैठक बस्न सकेन। देउवा, पौडेललगायत पार्टी पदाधिकारीले लामो समयसम्म सहमतिको प्रयास गरे। तर चारमध्ये कुनै विषय टुंगो लाग्न सकेन। 

वरिष्ठ नेता पौडेलले पुरानो विषय आमन्त्रित केन्द्रीय सदस्यको विषयमा समेत देउवा समक्ष असन्तुष्टि व्यक्त गरे। उनले केन्द्रीय समितिमा आन्त्रित गरिएको सदस्यहरूलाई खारेजी गर्नुपर्ने माग गरे। तर त्यसमा देउवा भने सहमत भएनन्। 

देउवाले विभिन्न समयमा गरेर सात जना नेताहरूलाई केन्द्रीय समितिमा आमन्त्रित केन्द्रीय सदस्यको रूपमा मनोनित गरेका छन्। पौडेलले आमन्त्रित केन्द्रीय सदस्य स्थायी नहुने भन्दै सभापतिसमक्ष खारेजीको माग गरेका थिए। ‘आमन्त्रित केन्द्रीय सदस्य भनेको विशेष बैठकको समयमा मात्र आमन्त्रण गरिने हो’, पौडेललाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर पार्टीमा आन्त्रण गरिएको केन्द्रीय सदस्यलाई स्थायी बनाइयो। यसमा असन्तुष्टि हो।’

पौडेलले विधान मस्यौदा समितिमा सभापतिले सहमति उल्लंघन गरेको आरोप लगाएका छन्। यसअघि विधान मस्यौदा समितिमा ९ जना राख्ने भनिए पनि सभापतिले सहमति उल्लंघन गर्दै ११ जना सदस्य राखेको पौडेल समूहको आरोप छ। यसअघि भएको सहमतिअनुसार देउवा समूहबाट संयोजकसहित पाँच र पौडेल समूहबाट चार जना सदस्य रहने गरी विधान मस्यौदा समिति बनाउने सहमति भएको थियो।

त्यहीअनुसार पौडेलले नेता कृष्णप्रसाद सिटौला समूह र महामन्त्री डा.शशांक समूहबाट चार जनाको नाम पठाएका थिए तर देउवाले सहमति उल्लंघन गर्दै आफ्नोतर्फबाट संयोजकसहित सात जनाको नाम मस्यौदा समितिमा समावेश गरेपछि पौडेल समूह अक्रोशित बनेको हो। ‘९ जनामा सहमति भएको थियो’, देउवाइतरका नेता अर्जुननरसिंह केसीले भने, ‘तर सभापतिले सहमति विपरीत ११ जनाको मस्यौदा समिति बनाउनुभयो। यो आपत्तिजनक हो।’

यस्तै, मस्यौदा समितिमा जिल्ला सभापतिहरूको पनि प्रतिनिधित्व गराउनुपर्ने पौडेल समूहको अडान छ। गत असार पहिलो साता हेटौँडामा सम्पन्न जिल्ला सभापतिहरूको २१ बुँदे घोषणापत्रमा समावेश भएअनुसार जिल्ला सभापतिलाई पनि मस्यौदा समितिको सदस्यमा अटाउनुपर्ने पौडेल समूहको माग छ। 
देउवाले भने जिल्ला सभापतिहरूलाई आमन्त्रित सदस्यको रूपमा राख्न प्रस्ताव गरे। तर पौडेल समूहले आफ्नो अडान छाडेन। त्यसकारण पनि शुक्रबारको बैठक बस्दै नबसी स्थगित भएको हो। ‘केही विषयमा सहमति जुट्न सकेन’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘भोलिसम्म पदाधिकारीले पूर्वतयारी गर्नेछ।’

मस्यौदा समितिमा सबै क्षेत्रको प्रतिनिधित्व नभएको नेता केसीले दाबी गरे। ‘विधान मस्यौदा समिति गठन गर्दा हिमाल, पहाड र तराई सबैलाई समेट्नुपर्ने हो’, उनले भने, ‘तर यो समितिमा समेट्न नसकेको पाइयो। जिल्ला सभापतिको भेलाको निर्णय पनि कार्यान्वयन नभएको पाइयो।’

विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै समितिको पहिलो बैठक पौडेल समूहले बहिष्कार गरेको छ। शुक्रबार बिहान बसेको बैठकमा पौडेल समूहका चारमध्ये तीन सदस्यले बैठक बहिष्कार गरे। तर महामन्त्री डा. कोइराला निकटका सदस्य डा. मीनेन्द्र रिजाल भने बैठककला लागि केन्द्रीय कार्यालय पुगेका थिए।
पौडेल र सिटौला समितिका अन्य तीन सदस्य भने बैठकमै गएनन्। बैठकमा सहभागी नहुनेहरूमा दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेल थिए। मस्यौदा समितिको बैठक बस्न सकेपछि फेरि बस्ने गरी बैठक स्थगित गरिएको थियो। 

यता पौडेल समूहले भने सभापति देउवालाई भदौभित्र महासमिति बैठक बोलाउन दबाब दिँदै आएको छ। ‘हाम्रो केन्द्रीय समिति बैठकले बैशाखमै भदौमा गर्ने निर्णय गरेको छ’, पौडेल निकट नेता नवीन्द्रराज जोशीले भने, ‘त्यसकारण भदौबाट उता बैठक सार्न हुँदैन।’

त्यस्तै, शुक्रबारको बैठकबाटै गठन गर्ने भनिएको कार्यसम्पादन समितिको भागबन्डामा पनि पौडेल समूहले असन्तुष्टि जनाएको छ। पदाधिकारी, पार्टी प्रवक्ता र पार्टी संसदीय दलको नेतासहित गरी बन्ने २९ सदस्यीय सम्पादन समितिमा देउवाले पौडेल समूहलाई ६०/४० प्रतिशतको आधारमा भागबन्डा गर्न प्रस्ताव गरेका थिए।

तर आधा/आधा खोज्दै पौडेल समूहले भने यो प्रस्ताव स्वीकार गरेन। ‘यसमा सिटौला समूह र अर्जुनरसिंह केसी समूहको पनि कुरा आएन’, एक नेताले भने, ‘त्यसकारण यो सिटौला समूह र पौडेल समूहले पनि मानेन।’ निर्वाचनअघि कार्यसम्पादन समिति गठन गर्दा सभापतिले विधान मिचेर विधानमा भएभन्दा बढी सदस्य भएको कार्यसम्पादन समिति बनाएपछि धेरै नेता असन्तुष्ट थिए। गत बैशाखमा सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त समिति खारेज गर्ने निर्णय गरेको थियो। 

यसैगरी कांग्रेसले अनुशासन समिति गठनको पनि तयारी थालेको छ। विधानअनुसार पाँच सदस्य बन्ने समितिमा सभापति देउवाले संयोजकसहित आफ्नोतर्फबाट तीन जना सदस्य र पौडेल समूहबाट दुई जनाको  प्रस्ताव गरेका छन्।  देउवाले आफू निकट केन्द्रीय सदस्य भीष्मराज आङ्देम्वेलाई अनुशासन समितिको संयोजक बनाउने तयारी गरेका छन्।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.