|

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहीबार र शुक्रबार काठमाडौंको सोल्टी होटलमा हुने शिखर सम्मेलनमा बिमस्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरू नेपाल आउँदै छन्।

सम्मेलनमा आउने सबै भिभिआइपीहरूको सुरक्षाको लागि नेपाल प्रहरीको तर्फबाट सम्पूर्ण तयारी पुरा भएको र त्यसको जिम्मा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनोज नेउपानेले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्ष शैलेश थापाले जानकारी दिए।

त्यस्तै नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भन्डारीका अनुसार शिखर सम्मेलनमा भाग लिन आउने सबै भिभिआइपी सदस्यहरूको सुरक्षाको लागि भित्री घेरामा नेपाली सेना रहने र त्यसको सम्मपूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

'सम्मेलन स्थल भिभिआइपी आउने जाने रुट, बस्ने स्थाल र भेटघाट हुने सम्पूर्ण स्थानको पहिलो घेरामा नेपाली सेना रहने र कुनै पनि प्रकारको सुरक्षा स्थितिमा कन्जुसाइँ हुदैन्,' प्रवक्ता भण्डारीले भने।

त्यसैगरी सुरक्षाको लागि सशस्त्र प्रहरी बल समेत तयारी अबस्थामा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए।

बिमस्टेकको चौथो शिखर सम्मेलनको लागि आउने सदस्यहरूको सुरक्षाको जिम्मा गृहमन्त्रालयले नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र राष्ट्रिय अनुसन्धान विभाग गरि चारवटै निकायलाई हाइअलर्टमा राखिएको जनाएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार सम्मेलनलाई मध्यनजर गरेर चार वटै सुरक्षा निकायका गरि करिब सात हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन भइसकेको र सम्मेलको समयमा यो संख्या अझ बढाइने जनाएको छ।

ट्राफिक अवस्था मिलाउन जोर बिजोर सवारी चल्ने

बिहीबार र शुक्रबार हुने शिखर सम्मेलन (बिमस्टेक) मा उपत्यकामा दुई दिन जोर बजोर नम्बरका सवारी साधन चल्ने भएका छन्।

ट्राफिक अवस्था सहज होस् भनेर एक दिन जोर र अर्को दिन बेजोर चल्ने ब्यवस्था मिलाइएको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वशन्त पन्तले जानकारी दिए।

सम्मेलनमा भाग लिन आउने राष्ट्रप्रमुखहरूको यस्तो छ तालिका

परराष्ट्रमन्त्रालयका अनुसार सम्मेलनमा भाग लिन २८ अगस्टमा म्यानमारका कार्यकारी प्रमुख नेपाल आउनेछन्। २९ अगस्टमा श्रीलंका र भूटानका कार्यकारी प्रमुखहरू आउने कार्यतालिका रहेको छ। यसरी गरी ३० अगस्टमा भारत, बंगलादेश र थाइल्याण्डका कार्यकारी प्रमुखहरू नेपाल आउनेछन्।

३० अगस्टकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाहुनाहरूलाई दिवा भोजको आयोजना गरिनेछ भने, सोही दिन अध्यक्षका हैसियतले नेपालका प्रधानमन्त्री केपी शर्मा अोलीले सम्मेलनको उद्घाटन गर्नेछन्।

उद्घाटनकै दिन सहभागी राष्ट्रका कार्यकारी प्रमुखहरूले सम्मेलनलाई सम्बोधन पनि गर्नेछन्। ३१ अगस्ट बिहान पाहुनाहरूलाई रिट्रिटको कार्यक्रम राखिएको छ।सोही दिन श्रील‌ंका तथा भारतका कार्यकारी प्रमुखहरूले प्रधानमन्त्री अोलीसँग भेट गरी केही महत्त्वपूर्ण विषयमा सम्झौता हुने जनाइएको छ।

३१ अगस्टका दिन श्रीलंका र म्यानमारका कार्यकारी प्रमुखहरू भने लुम्बिनी जाने योजना रहेको र सोही दिन सबै पाहुनाहरू फर्किने परराष्ट्रमन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.