|

धनकुटा : नेपालको पूर्वी भेग अरुण र तमोर नदीबीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ जाति हो। धनकुटा नगरपालिकामा मात्रै बसोबास गर्ने आठपहरीया राई यस क्षेत्रका भूमि भूत्र भन्न रुचाउँछन। सिमान्तृत अवस्थामा रहेको यस जातिको वसोवास मख्यतः धनकुुटा नगरपालिकामा मात्रै पाइन्छ।

२०५८ को जनगणनामा यिनीहरूको जाति आठपहरिया राई उल्लेख गरिएको थियो भने सन् २०६८ को जनगणनामा यिनीहरूको जातिको नाम आठपहरिया मात्रै उल्लेख गरिएको छ। यिनीहरूको कुल जनसंख्या हाल करिब २० हजारको हाराहारीमा छ। पुरुषले लगाउने र महिलाले लगाउने वेशभूषाहरूले पनि मौलिक विशेषता बोकेका छन्। खास गरेर महिलाहरूले लगाउने पहिरन र गहना विशेष प्रकारका छन् तर बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषाहरू हराइसकेका छन्। वेशभूषाहरू संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगर प्रमुख चिन्तन तामाङले बताए। यिनीहरू आफ्नै प्रकारका चाडपर्वहरू मनाउँछन् र आफ्नै देवी देवताको आरधना गर्छन्।

आठपहरियाको ठूलो चाड वाडाङ्मी

आठपहरिया राईको आफ्नो प्रमुख चाड वाडाङ्मीलाई मान्छन्। आठपहरियाहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व हो। यो चाडमा वर्षभरिमा मृत्यु हुनेहरूका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरेर बरखी फुकाउने अनौठो प्रचलन रहेको छ।

यो चाडमा बुबा वा आमाको दु:ख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने र छोराछोरी मर्नेका बुबाआमा आएर पनि ती छोराछोरीको नाममा दसी बगाउने प्रचलन रहेको हेमचन्द्र आठपहरियाले बताए। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्छ। अरूले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ। बरखीको कार्यक्रम सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेर यो चाड मनाउने चलन रहेको छ। यो चाडमा दु:ख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुभिन्डो र फिलुंगेको अचार, रक्सी र जाँड खाएर मनाइन्छ। कार्तिक पूर्णिमाबाट सुरु हुने यो चाड त्यसपछिको औँशीसम्म जारी रहन्छ।

अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचार प्रसार तथा संरक्षणमा सरकारले चासो नदेखाउँदा आठपहरिया राई जाति चिन्तित छन्। यसको प्रचार प्रसार र संरक्षणमा सबै सरोकारवाला निकाय र सरकारी पक्षले चासो लिनुपर्नेमा अहिलेसम्म केही नगरेको सुरेन्द्र आठपहरियाले दुखेसो गरे। दशैँ, तिहार र छठपछि आउने यो पर्वमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको यस समुदायको गुनासो छ। धनकुटाका ग्रामीण क्षेत्रमा अल्पसंख्यकको रूपमा बसोबास गर्दै आएको यो जातिको मागलाई सरकारले सम्बोधन गरी उनीहरूको कला संस्कृति जगेर्ना तर्फ ध्यान दिन जरुरी देखिन्छ।

धनुषवाणले जितेर विवाह गर्ने चलन

आठपहरिया राईले बैशाख पूर्णिमामा रोटेपिङ, लिंगेपिङ खेलेर तथा कुल पितृको पूजा गरेर बैशाखी चाड मनाउँछन्। यस चाडमा अविवाहित युवायुवतीले अनौठो प्रकारले विवाह गर्ने चलन रहेको छ। त्यहाँ राखिएको संकेतमा युवाले धनुषवाणले वाण हानेर लगाएमा बाजी जितेर बाजी हार्ने युवतीलाई विवाह गर्ने र पैसाको माला जित्ने परम्परा रहेको छ। तीन दिनसम्म मनाइने यो चाडमा विशेषगरी महिलालाई राम्रो होस् भनेर घर तथा कोठेबारीमा पूजा गर्ने चलन रहेको हर्कबहादुर आठपहरियाले बताए। यसैगरी असोजमा यो जातिले न्वागी चाड मनाउने गर्छन्। न्वागी चाडमा नयाँ बाली पितृ तथा कुललाई चढाउने चलन रहेको छ। यो चाड पनि तीन दिनसम्म मनाउने गरिन्छ।

