|

डोल्पा : डोल्पाली विद्यार्थीदेखि अभिभावकको मनमा बस्न सफल व्यक्ति हुन्, याम सर अर्थात् याम शर्मा। सानैदेखि शिक्षक बन्ने सपना बोकेका उनी पर्वते ठिटो भए पनि डोल्पामा भने शिक्षा क्षेत्रका हस्तीकै रूपमा परिचित छन्।

२०३२ सालमा पर्वतको मोदी गाँउपालिका- ७ राम्जामा जन्मेका उनको शिक्षक बन्ने प्रेरणा उनका बुबाले नै दिएका थिए।

पेसाले उनका बुबा पनि शिक्षक थिए। 'गणित गुरुको रूपमा बुबा गाउँमा चर्चित हुनुहुन्थ्यो। बुबालाई गर्ने धेरै सम्मान र चर्चा नै मेरा लागि पनि शिक्षक बन्ने बलियो आधार बन्यो', शर्माले भने। उनलाई डाक्टर, इन्जिनियर, पाइलट बन्ने सपना कहिल्यै जागेन। 'बुबाको उदाहारण नै काफी भयो मेरालागि', उनले भने। शर्माले गाउँमै दश कक्षा पास गरिसकेपछि गाउँमै पढाउने अवसर पनि मिल्यो।

केही महिना गाउँमै पढाइसकेपछि डोल्पामा पढाउन आउन खबर आयो र उनी डोल्पा पुगे।

कासमा पछाडि पर्नुमा माओवादी द्वन्द्वको प्रभाव धेरै थियो डोल्पामा। 'कतिपय विद्यार्थीहरू माओवादीको डरले पनि स्कुल नआउने गरेको पाएँ', उनले थपे। पहिलो पटक डोल्पा पुग्दा उनलाई लागेको थियो- पढ्नुपर्छ भन्ने चेतना सबैलाई होला तर त्यस्तो पाएनन्। समाजलाई बुझ्दै गएपछि समाजमा पढ्नुपर्छ भन्ने धारणा धेरै न्यून पाएको उनले बताए।

'समाजमा बालबच्चा पढाएर के काम? घरको काम गरेपछि खान पाइन्छ, हाम्रो घरको काम तिम्ले गरिदिन्छौ? भन्ने प्रश्न तेर्सिने गर्थ्यो बालबच्चा पढाउन पठाउनुहोस् भन्न जाँदा', उनी भन्छन्।

यसो भन्दा उनलाई उनीहरूको सोचाइ देखेर दु:ख लाग्थ्यो। 'मलाई लाग्यो, शिक्षाको हिसाबमा डोल्पा धेरै पछाडि रहेछ। कसरी परिवर्तन गर्न सकिएला यस्तो मानसिकता भन्ने चिन्ता लाग्थ्यो', उनले भने।

जीवनको उद्देश्य नै सफल शिक्षक बन्ने रहेकाले त्यस्ता अभिभावकको जवाफले उनलाई रोकेन। उनले भने, 'म अझ त्यस्ता सोचाइ भएका अभिभावक र विद्यार्थीहरूसँग धेरै हेलमेल गर्न थालेँ।'

विद्यालय समयमा स्कुलमै व्यस्त हुन्थे भने अरू बेला पढ्न रुचि नभएका विद्यार्थीलाई कक्षामा सम्झाउन थाले- पढ्नुपर्छ, पढेर मात्रै ठूलो मान्छे बन्न सकिन्छ भन्दै।

बिहान बेलुकीको समयमा पनि विद्यालय आसपास छिमेकी गाउँका उमेर पुगेर पढ्न नआउने विद्यार्थी, अभिभावको घरमै पुगेर सम्झाएको र शिक्षाको महत्त्व बुझाइसकेपछि विद्यार्थी पढ्न आउने गरेको र विद्यार्थी पठाउन अभिभावक सहमत भएका थुप्रै उदाहारण छन् उनीसँग।

