पुल निमार्ण नहुँदा डुंगामा यात्रा गर्न बाध्य

|

रौतहट : गौर नगरपालिका ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साझ डुंगा दुर्घटना हुँदा डुबेका मध्ये दुई जनाको शव भेटिएको छ। भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीया शान्ति देवी साह र इशनाथ नगरपालिका औरहियाकी ३५ वर्षीया रुनादेवी पटेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहट जानकारी दिएको छ।

डुंगामा सवार इन्दुदेवी पटेल, उश्मा पटेल, ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिएका छन्। मृतकहरूको सनाखत गरी शव आफन्तलाइ बुझाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

डुंगामा सवार २६ जनामध्ये २१ जनाको प्रहरीले उद्धार गरेको थियो भने ३ जना भने अझै हराइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन्। प्रहरीले गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनी, जयप्रकाश गिरी, सुखियादेवी सहनी, भगवान् यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलगायत २१ जनालाई उद्दार गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार साँझ बकैया नदीमा पल्टेको थियो। उक्त डुंगा पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो।

पुल निमार्ण नहुँदा डुंगामा यात्रा गर्न बाध्य

लालबकैया नदीमा शनिबार साझ डुंगा दुर्घटना हुनुको मुख्य कारण निमार्ण कम्पनीले समय सीमाभित्रै पुल निमार्ण कार्य नसक्नु प्रष्ट रूपमा देखिएको छ। दुर्घटनास्थल बकैया नदीको टिककुलिया घाटमा पुलको निमार्ण कार्य गत २०७४ असार २५ गतेभित्र सम्पन्न गर्नु पर्ने भएता पनि अहिलेसम्म निमार्ण कार्य नसक्दा स्थानिय डुंगाको यात्रा गर्न बाध्य भएका हुन्।

विस २०७१ साल असार २९ गते पप्पु कन्ट्रक्सन वीरगञ्ज पर्साले सो पुल निमार्णको ठेक्का लिएको थियो। सो पुल निमार्णको लागि तीन वर्षभित्र निर्माण कार्य सक्ने गरी कम्पनीले १९ करोड ५ लाख १८ हजार रुपैयाँमा ठेक्का लिएको थियो। तर अहिले उक्त पुलमा ६० प्रतिशत बराबर मात्र काम भएको छ।

सो घाट हुँदै सदरमुकाम गौरबाट इशनाथ नगरपालिकाको बन्जहरा, औरैया, राजपुर, जोकाहालगायतका गाउँका बासिन्दाहरू ओहोर/दोहोर गर्ने गर्दछन्। रौतहटका अधिकांश स्थानमा पुलको शिलान्यास भएको भएता पनि ठेकेदारको बदमासीको कारण पुल निमार्ण कार्य अलपत्रमा परेका छन् भने केही पुलको काम सुस्त गतिमा रहेका छन्।

दर्जनभन्दा बढी घाटमा डुंगा संचालन

रौतहटको दुई ठूला नदीका विभिन्न दर्जनभन्दा बढी घाटमा डुंगाबाट स्थानीयहरू ओहोर/दोहोर गर्न बाध्य छन्। वागमती नदी र बकैया नदीका दर्जनभन्दा बढी स्थानमा डुंगा संचालन हुदै आएका छन्। बकैया नदीको टिकुलिया घाट, कटहरिया घाट, बन्जहरा घाटलगायतका आधा दर्जनभन्दा बढी घाटहरूमा डुंगा संचालन हुँदै आएका छन्।

यसैगरी वागमती नदीको बडहर्वा, पिप्रा रजवडा, ब्रहमपुरी, समनपुर, माधोपुर, राजदेवी, पकाहालगायतका स्थानहरूमा ठेक्कामा डुंगा संचालन हुँदै आएका छन्। विभिन्न चरणमा ती स्थानहरूमा पक्की पुलको शिलान्यास भएको भएता पनि ठेकेदारहरूले निमार्ण नगरिदिँदा स्थानीयहरू जोखिमको यात्रा गर्न बाध्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.