|

साहित्यमा पछिल्लो समय अनुवादको सिलसिला निकै तीब्र गतिमा अगाडि बढ्दै गरेको देखिन्छ। विशेषगरी अङ्ग्रेजीमा अनुवाद गर्ने-गराउने कार्यले गति लिएको देखिन्छ। स्रष्टाको निजी पहलमा पनि कृतिहरू अङ्ग्रेजीलगायतका भाषाहरूमा गैरहेका छन्। नेपाल प्रज्ञाप्रतिष्ठानमा अनुवादको छुट्टै विभागको गठन हुनु र त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयले अनुवादलाई स्नातकोत्तरको पाठ्यक्रमको एउटा छुट्टै विषय बनाउनुले अनुवादको महत्तालाई राष्ट्रिय अनुमोदन दिएको हो भन्न सकिन्छ। प्रज्ञाप्रतिष्ठानले त वार्षिक रूपमा अनुवादप्रधान पत्रिका 'रूपान्तरण' नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निकाल्ने गरेको छ। तरै पनि, नेपाली साहित्यका प्रतिनिधि मानक कृति र कृतिकारलाई हामीले अनुवादमार्फत् अझै पनि विश्वमा चिनाउन नसकेको पनि सत्य हो।

यसका कारण धेरै छन्। पहिलो, हाम्रो देशमा स्तरीय अनुवाद गर्ने अनुवादककै खाँचो छ। दोस्रो, अनुवादको कामलाई दोस्रो दर्जाको काम ठानिन्छ। त्यसमा पनि साहित्यको अनुवादकलाई त अत्यन्त न्यून पारिश्रमिक दिइन्छ। धेरैजसो अवस्थामा त दिइँदै दिइँदैन पनि। त्यसैले युवाहरूले अनुवादलाई 'केरियर'को एउटा बाटो बनाएको देखिँदैन। तेस्रो, हाम्रा अनुवादकहरू किताबी भाषा पढेर आएका हुन्, तर लक्ष्य भाषामाथि उनीहरूको प्रत्यक्ष प्रशिक्षण छैन। उदाहरणका लागि, नेपालीबाट अङ्ग्रेजी अनुवाद गर्ने हामी अनुवादकले अङ्ग्रेजी भाषा किताबबाट सिकेका हौँ, नकि अङ्ग्रेजीभाषीको प्रत्यक्ष संसर्गबाट। त्यसैले हामीले अनुवाद गरेको लक्ष्यभाषामा समस्या छन् र धेरैजसो अवस्थामा त्यो ग्राह्य हुँदैन। हामी आमभाष्य अर्थात् आमबोलचालको अङ्ग्रेजी भाषा त्यति जान्दैनौँ। अनि अर्को कुरा, अनुवादै गरियो र स्तरीय पनि गरियो भने पनि सो सामग्रीलाई प्रकाशित गर्ने र विश्वबजारमा पठाउने संयत्र अझै पनि बनेको छैन। 

कमी कमजोरी पनि छन्। राम्रो अङ्ग्रेजी जान्ने कोही छ भने उसको नेपाली कस्तो छ, हेरिँदैन, सोधिँदैन। राम्रो नेपाली कसैको छ भने उसको अङ्ग्रेजी वा अन्य भाषा कस्तो छ, हेरिँदैन, सोधिँदैन। अर्को कुरा, हामी नेपाली अनुवादकहमध्ये अधिकांशले एउटा पेपर अनुवाद पढेर आएका होउँला, अनुवादमा विशेषज्ञता हाँसिल गरेका होइनौँ। कमजोरी अनुवादकको मात्रै पनि होइन। अनुवादकलाई हेरिने दृष्टिकोण, उसलाई दिइने पारिश्रमिक तथा अनुदित सामग्रीलाई लक्षित पाठकसम्म पुर्‍याउने व्यवस्थामा रहेका कमजोरी पनि उत्तिकै महत्त्वपूर्ण छन्।

