गम्भीर खाले अपराधको अनुसन्धान नै फितलो

|

विराटनगर : विराटनगर प्रदेश १ को अस्थायी राजधानी। स्थायी राजधानीको प्रमुख दाबी विराटनगरले पनि गरिरहेकै छ। तर, एक महिना अगाडिदेखि विराटनगरमा भएका श्रृंखलावद्ध हत्या र अपराधका घटनाले यहाँको जनजीवन त्रस्त बनिरहेको छ। विराटनगरमा १ महिनाको अन्तरालमा ६ वटा अपराधिक घटना भएका छन्। के–के भए अपराधका कर्महरू यो हेर्नुहोस्।

घटना १

गत साउन १६ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पढदै गरेका विद्यार्थीको रहस्यमय मृत्यु भयो। बाराको कोल्भी नगरपालिका ८ घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिसको अन्तिम वर्षमा अध्यनरत २५ वर्षीय सौरभ उप्रेतीको मृत्युको रहस्य अझै बाहिर आउन सकेको छैन। सौरभको मुत्यु भएको १ महिना पुगिसक्दा पनि अझै हत्या हो वा आत्महत्या हो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन र कसैलाई पनि पक्राउ गर्न सकेको छैन। 

अन्तिम वर्षको परीक्षा दिइरहेका विद्यार्थी उप्रेती सुतेकै कोठामा खाटमुनि फेला परेको थियो। सौरभ राति अवेरसम्म साथीहरूसँगै पढेर सुतेका थिए। उनको घाँटीमा र शरीरमा चोट देखिएको थियो। मोरङ प्रहरीले सौरभको मृत्युको रहस्य पत्ता लगाउन उच्चस्तरीय टोलीबाट सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ।

प्रहरीका अनुसार शव परीक्षणपछि सौरभको भिषेरा र कोठमा फेला परेका ल्यापटप र तार र अन्य सामग्रीहरू जाँच गर्न विधि विज्ञान प्रयोगशालमा पठाइएको छ। विस्तृत रिर्पोट आइसकेपछि मात्र सौरभको मुत्युको रहस्य पत्ता लाग्ने प्रहरीको दाबी छ। तर, महिनादिन पुगिसक्दा पनि सौरभको मृत्युको कारण पत्ता नलाग्दा घटना अझै रहस्यमय बनिरहेको छ।

घटना २

विराटनगरमा गत साउन १८ गते एक युवतीको शव नग्न अवस्थामा फेला परेको थियो। उक्त घटना अझै रहस्यमय मात्रै होइन युवतीको पहिचान नै हुन सकेको छैन। विराटनगर महानगरपालिका १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको थियो। तराईमूलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ। शव नाङ्गो अवस्थामा भेटिएकोले बलात्कार गरी सो ठाउँमा फालिएको हुनसक्ने आशंका गरिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना ३

गत २७ गते साउनमा विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना अझै रहस्यमय नै छ। कसले र किन बम विष्फोट गराएको भन्ने विषयमा अझै आधिकारिक पुष्टि हुन सकेको छैन। बम पड्काउने कोही पनि पक्राउ गर्न प्रहरीले अझै सकेको छैन।

बम विष्फोटमा संलग्न भएको आशंकामा केही मानिस पक्राउ गरिएको भएपनि उनीहरू निर्दोश देखिएका थिए। महानगरको सिसिटिभीमा कुनै पनि रेकर्ड फेला परेन। महानगरको सिसिटिभी फुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो। कार्यालयभित्र भएको घटना अनुसन्धानको प्रहरीले महानगरको सिसिटिभीको रेकर्ड राखिने कम्प्युटरको हार्डडिस्क लिएर गएको थियो।

तर, हार्डडिस्कमा कुनैपनि फुटेज नदेखेपछि प्रहरी आफै छक्क परेको छ। महानगरमा ८ वटा सीसी क्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए। पराजुलीका अनुसार महानगरको सिसिटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो। महानगरले सिसिटिभी जडान गरेको भए पनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ। सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको प्रहरीको भनाइ छ।

बम पड्काउनकै लागि सिसीटिभी रेकर्ड बन्द गरिएको हो कि भन्ने पनि आशंका गरिएको छ। प्रहरी र महानगर प्रमुखको सिसिटिभी फुटेजबारेको फरक–फरक भनाइले घटनालाई थप रहस्यमयी बनाएको छ। दिनदहाडै अति व्यस्त कार्यालयमा बाम विष्फोट हुनु र महानगरको सिसिटिभीमा त्यसको रेकर्ड नहुनुले महानगरकै कर्मचारीको मिलेमतोमा घटना भएको त हैन भन्ने आशंका पैदा भएको छ।

महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो। विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढ्ने गाडीको सिसामा क्षति भएको थियो।

घटना ४

विराटनगरमा भएको अर्को अपराधिक घटना भदौ १ गतेको हो। सँगै जिउने सँगै मर्ने कसम खाएका प्रेमीबाटै विराटनगरकी एक युवतीको हत्या भयो। विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टाईले आफ्नी प्रेमीका २३ वर्षीया शिखा घिमिरेको भदौ १ गते शुक्रबार बिहानै हत्या गरेका हुन्।

प्रहरीका अनुसार दुवैजना विराटनगरबाट प्रेमिका शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न गएका थिए। घुम्न गएको मौकाम एकान्त पारी ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर दिनेशले शिखाको हत्या गरेका थिए। भट्टाईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्ने प्रयासमा रहेका दिनेशलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको हो। दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको प्रहरीले जनाएको छ।