सकंटमा आठपहरिया भाषा र संस्कृति

आठपहरिया जातिको भाषा, धर्मसंस्कार र सँस्कृति जगेर्ना प्रमुख चुनौतीको रूपमा रहेको छ। हालसम्म यस जातिको आफ्नो लिपि पत्ता लाग्न सकेको छैन र भाषा, सँस्कृतिसमेत लोपोन्मुख अवस्थामा रहेको पाइन्छ। यस जातिको आफ्नै भाषा, धर्म, संस्कार र सँस्कृति रहे तापनि संरक्षण र सम्वर्द्धन हुन नसकेर लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ। आठपहिरया भाषा कथ्य भाषामा मात्र रहेको पाइन्छ, लेखनका लागि आफ्नो लिपि नरहेको यस जातिका अगुवा बताउँछन्।

हाल आएर थोरै भए पनि देवनागरी लिपिको प्रयोग गरी ‘आठपहिरया भाषा’को व्याकरण लेखन गरी अध्ययन अध्यापन गरिँदै आएको छ। नेपाल सरकारबाट कक्षा ५ सम्म मातृभाषामा शिक्षा प्रदान गर्ने अवसर प्रदान गरिए तापनि धेरै लोपोन्मुख अवस्थामा रहेका भाषाहरूको शब्दकोश नहुँदा अध्ययन अध्यापनमा सरकारको योजनाअनुसार उपलब्धि प्राप्त भइहरेको छैन। आफ्नो भाषालाई यिनीहरू आठपहरिया भाषा भन्छन्। यो भाषाको वक्ता संख्या करिब १८ हजार मात्रै छ। यो भोट बर्मेलीको किराँती भाषा हो। बेलाहारे भाषासँग यो भाषाको वंंशाणुगत निकटता रहेको हर्कबहादुर बताउँछन्। त्यसबाहेक छथरे लिम्बू र याख्या भाषासँग पनि यसको निकटता रहेको यसका जानकार बताउँछन्। आठपहरिया भाषालाई असुरक्षित भाषाको सूचीमा समेत राखिएको छ। 

नेपालका बहुल आदिवासी जनजातिहरूको सर्वांगीण विकास तथा उत्थान गर्ने उद्देश्य लिएर नेपाल सरकारले वि.सं. २०४६ को परिवर्तनपछि आदिवासी जनजाति विकास समिति बनाई काम गर्दै आएकामा उक्त उद्देश्य परिपूर्ति गर्न अझै प्रभावकारी बनाउनका लागि प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरिएको छ। प्रतिष्ठानका उद्देश्यहरूमध्ये आदिवासी जनजातिहरूको भाषिक तथा साँस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धन पनि भएकामा त्यसो नभएको आठपहरियाहरूको भनाइ छ। 

आठपहिरया जातिभित्र मार्गा जिमी र अन्य थलो मान्ने गरेका छन् भने जाति, थर, पाछा र थलो रहे पनि भाषा एउटै रहेको छ। आठपहिरया सानाङ गो भाषा प्रचलित रहेको जानकारहरू बताउँछन्। यो भाषा बचाउनका लागि यसको पुनरुत्थान गर्न आवश्यक देखिन्छ।

