|

भक्तपुर : श्रावण शुक्ल पूर्णिमाको अवसरमा आइतबार हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदै छन्। श्रावण शुक्ल पूर्णिमालाई नेवार समुदायले भने गुँपुन्ही पर्वको रूपमा मनाउँछन्। नेपाल सम्वतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो।

गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुँपुन्ही रहन गएको हाे। नवौँ महिना भएकाले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौथरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेका हुन्। यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो। क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौथरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ।

रोपाइँ र धान खेत गोडमेलको बेला तथा वर्षातको मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए। ‘खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ। नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्छन्। यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो’, उनले भने।

भ्यागुताको पूजा

त्यस्तै, नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्‍याउने जीवको रूपमा भ्यागुतालाई लिने गरिन्छ। कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्छन्। 

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मूलाको ऐना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेतखेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा.डा. श्रेष्ठले बताए। यसलाई स्थानीय भाषामा व्याचा जाःनक वानेगु भनिन्छ। 

‘मानिसका महान गुरुमध्ये भ्यागुता पनि एक हो। त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो', उनले भने।

भक्तपुरका विभिन्न कुण्डमा मेला 

जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न गुण्डहरूमा मेला लागेको छ। नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुइँचो लागेको हो।

गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरूको विशेष मेला लाग्छ। आजको दिन परम्परागत वेशभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको सँस्कृतिकर्मीहरू बताउँछन्। जनै पूर्णिमाको दिन कुण्डहरूमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरूको मन्त्र सिद्ध हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए।

लोककथनअनुसार महादेवले कालकूट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासको आधारमा आजको दिन उक्त कुण्डमा मेला लाग्ने गरेको सँस्कृतिकर्मी प्रा.डा. श्रेष्ठले बताए। उनले भने, ‘गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरूले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरे सरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।’ 

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ। यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गए सरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ।

आजको दिन काल दहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यतासमेत रहेको छ। कालदहमा स्नानपछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.