'म डोल्पा आउँदा विद्यालयमा पढ्न आउने विद्यार्थीको उपस्थिति अत्यन्तै न्यून थियो', उनले भने, 'अधिकांश विद्यार्थी घर व्यवहारमा ठिक्क थिए। हुनत समय परिस्थितिले नै मान्छेलाई परिवर्तन हुन प्रेरित गर्ला तर अहिलेको जस्तो परिवर्तन होला जस्तो लागेको थिएन।'

त्यतिखेर त्यहाँका आधाजसो मान्छेमा मात्रै पढ्नुपर्छ भन्ने चेतना भएको उनले बताए। 'आधाजसो मानिसले पढाइको महत्त्व बुझेका थिएनन्', उनले भने। त्यो आँकडा नै एक शैक्षिक अभियानमा लागेका व्यक्तिका लागि चुनौतीको पहाड थियो।

त्यसमा पनि छोरीले पनि पढ्नुपर्छ भन्ने धारणा अत्यन्तै न्यून थियो उतिबेला। अहिले छोरा र छोरीमा दुवैले पढ्नुपर्छ भन्ने चेतना जागेको छ। अहिले डोल्पाका अधिकांश विद्यालयमा छात्रभन्दा छात्राको उपस्थिति धेरै पाइने उनको भनाइ छ।

डोल्पाली विद्यार्थीलाई गणितको डर

सुरुमा उनी आँउदा जिल्लामै अधिकांश विद्यार्थी एसएलसीमा गणित र विज्ञान विषय लागेर फेल हुने गरेका थिए।
'गणित भन्नेवित्तिकै विद्यार्थीमा ठूलै डर लाग्ने गरेको रहेछ। मेरै विद्यालयको कुरा गर्दा कक्षामा पढाउन जाँदा गणित विषय पढ्नुपर्छ भन्ने डरले गणितको घण्टीमा नपढेरै भाग्ने गर्थे', उनले भने, 'म गणित र विज्ञान शिक्षक भएकाले विद्यार्थीको गणित विषयप्रतिको धारणाले मलाई चिन्तित बनायो।'

गणित विषयप्रतिको विद्यार्थीको डर कसरी हटाउने भनेर उनले धेरै अनुसन्धान गरे। प्रत्येक विद्यार्थीलाई बुझे र अभिभावकसँग भेटे। विस्तारै सबै कुरा थाहा पाए। 'गणितमा डोल्पाली विद्यार्थी कमजोर हुनुमा मुख्य रूपमा प्रावि तहमा सम्बन्धित ज्ञान नपाउने भएकाले रहेछ', उनले भने।

प्रावि तहमा शिक्षकहरूले जोड घटाउसमेत राम्रोसँग नसिकाउने गरेकाले त्यसको असर माथिल्लो कक्षामा पर्ने र उनीहरूको गणितको आधार अत्यन्तै कमजोर हुने गरेको भेटिएको उनको भनाइ छ।

'विभिन्न गाउँबाट विद्यार्थी पढ्न आउने भएकाले सबै गाउँका प्रावि शिक्षकलाई गणित विषयमा राम्रो गर्नुहोस् भनेर पनि सम्भव थिएन्, भन्ने कर्तव्य पनि मेरो थिएन', उनी भन्छन्। त्यसो त आफ्नै तवरले कसरी विद्यार्थीलाई गणितमा दक्ष बनाउन सकिन्छ भन्नेतिर चिन्तन गर्न थाले उनी।

दश कक्षामा जोड घटाउ सिकाएँ

अब नौ/दश कक्षामै भए पनि जोड घटाउ सिकाएर पनि विद्यार्थीलाई गणित विषयमा पोख्त बनाउन सकिन्छ भन्ने अठोट जाग्यो र मैले त्यसैअनुरूप सुरु गरे।
नौ/दश कक्षामै जोड घटाउ सिकाउन थाले। 'गणितमा सामान्य गल्ती भयो भने पनि पूरै हिसाब नै गलत हुन्छ, त्यसैले विद्यार्थीलाई आधारभूत कुराबाट सुरु गरेकाले गणितप्रति विद्यार्थीको धेरै रुचि बढेको पाएँ', उनले भने।

