पर्वत : आज देशैभर हिन्दु धर्मावलम्बिहरूको पर्व रक्षाबन्धन मनाइँदै छ। श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ। यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ। नयाँ फेरिएको जनै र रक्षाबन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किंवदन्ती छन्।
सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरू बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिन्छ। हिन्दु दर्शनअनुसार जनैका २ शिखामध्ये एउटा शिखाका ३ डोरालाई ब्रह्मा, बिष्णु र महेश्वर तथा अर्को शिखाका ३ डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।
नयाँ पुस्ताले भने कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन्। यसबारे टिप्पणी गर्नुहुँदै जिल्लाको कुश्मा नगरपालिकाका एक ब्राह्मण लोकनाथ आचार्य भन्छन्, ‘आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन्। उनीहरूले जनै लगाउन नपरे आनन्द महशुस गर्छन्। पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई बिस्थापित गर्दै लगेको छ।’
नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले खासै ध्यान दिन सकेको छैन। अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ। युवा पुस्ताले आफ्ना परम्परा भुल्दै गएका कारण विभिन्न दैविक विपत्ती परेको बताउँछन् पर्वत, फलेवास नगरपालिका ३ शंकरपोखरीका ७७ वर्षीय नन्दलाल शर्मा। उनी भन्छन्, ‘जनैको महत्व नभइकन त यो सुरु भएन होला? मान्छेलाई अनुशासनको डोरीमा राख्ने काम पनि जनैले गर्छ भनेर मेरा बुबाले भन्नुहुन्थ्यो।’
हिन्दु धर्मावलम्बिहरूले एक छाक खाई नदी वा तलाउमा गएर गाईको गोबर तथा तुलसीको माटोले नुहाउँछन । अनि जौ, तील र कुसद्वनरा ऋषितर्पणी विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्छन्। सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा ब्राह्मण अवतार विष्णुले राजा बलीलाई डोरो बाँधी वचनवद्ध गराएर तीनै लोक लिएको धार्मिक किवंदन्तीसँग पनि जनै पूर्णिमा र रक्षाबन्धन जोडिएको छ।
धार्मिक मात्र नभएर भेटघाटको अवसर पनि बनेको छ यो पर्व। पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका युवा रोहित शर्माले भने आफू जनैको सम्मान गर्दै जनैका सबै रीतिहरू पालना गर्दै आएको बताए। तर पछिल्लो पुस्ताले जनै लगाउन छोडेर हिन्दु परम्परालाई नै धरापमा पारेको भन्दै उनले दुखेसो पनि पोखे।
आजकल तराई क्षेत्रमा दिदीबहिनीले आफना दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने प्रचलन छ। नेपालमा केही वर्षसम्म राखीको चलन त्यती धेरै नभएको भए पनि पछिल्लो समयमा भने दिदीबहिनीहरूलाई आफ्ना दाजुभाइहरूलाई राखी बाँधेर शुभकामना दिने चलन पनि निकै बढ्दै गइरहेको छ।
आजको दिनमा मास, भट्मास, मुङ, केराउ, चना, सिमी, गुराँस र बोडी गरी ९ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ। नेवार समुदायमा भने यसलाई गुन्हु पुन्हीका नामले चिनिन्छ। नेवार समुदायमा मनाइने गुन्हु पुन्हीको बारेमा जानकारी दिँदै कुश्माका राम श्रेष्ठले नेवार समुदायमा गुन्हु पुन्हीको विशेष महत्त्व रहेको बताए।
रक्षाबन्धन अर्थात जनै पूर्णिमालाई मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वका रूपमा पनि हेरिन्छ। परम्परागत रूपमा पनि महत्त्व बोकेको यस पर्वलाई पश्चिमा संस्कृतिको प्रभावसँगै आफ्नो मौलिख कर्मलाई बिर्सनु भने नराम्रो भएको विचारहरू सुनिने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।