|

काठमाडौं : मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुन्। विद्यार्थी राजनीतिबाट उदाएका चौधरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। मेटमणि पहिलो पटक संसदीय अभ्यासमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त गरेका हुन्।

दाङ देउखुरीस्थित गढवा गाउँपालिका (साविकको गढवा गाविस)मा सामान्य किसान परिवारमा जन्मिएका नेता चौधरी अध्ययनशील नेतामा पर्छन्। तीनवटा विषयमा स्नातकोत्तर गरेका नेता मेटमणि विद्यावारिधिको तयारी गरिरहेका छन्।

दुई तिहाई बहुमतको आफ्नै पार्टीको सरकार भए पनि जनताका समस्याका सन्दर्भमा संसदमा खुलेरै बोल्ने गरेका छन् उनी। केही समयअघि प्रधानमन्त्री र सांसदहरूको विशेष छलफलमा आफ्नै पार्टीका अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागेरसमेत मेटमणि चर्चामा आएका थिए।

विद्यार्थी राजनीति, पार्टीका विभिन्न कमिटीको जिम्मेवारी निर्वाह गर्दै उनी तत्कालीन नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनै मेटमणिले दाङको तत्कालीन कम्युनिस्ट राजनीति (खासगरी विद्यार्थी राजनीति) गर्नेबेलाका सम्झना यसरी सुनाए।

'राप्ती नदीमा बग्दाबग्दै बाँचेँ'

बहुदल आउँदाताकाको कुरा हो। म सानैदेखि कुरा सुन्ने, चासो राख्‍ने व्यक्ति थिएँ। त्यसै कारण जो नेता दाङ आउँदा पनि म भाषण सुन्‍न पुगिहाल्थेँ। एक पटक युवराज ज्ञवाली, दामोदर अधिकारी लमहीमा आउनुभयो। म त्यहाँ प्रशिक्षण लिन जानुपर्ने थियो।

भदौको महिना थियो। राप्ती नदीमा निकै ठूलो भेल आएको थियो। राप्तीमा कुनै पनि पुलहरू थिएनन्। त्यो भेल तरेर भए पनि जसरी पनि मलाई नेताको प्रशिक्षण लिन जानै पर्ने थियो। त्यति ठूलो भेल हुँदा पनि मैले नदी तर्ने दुस्साहस गरेँ।

मलाई अहिलेसम्म पनि त्यो दिनको याद छ। नदीभित्र पसिसकेपछि निकै ठूलो भेल भएका कारण मैले सहज रूपमा तर्न सकिनँ। करिब एक किलोमिटर पर मलाई भेलले बगाएर लग्यो। भेल ठूलो भएका कारण मेरो पौडीले पनि काम गर्न सकेन। त्यसका बाबजुद पनि म त्यो भेल तर्न भने सफल भएँ।

मेरो मनमा प्रशिक्षण सुन्‍ने उत्साह निकै थियो। त्यस कारण प्रशिक्षणस्थलमा पुग्न सफल भएँ। तर त्यो घटना अहिले पनि सम्झँदा मलाई डर लाग्छ। एक हिसाबले खुसी पनि लाग्छ कि म नदीले बगाउँदै गर्दा पनि तर्न सफल भएर बाँचेँ। अझ प्रशिक्षणस्थलसम्म पुगेर नेताको प्रशिक्षणसमेत लिन पाएँ।

त्यो चाइनिज पेन, जसले गाडी भाडा दिलायो

वि.सं. २०४६ सालतिरको कुरा हो। मुलुकमा भर्खरै बहुदल आएको थियो। त्यसैबेला अनेरास्ववियु छैठौँको जिल्ला सम्मेलन सदरमुकाम घोराहीमा भयो। म कक्षा ८ मा पढ्थेँ। जिल्ला सम्मेलनमा जान म गढवा क्षेत्रबाट लमही गएँ। गढवाबाट लमहीसम्म पुग्न त पैसा लागेन, हिँडेर पुग्न सकिन्थ्यो। नौ किलोमिटर हिँडेर लमही पुगेँ तर लमहीबाट घोराहीसम्म पुग्न मसँग पैसा थिएन। तर पनि मलाई जसरी भए पनि घोराही जानै पर्ने थियो।

मसँग एउटा चाइनिज पेन थियो। त्यसबेला चाइनिज पेनको मूल्य ४५ रुपैयाँ पर्थ्यो। गाडी भाडा १६ रुपैयाँ लाग्थ्यो। मैले कण्डक्टरलाई मसँग पैसा छैन, यही चाइनिज पेन लैजानुस् भनेँ। कण्डक्टरले मलाई पूरै तलदेखि माथिसम्म हेरे अनि मैले दिएको चाइनिज पेन पनि फर्काइदिए। उल्टो घोराहीदेखि लमहीसम्म आउने भाडासमेत मलाई दिएर पठाए।