के कुराचाहिँ अनुवाद हुनु जरुरी छ, त्यो निरूपण गर्ने कुनै निकाय वा व्यवस्था छैन। मानक मानिएका नेपाली साहित्यका परिचायक कृति अझैसम्म अनुवाद भएका छैनन्। उदाहरणका लागि बीपीको 'सुम्निमा', मदनमणि दीक्षितको 'माधवी', धच गोतामेको 'घामका पाइला', डायमण्ड शम्सेरको 'बसन्ती' नै अनुदित भएका छैनन्। जोसँग पैसा छ, गुणस्तर भए पनि नभए पनि उसको कृति अनुदित हुन्छ र नेपाली साहित्यको एउटा भद्दा पाटो बाहिर जान्छ। जो कृति मानक हुन्, तिनका सर्जक कि त बितिसके, अथवा बाँचेकै भए पनि अनुवाद र प्रकाशनलाई प्रायोजित गर्न सक्दैनन् अथवा गर्दैनन्। यो समस्या हो।

स्वतन्त्र भएर आफूले छानेर अनुवाद गर्ने वातावरण नै छैन। त्यसैले 'हाम्रा' वा 'राम्रा' छान्ने त्यो मोड नै आउँदैन। अनुवाद त पैसा वालाले आफैँ गराउँछन्। त्यसो हुँदा, उसकै अनुवाद हुने नै भयो नि! अँ, समूहमा अनुवाद गर्दा धेरैजसो अवस्थामा मानक र प्रतिनिधिलाई समेटिएकै छ। प्रज्ञाप्रतिष्ठानले धेरैचोटि कविता, निबन्ध र कथाका अनुवाद ग्रन्थ निकाल्यो, नेपाली कला साहित्य डट कम प्रतिष्ठानले प्रतिनिधि नेपाली कविता निकाल्यो, अनुवादकले नीजिस्तरमै पनि त्यो काम गरे। त्यसमा, नेपाली साहित्यका मानक प्रतिनिधि रचनालाई समेटिएको मैले पाएको छु। तर, नेपाल बाहिर केही पनि तरङ्ग आएन। त्यसो हुनुमा नेपालबाहिर सम्प्रेषण गर्ने कुनै पनि राम्रो व्यवस्था नभएर नै हो।

नेपालमा अनुवादमा अप्ठेरा धेरै छन्। पहिलो, लक्ष्य भाषाकै प्रयोगकर्ताका बीचमा बसेर भाषाको अभ्यास गरेका अनुवादक हामीकहाँ छैनन्। दोस्रो, सांस्कृतिक रूपमा भिन्न भाषामा अनुवाद गर्दा धेरै कुरा बेमेल हुन्छ, हराउँछ। तेस्रो, नेपालमा अनुवाद गरिसकेपछिको पाण्डुलिपिको स्तरीयता जाँज्ने मान्छे पनि भेटिँदैन, परिपाटी पनि छैन। उदाहरणका लागि, पारिजातको शिरीषको फूलको फितलो अनुवाद पढिँदैछ, पढाइँदैछ, आज पनि। मुनामदनको अङ्ग्रेजी अनुवाद निकै फितलो छ भन्ने टिप्पणी गरिएको छ। चौथो, हामीकहाँ नेपाल र लक्ष्यभाषाका बीच बनेका स्तरीय र पूर्ण शब्दकोश पनि छैनन्। भएकाहरूमा पनि अनुवादकको आवश्यकतालाई सम्बोधन गर्ने खाले हुँदैनन्। मानिलिऊँ, उत्तीसलाई अङ्ग्रेजीमा के भन्दोरहेछ भन्ने जान्नु एकजना अनुवादकलाई आवश्यक भयो। बजारमा पाइने शब्दकोशले, उत्तीस भनेको एक प्रकारको रूख हो भनेर लेखिदिएको हुन्छ। त्यसले के सहयोग गर्ला? अनुवादकलाई त शब्दै चाहियो नि! ईश्वरलाल प्रधानको नेपाली-अङ्ग्रेजी शब्दकोश हेर्नुस्, थाहा हुन्छ।