थुप्रै विधि र तरिका अपनाए र प्रत्येक विद्यार्थीको बेन्चमै गएर सिकाउन थाले उनले। बाटोमा हिँडेको बेला घरमै पुगेर पनि विद्यार्थीलाई सुझाव दिए।

बिहान र बेलुकी रातीसम्म पनि सिक्न चाहने विद्यार्थीका लागि उनी तयार हुन्थे। उनले भने, 'यसो गर्दा विद्यार्थीमा धेरै परिवर्तन पाएँ। गणितप्रतिको डर पनि हट्दै गएको पाएँ।'

एसएलसीको प्रवेशको रूपमा रहेको टेस्ट परीक्षामा समेत शून्य ल्याउने विद्यार्थीलाई एसएलसी परीक्षामा कुल पुर्णांक १०० मा ९० नम्बर ल्याउन सक्ने बनाए उनले।
'यो मेरालागि निकै खुसीको कुरा थियो। डोल्पाली विद्यार्थीको गणित विषयप्रतिको अरुचि र डर हटाएर सुधार गर्न सकेजस्तो लाग्यो।'

अहिले उनलाई जिल्लामै राम्रो गणित शिक्षकको रूपमा चिन्छन्। उनले पढाएका गणितमा शून्य ल्याउने विद्यार्थी पनि धेरै माथिसम्म पुगिसकेका छन्। 'मेरालागि यही नै खुसीको पल हो', उनले भने।

'कतिपय अभिभावक छोराछोरीको गणितमा परिवर्तन भएको देखेर कस्तो तरिकाले गणित सिकाउनुहुन्छ, जिरोवालालाई कसरी हिरो बनाउनुहुन्छ? भनेर सोध्ने गर्छन्', उनले भने।

आफूले गणित पढाउँदा कुनै जादू नगरी सामान्य आधारभूत कुराबाट सुरु गर्ने र तलब पकाउन मात्रै कक्षा कोठामा जाने नगरी प्रत्येक विद्यार्थीको रुचि र क्षमतालाई बुझेर सिकाउने हो भने पक्कै पनि जिरोलाई हिरो बनाउन सकिने उनले बताए।

शैक्षिक योग्यताका हिसाबले स्नातकोत्तर गरेका उनले डोल्पामा १८ वर्ष सेवा गरिसकेका छन्। शिक्षकमै कार्यरत रहँदा जिल्लामै उत्कृष्ट शिक्षकको रूपमा समेत पुरस्कृत भएको उनले बताए।

शर्माले आफू मात्रै नभई पढाउने विद्यालयलाई पनि पटक पटक पुरस्कृत गराए। जिल्लाकै नमुना विद्यालयको रूपमा जनप्रभा उमाविलाई स्थापित गरे।

लगातार तीन वर्षसम्म एसएलसीमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल पनि बनाए। देशमै उत्कृष्ट उमाविको सूचीमा पार्नसमेत सफल भएको उनले बताए।
शर्मासँग डोल्पामै दुई वर्ष स्रोत व्यक्ति र पाँच वर्ष प्रधानाध्यापक भएर काम गरेको अनुभव छ।

'अझै डोल्पा कति बसिन्छ थाहा छैन। धेरै लामो सयम एउटै ठाउँमा बस्दा धेरै माया लाग्दोरहेछ', उनी भन्छन्, 'हत्तपत्त छाडेर जान मन नलाग्नेरहेछ।'

कहिल्यै नभुल्ने शब्द 'कालो ओडार'

यो १८ वर्षको अवधिमा डोल्पाको वास्तविक अवस्था बुझे उनले। कतिपय त्यस्ता सुख र दु:खका क्षण पनि छन् उनीसँग, जसले डोल्पालाई कहिल्यै भुल्न दिनेछैनन्।

'एक पटक मैले पढाएको विद्यार्थीले नेपालमै उत्कृष्ट निबन्ध लेखेर बिबिसीमा अन्तर्वार्ता दिँदा मलाई अत्यन्तै खुसी लागेको थियो', उनले भने, 'त्यस्ता थुप्रै अविष्मरणीय क्षणहरू पनि छन्, सबै भनेर साध्य पनि छैन।'