युवतीले धोका दिएर अष्ट्रेलिया जान लागेपछि उनको हत्या गरेको दिनेशले प्रहरीसामू बयान दिएका छन्। शिखाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको र सम्झाउँदा पनि नमानेकोले घुम्ने बहानाम लगेर हत्या गरेको दिनेशले स्वीकार गरेका छन्। युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर वीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ। दिनेश र सिखाले ग्रामथान ३ सिद्रहा टोलभन्दा सय मिटर उत्तर सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको पूर्वी डिलमा छहारीमा स्कुटर राखेर पूर्वपट्टिको डिलमा गएको प्रत्यक्षदर्शीले बताए। स्थानीय बासिन्दाले नहरमा युवतीको वीभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका दिनेशलाई समातेर प्रहरीलाई खबर गरेका थिए।

घटना ५

अज्ञात समूहबाट भएको सेक्युरेटी गार्डको वीभत्स हत्या अर्को रहस्यमय बनेको छ। भदौ ३ गते भएको उक्त हत्यामा संलग्नलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन। विराटनगर–४ पिपल चौकका ५० वर्षीय टंक भट्टराई चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दथे। विराटनगरमा रहेको विराट अस्पताल नजिकैको न्यू बिक्की हार्डवेयरको सुरक्षा गर्दा भट्टराईको हत्या भएपछि त्यस क्षेत्र त्रसित बनेको थियो।

निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत रहेका भट्टराईको शव वीभत्स अवस्थामा फेला परेको थियो। मृतकका आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै भोलिपल्ट सडक जाम गरेका थिए। हार्डवेयरमा पाँचजना कर्मचारी र चारजना मजदुर कार्यरत थिए। उनीहरू सबै शनिबार छुट्टिमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका थिए।

भट्टराईको हत्या भए पनि हार्डवेयर सञ्चालकले परिवारलाई जानकारी नदिएको पीडित परिवारजनको गुनासो छ। मोरङ प्रहरीले यस घटनामा अनुसन्धान गर्दै आएको बताएको छ। प्रहरीको अनुसार यस प्रकरणमा अनुसन्धानको लागि हार्डवयरमा कार्यरत कर्मचारीहरूसँग पनि सोधपुछ गरेको छ। तर, हालसम्म यस प्रकरणमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन। 

मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार मृतक भट्टराईको शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो। उनको देव्रे आँखासमेत बाहिर निकालेको अवस्थामा शव फेला पारेको थियो। भट्टाईको शव खाटबाट भुइँमा लडेको अवस्थामा रहेको थियो। प्रहरीका अनुसार सो क्रममा पसलका सरसमान नचलाइएको भएपनि कोठामा रहेको इन्र्भटर भने भुइमा खसेको अवस्थामा देखिएको बताइएको छ। मृतक भट्टराईका श्रीमति, एक छोरा र एक छोरी रहेका छन्।

घटना ६

विराटनगरमा अर्को अपराधिक घटना भदौ ५ गते भएको छ। श्रीमानले गरेको दाउ प्रहारबाट विराटनगरमा श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका हुन्। घटनामा विराटनगर ११ पिचडाकी ४० वर्षीय श्रीमति पुनम सहनी, उनकी छोरी २० वर्षीया मनिता सहनी र पुनमका भाइ २७ वर्षीय सन्दीप सहनी घाइते भएका छन्।

केहि समयअघि भागी विवाह गरेका सिराहा गोलबाजार निवासी ४५ वर्षीय श्रीमान् दिलीप सहनीले भदौ ५ गते बिहान उनीहरूमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन्। विराटनगर पिचडास्थित घरमै बसिरहेको अवस्थामा तीनै जनामाथि दाउ प्रहार भएको थियो।

घाइते पुनमकी आमा सहनीले पुनम र दिलीपको विदेशबस्दा फेसबुकबाट परिचय भएको र भागी विवाह गरेको जानकारी दिइन्। उनले गोलबजारबाट आएका दिलीपले एक्काशी दाउ प्रहार गरेको बताइन्। घाइते तीनैजनाको कोशी अञ्चल अस्पतालमा उपचार गराइएको छ। घाइतेमध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ। यस्तै मनिताको टाउको पछाडि दाउ प्रहारका कारण काटिएको छ भने सन्दिपको कुम मुनि काटिएको छ।

दाउ प्रहार गर्ने दिलीपलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते पुनम र अभियुक्त दिलीप यसअघि नै विवाहित थिए। पुनमको पहिलो श्रीमानको पाँच वर्षअघि मृत्यु भएको थियो भने दिलीपले समेत यसअघि दुईवटा विवाह गरी श्रीमतिलाई छाडिसकेको पारिवारिक स्रोतले जनाएको छ।

विराटनगरमा पछिल्लो पटक भएका अपराधिक घटना बढिरहेको यो तथ्यांकले पनि देखाउँछ। यसकारण प्रदेशको अस्थायी राजधानी बनिरहेको विराटनगरमा अपराध र हत्या हिंसाको पनि राजधानी नबनोस् भन्ने सर्वसाधरणको चाहना छ। मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले सामाजिक अपराध र भईपरी आउने अपराध चुनौति बनिरहेको बताए। प्रत्येक घटनाको छानबिन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.