|

डोल्पा : यहाँका मष्टा मन्दिरहरूमा दैनिक सयौँ सर्वसाधारणहरूको घुइँचो लागेको छ। आफ्नो घर परिवार र आफन्तको भूत, भविष्य र वर्तमानको विषयमा जानकारी पाउन भक्तजनहरू मष्टा मन्दिरसम्म पुग्ने गर्छन्। त्रिपुरा सुन्दरी, मष्टा भवानी गल्ली र छल मुख्य जिल्लाकै प्रसिद्ध मन्दिरको रूपमा चिनिन्छन्।

आफ्नो जीवनमा हुने शुभ, अशुभदेखि जीवनमा प्राप्त हुने सुख, दु:ख, शिक्षा, आयु, मान सम्मान, पद, सरुवा, बढुवा, स्वास्थ्यलगायतका थुप्रै जिज्ञासा लिएर सर्वसाधारणहरू मष्टा भवानी मन्दिरमा पुग्ने गरेकाे स्थानीय भक्तले बताए। उक्त मन्दिरहरूप्रति डोल्पाली भक्तजन मात्रै नभई रुकुम, जाजरकोट, काठमाडाैंलगायतका विभिन्न जिल्लाका सर्वसाधारणको आस्था रहेको छ। डोल्पालीले विज्ञानभन्दा अलौकिक प्राकृतिक शक्तिको धेरै विश्वास गर्ने भएकाले बिरामी पर्दा पनि मष्टा देवकै शरणमा पुग्ने गरेको बताइन्छ। त्यसमध्ये त्रिपुरा सुन्दरी नगरपालिका- १ गल्ली गाउँमा पर्ने मष्टा मन्दिर जिल्लाकै चर्चित मन्दिरको रूपमा चिनिन्छ।

जिल्लाबाट कर्मचारी विशेष गरेर सरुवा कहिले हुन्छ, बढुवा कहिले हुन्छ? घरपरिवारमा कस्तो छ? भविष्य के छ भन्नेलगायतका जिज्ञासा लिएर मष्टा देवताकहाँ देखाउन आउने गरेको पुजारी नन्दसिंह थापाले जानकारी दिए। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका- १ अन्तर्गत गल्लीमा रहेका मष्टा देवताको मन्दिरमा दैनिक सयौँ भक्तजनकोे घुइँचो लाग्ने गर्छ। यस्तो घुइँचो विगत छ दशकअघिदेखि लाग्ने गरेको यस मन्दिरका पुजारी नन्दबहादुर शाहीले बताए। उनका अनुसार मुख्य पुजारी धामीलाई देउता चढेपछि भूत, भविष्य र वर्तमान तीनै कालका घटनाहरू जानकारी हुने भएकाले अग्रिम भविष्य जान्नका लागि दैनिक भक्तजनहरूको घुइँचो लाग्ने प्रचलन रहेकाे छ। मष्टा भगवानप्रति डोल्पाली मात्र नभई विभिन्न जिल्लाबासीको समेत अटुट आस्था रहेकाले यस मन्दिरमा आएर दर्शन गर्नाले भाकल गरेको पुग्ने स्थानीय गोमा उपाध्यायले बताइन्।

डोल्पामा साउन पूर्णिमाको अवसरमा सम्पूर्ण स्थानीयहरू आआफ्ना कुलाम्य देवी देवतासँग जिल्लाभित्रदेखि जिल्लाबाहिरका तीर्थधामहरूमा तीर्थयात्रा गर्न जाने गर्छन्। यस पर्वमा मष्टा देवतासँग तीर्थयात्रा गर्न जानाले सन्तान नभएकालाई सन्तान मिल्ने, रोगीको रोग नाश हुने, निर्धनलाई धन प्राप्त हुने, जागिरको अवसर मिल्ने जस्ता मनले चिताएका कुरासमेत पूरा हुने जनविश्वास रहेको छ। यस मन्दिरमा बिहीबार र शनिबारबाहेक अन्य बारहरूमा दैनिक सयाैँ भक्तजनहरू मनको जिज्ञासा मेटाउन आउने गर्छन्।

मन्दिरका मुख्य पुजारी कृष्णराज शाहीलाई १४ वर्षको उमेरदेखि नै देउता चढेर भविष्यवाणी गर्न लागेको बताउँछन्। ८० वर्षीय मुख्य पुजारी धामी शाहीमाथि अकस्मात् देउता चढिसकेपछि मन्दिरमा श्रद्धाका साथ पुगेका सम्पूर्ण भक्तजनलाई पालोपालो भविष्यवाणी गर्ने गरिन्छ। शाहीले गरेका सम्पूर्ण भविष्यवाणी पूरा हुनेमा शत प्रतिशत विश्वस्त रहेको स्थानीय रत्नालक्ष्मी न्यौपानेले बताइन्। यस मन्दिरबाट प्रत्येक वर्ष नयाँ वर्षको सुरुवातसँगै वर्षभरि हुने देश विदेशका ठूलाठूला उपलब्धि होस् या देश विदेशमा हुने विनासकारी घटनाको अग्रिम भविष्यवाणीसमेत हुने गर्छ।

समाजमा हुने गरेका विकृति विसंगतिलाई समेत देव कानुनमा बाँधेर हटाइने स्थानीयको भनाइ छ। यस मष्टा मन्दिरमा विशेष गरेर साउन पूर्णिमा र विजया दशमीमा विशेष पूजाआजा हुने गर्छ। मष्टा देव देवाधिदेव शिवजीका जटाबाट उत्पत्ति भएको विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ। साउन पूर्णिमाको अवसरमा तीर्थ यात्रामा जानका लागि नांगाे खुट्टा जानुपर्ने विश्वास छ। तीर्थ यात्रा जाने क्रममा बाटाघाटामा श्रद्धालु भक्तजनले सम्पूर्ण तीर्थालुलाई फूलमाला, फलफूल र रङ लगाइदिएर विशेष स्वागत गर्ने चलन छ।

यस मन्दिरमा आउने भक्तजनलाई विशुद्ध व्यक्तिगत रूपमा स्थानीयले खाने बस्ने व्यवस्था गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.