सिद्धान्त पढाउने हो। त्यो गरिरहेकै छ। उसले व्यावहारिक ज्ञान र प्रशिक्षण दिने हो, त्यो पनि गरेकै देखिन्छ। त्यसमा खासै गुणवत्ता नदेखिनुमा विश्वविद्यालयको प्राणालीमाथि पनि दृष्टिक्षेप गर्नु जरुरी छ। तर, कुन कृति अनुवाद गर्ने वा गराउने हो, त्यो प्रज्ञाप्रतिष्ठानको अधिकार र प्राथमिकताको क्षेत्र हो। यसरी आएको अनुवादको स्तर निर्धारणमा विश्वविद्यालयले भूमिका खेल्न सक्छ। तर, भएको के देखिन्छ भने विश्वविद्यालयका प्राध्यापक, परिचय र पहुँचका आधारमा प्राज्ञाप्रतिष्ठानका कतिपय परियोजनामा जोडिएको देखिन्छ तर, विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठाले संस्थागत रूपमा सहकार्य गरेको कहीँ पनि देखिँदैन।

लाग्छ, नेपाली कविता, कथा, नाटक, निबन्ध र उपन्यास विधाका मानक र स्तरीय कृतिलाई अनुवाद गरेर विश्वसाहित्यमा लाँदा राम्रै होला।   

पाठकले नेपाली लेखकबाट अब कुनै प्रेमको नयाँ परिभाषाको अपेक्षा राख्दैनन् सायद। नेपालीबाट कुनै सार्विक सत्यको पुनर्कथन पनि अपेक्षित छैन। नेपालीबाट नेपाल लेखियोस्। अर्थात् नेपाली जीवनको बुनियादमा टेकेको साहित्य। नेपाली इतिहास, मिथक, लघुइतिहास, राजनीति, लोकजीवन- समग्रमा नेपाली ज्ञानकोशको जगमा उभ्याउनु जरुरी छ। त्यस्तो ज्ञान, अनुवादमार्फत् विश्वबजारमा जाँदा नयाँ र पृथक हुनेछ र त्यो ग्राह्य पनि छ। त्यसैले, पहिलो कुरा त लेखनलाई नै सुधार्नुपर्छ। त्यसपछि, अरू कुरा त माथि नै उल्लेखित छन्।

अनुवादबाट साहित्यको राम्रो अनुवाद आउँदैन। कविताको अनुवाद कविहृदय र काव्यिक चेतना भएको अनुवादकले नै गर्न सक्छ। अरू विधामा पनि त्यही लागू हुन्छ। हामीकहाँ साहित्यमा प्रविधिक अनुवादक पनि सक्रिय छन्। त्यसले फाइदा नगर्ला कि!

 अब, पैसावालाले अनुवाद गराउन सक्ने र ऊ विश्वबजारमा जाने। गुणवत्तावालालेचाहिँ अनुवाद प्रायोजन गर्न नसक्ने र घरैमा थन्किएर बसिरहने परिपाटीलाई अन्त्य कसरी गर्न सकिन्छ? सबै सरोकारवालाले सोच्नुपर्ने देखिन्छ।

मानक कृतिको अनुवाद गर्दा कस्तो प्रतिक्रिया आउँछ, पाठकले कसरी हेर्छन् भन्ने परीक्षण पनि होस् भनेर म अहिले कृष्ण धराबासीको 'राधा', डायमण्ड शम्सेरको 'बसन्ती' र जगदीश घिमिरेको 'सकस'को अनुवाद गरिरहेको छु। 'बसन्ती'मा काम गर्दैछु। अरू दुईको अनुवाद सकेँ, अब अन्तिम रूप दिने तर्खरमा छु।

प्रस्तुति : घनेन्द्र ओझा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.