|

दार्चुला : झण्डै ६ वर्षपछि हुन लागेको नेपाल-चीन द्विपक्षीय सीमा बैठकका लागि नेपाली टोली तिब्बत प्रस्थान गरेको छ। शुक्रबार दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली भारतीय बाटो भएर तिब्बतको ताक्लाकोटका लागि प्रस्थान गरेको हो। 

सदरमुकाम खलंगाको सीमावर्ती बजार क्षेत्र धारचुला-बुँदी-तिंकर हुँदै ताक्लाकोट पुग्ने छ। २०६८ सालपछि पहिलो पटक नेपाल-चीन सीमा बैठक हुन लागेको हो। २०६८ सालमा दार्चुलाका नेपाली प्रशासन अधिकारी र चीनको तीब्बत सीमा कार्यालयका अधिकारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

बैठकका लागि नेपालका तर्फबाट दार्चुलाबाट सहायक प्रजिअ शिवराज जोशी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी भीमबहादुर चन्द, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसी नवराज अधिकारी, तिंकर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक धनबहादुर कठायत लगायतको चार सदस्यीय नेपाली टोली तिब्बतका लागि प्रस्थान गरेको हो। 

त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुलाका अधिकारीहरू तथा चीनको तिब्बतीयन अधिकारीहरूबीच सम्पर्कसमेत नभएको ६ वर्षपश्चात् शनिबार नेपाल र चीनका अधिकारीहरूबीच भेटवार्ता हुने जनाइएकाे छ। नेपालका तर्फबाट दार्चुलाका अधिकारी र चीनका तर्फबाट तीब्बत सीमा कार्यालयका अधिकारीबीच भेटवार्ता हुने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए।

त्रीदेशीय सीमा क्षेत्रमा रहेको दार्चुला जिल्लाका अधिकारीहरूको भारत र चीनबीच बैठक बस्नुपर्ने भए पनि चीनसँग भने २०६८ देखि हालसम्म सीमासम्बन्धी बैठक बसेको छैन। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका अनुसार सीमासम्बन्धी गतिविधिहरू लगायतका द्विपक्षीय भेटघाट हुनेछ।

मुख्यगरी लामो सयमदेखि नेपाली-चीनबीच सीमा बैठक नभएकाले सम्पर्क स्थापित गर्न, सीमा क्षेत्रमा हुने गतिविधिबारे बैठकमा छलफल हुने प्रजिअ आचार्यले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.