त्यसबेला त्यो बाटोको यात्रा तीन घण्टा लाग्थ्यो। अहिले त हामी २० मिनेटमा पुग्छौँ। तीन घण्टाको यात्रा गर्न १६ रुपैयाँ लाग्थ्यो। त्यसबेला मलाई उल्टै १६ रुपैयाँ थप भाडासमेत दिएर पठाइदिए कण्डक्टरले। त्यो घटना मेरो जीवनको अत्यन्तै अविस्मरणीय घटना हो। त्यो सम्झँदा अहिले एकदमै खुसी पनि लाग्छ।

'लखेटिएपछि मध्यरातमा १६ किलोमिटर पैदल हिँड्यौँ'

मेरो निर्वाचन क्षेत्र दाङको पनि देउखुरी क्षेत्रमा पर्छ। त्यस क्षेत्रमा कम्युनिस्ट पार्टीका व्यक्ति कोही पनि नभेटिने। एउटा गाविसमा एक जना मात्रै। भात खुवाउने, चिया खुवाउने मात्रै हुन्थ्यो। त्यसबेला म अखिलमा सक्रिय थिए। त्यस क्षेत्रभरि हिँड्ने काम मेरो हुन्थ्यो। एक दिन हाम्रो घरमा मेरो अगुवा लक्ष्मण आचार्य, साथी लालबाबु थापा आउनुभयो।

हामी गढवा गाविसको पश्चिम क्षेत्रमा लाग्यौ। बेला गाविसमा शंकर पौडेलको घरमा चिया खाने र त्यसपछि अझ पर राजपुर गाविसमा जीतबहादुर चौधरीको घर। राप्ती पार गरेपछि सतवरियामा आएर छुनुकलाल चौधरीको घर थियो रिहारमा। त्यसभन्दा अझ पूर्व भौकामा सगुनलाल चौधरीको घर थियो।

सगुनलाल चौधरीको छोरी उमा दाङ (उपत्यका)मा पढ्थिन्। उनले हामीलाई आउँदाखेरि हाम्रो घरमा पस्नु र ३०० रुपैयाँ कोठा भाडा ल्याइदिनु भनेकी थिइन्। हामीलाई यति धेरै भोक लागिसकेको थियो कि हामीले कोठा भाडा नभनेर तपाईंकी छोरीले बस भाडा मागेकी छन् भनेर हामीले धेरै पटक भन्यौ। त्यो घर कम्युनिस्ट पार्टीकै मान्छे। तर पनि उनलाई यिनीहरू ठग हुन् भन्ने लाग्यो।

छोरीले कहाँ त्यहाँबाट आउनका लागि बस भाडा माग्लिन् भन्ने लागेछ। त्यो दिन हामी बस्ने भनेर ठिक्क परेको तीन जनालाई यी ठग हुन् भनेर बस्न पनि दिएनन्। उहाँ कम्युनिस्ट पार्टीको मान्छे हुनुहुन्थ्यो तर हामी उहाँलाई चिन्थ्यौँ, उहाँ हामीलाई चिन्नुहुँदैनथ्यो। छोरीका लागि बस भाडा माग्ने मान्छे पक्कै ठग हुन् भनेर उहाँले बस्न पनि दिनुभएन।

त्यसपछि फेरि १६ किलोमिटर पैदल हिँडेर लमहीमा रहेको हालमा प्रदेश ५ का सांसद कम्युनिस्ट पार्टीका नेता रेवतीरमण शर्माको घरमा आएर बस्यौँ। बिहानको हाम्रो घर गढवामा चिया, अचार र रोटी खाएर निस्किएको। त्यसपछि हात्खेवा जीतबहादुरको घरमा बिहानको खाना खाएर निस्किएको, त्यसपछि केही खान पाएनौँ। रातीसम्म केही खान नपाउँदा हामी निकै थकित र भोका थियौँ।

'बास नपाएपछि परालमा सुतेर रात काट्यौँ'

त्यसबेला दाङको ३ नम्बर क्षेत्र पश्चिम दाङको हापुरे। त्यसबेला अखिलमा कार्यकर्ताहरू हुँदैनथे। नभएकाले गर्दा हामी संगठन बिस्तार गर्न हिँड्न्थ्यौँ। कांग्रेसको बिगबिगी थियो, जहाँ गयो अखिल देख्यो कि कुट्ने। त्यसमा एमालेका मान्छेहरू कोही नहुने। कांग्रेसको दबदबा। हामीलाई खाना दिने, बस्न दिने त चान्सै थिएन।

त्यस्तो मान्छे खोज्दै जाँदा पुरन्धारामा भद्रसिंह ओली हुनुहुन्थ्यो। उहाँलाई खोज्दै घरमा गयौँ तर उहाँ घरमा भेटिनुभएन। उहाँ नभेटिइसकेपछि घरका मान्छेले हामीलाई बास दिनुभएन। बास नदिएपछि हामी उहाँकै घरको परालको थुप्रोमा सुतेर रात काट्यौं। त्यसपछि भोलिपल्ट बिहानै उठेर पुनः कमिटी बिस्तार गर्न गयौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.