एक दिन उनले पढाएका एक जना विद्यार्थीले एसएलसीमा आठ विषय लगाउँदा उसका बुबा आएर 'मेरो छोराका लागि यो विद्यालय कालो ओडार भयो' भन्दा उनलाई अत्यन्तै दु:ख लाग्यो। 'विद्यार्थी सुस्त भएकाले जति प्रयास गर्दा पनि सकिएन। यो कालो ओडार शब्द नै मेरो जीवनमा कहिल्यै नभुल्ने दु:खको कुरा हो', उनले भने। 

शिक्षक पेसा नै जस र अपजसको पेसा हो। त्यसो त उनलाई कहिल्यै पेसाप्रति त्यस्तो महसुस भएन। 'सधैँ डोल्पाली अभिभावक र विद्यार्थीको माया पाएँ, यही नै एक शिक्षकका लागि खुसीको कुरा हो', उनले भने।

डोल्पा बसेरै शिक्षक सेवा आयोगका प्रावि, निमावि र मावि तीनै तहको किताब प्रकाशन गर्ने अवसर पनि पाए उनले। 'सायद यो अवसर डोल्पा नआएको भए पाउन सकिँदैनथ्यो होला', उनले भने।

पेसाप्रति वफादार, कर्तव्यनिष्ठ भएर निरन्तर लाग्ने हो भने एक दिन अवश्य सफल शिक्षक बन्न सकिन्छ भन्ने उनको विश्वास छ।

एक शिक्षकका लागि पुरुस्कार वा हौसला जे भने पनि विद्यार्थीको माया, विद्यार्थीको सफलता र अभिभावको माया नै भएकाले त्यो अहिलेसम्म आफूले पाइराखेको शर्मा बताउँछन्।

डोल्पाको शैक्षिक गुणस्तर कमजोर

अन्य जिल्लाहरूको तुलनामा डोल्पाको शैक्षिक गुणस्तर सुधार हुन सकेको छैन। पहिलेका तुलनामा त धेरै भन्न मिल्ला तर वर्तमान परिवेशमा यतिले नपुग्ने उनी बताउँछन्। 'सिक्ने कुरामा डोल्पाली विद्यार्थी कमजोर पक्कै छैनन् तर डोल्पाबाट निजामती सेवामा भएको नगण्य उपस्थितिले डोल्पाको शैक्षिक गुणस्तरमा धावा बोलेको छ', उनको भनाइ छ।

यसका पछाडि पनि थुप्रै कारणहरू रहेका उनी बताउँछन्। 'जस्तो : बहुमूल्य जडिबुटी यार्सागुम्बाप्रतिको मोह पनि प्रमुख कारण हो। लोकसेवा, शिक्षक सेवा आयोगका परीक्षा दिन जिल्लाबाहिर जानुपर्ने स्थिति पनि अर्को कारण हो', शर्मा भन्छन्।

दुई वर्षयतादेखि मात्र जिल्लामै परीक्षा हुने गरेको छ। अर्को मुख्य कुरा नपढेरै पास भइन्छ, नपढाएरै विद्यार्थीलाई पास गराइन्छ भन्ने शिक्षक, विद्यार्थी र अभिावकको मानसिकता पनि धेरै हदसम्म कारक रहेको उनको ठहर छ। 'यसका कारण पनि डोल्पाको शिक्षा क्षेत्रमा सोचेजतिको उपलब्धि हासिल गर्न सकिएको छैन', उनले भने।

एक जनाले मात्रै लागिपरेर कुनै एक ठाउँको मात्रै शैक्षिक गुणस्तर सुधार भए पनि समग्र जिल्लाको शैक्षिक गुणस्तर सुधार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, कार्यालय, स्थानीय सरकार सबै लाग्नुपर्ने उनले बताए।

डोल्पाली विद्यार्थीलाई पनि बदलिँदो परिस्थितिको सामना गर्न सक्ने बनाउनु आजको आवाश्यकता भएको शर्माको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.