आठपहिरया भाषाका लागि देवनागरी लिपिमा शब्दकोश तयार पनि भएको बताइन्छ। यो एउटा भाषा विकासका लागि गोरेटो भएको र भाषा लेखनको वृद्धि र विकासमा कोशेढुंगाको रूपमा सावित हुने बताउँछन् स्थानीय अगुवा। धर्म, सँस्कृति, परम्परा र वेशभूषाका साथै जातीय अस्तित्व जोगाउने प्रमुख तत्त्व भाषा पनि एक भएकाले यसको संरक्षण जरुरी रहेको उनीहरूको भनाइ छ। 

घुमाउने घरहरू लोप हुँदै

धनकुटा धनगपालिकाभित्र बसोबास गर्दै आएका आठपहरिया राई समुदायको परम्परागत रूपमा रहेका घुमाउने घरहरू पछिल्लो समय लोप हुँदै गएका छन्। आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घरहरू लोप हुन थालेका हुन्। आधुनिक संरचनाको विकाससँगै शहरी क्षेत्रमा परम्परागत शैलीका घरहरू तथा भवनहरू देख्नै पाइन छोडेको छ भने गाँउघरतिर पनि पाइँदैन। पछिल्लो समय शहरी क्षेत्रमा त परम्परागत घर तथा भवन लोप भइसकेका छन् भने ग्रामीण भेगमा पनि परम्परागत शैलीका संरचना भेटाउन मुस्किल हुन थालेको छ।

विशेषगरी आठपहरिया समुदायको बासोबास हुँदै आएको धनकुटा नगरपालिका- २ भीरगाउँ, वडा नम्बर- ८ को फङसुवा, टेकुनाला, पेकेक्पाङ, चुवाबुङ, वडा नम्बर- ९ को बेलहारामालगायतका ठाउँमा रहेका परम्परागत स्थानीय समुदायलाई पहिचान दिने घरहरू हराउन लागेको स्थानीय डिल्लीमान आठपहरियाले बताए। ‘आफ्नै बारीमा उत्पादन हुने रातो (सालिम्बो) खरले छाउने गरेका घरहरू अब च्यादरले छाउनु भन्दै छन्’, आठपहरियाले भने, ‘लामो समयसम्म टिक्ने र छाउन झन्झट नहुने त हुन्छ होला तर पुर्ख्यौली घरहरू लोप हुने भए।'

नगरपालिकाभित्र रहेका फुस (खर)को छाना हुने सबै घरहरूमा जस्तापाता लगाइदिने स्थानीय प्रतिनिधिले निर्वाचनताका प्रतिवद्धता गरेको र जितेपछि गत बैशाखबाट जस्तापाता दिने कार्य सुरु गरेका थिए। आठपहरिया जातिले आफ्नो कुलपूजा गर्ने घरमा खरको छानाले छाएको हुनुपर्ने परम्परा रहेको छ। जस्तापाताले छाएको ठाउँमा पूजा गर्नु नहुने ७३ वर्षीया मनश्वरी आठपहरियाले बताइन्। देउता राख्ने घर बनाएर मात्र अर्को घर बनाएर जस्तापाताले छाउने उनको तयारी छ।

आठपहरिया जातिको परम्परागत धर्म सँस्कृति जोगाइराख्न र पर्यटकीय पवर्द्धनका लागि पनि गाउँमा खरको छाना भएको घुमाउने घरलाई संरक्षण गरिराख्नुपर्ने डिल्लीमानले बताए। धनकुटालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र पर्यटक आकर्षणका लागि परम्परागत रूपमा बनाइएका घुमाउने घर विदेशी तथा स्वदेशी पर्यटकले अवलोकन गर्न सक्ने भएकाले यस्ता घरको संरक्षण गर्नुपर्ने डिल्लीमानको भनाइ छ। पछि गएर परम्परागत घुमाउने घरहरू पर्यटकको रोजाइ बन्न सक्ने भएकाले उचित संरक्षण आवश्यक रहेको उनको भनाइ छ। एक दशकअघिसम्म सयौँको संख्यामा रहेका घुमाउने घर अहिले लोप हुँदै गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.