|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी रहेको शहरको नाम वीरेन्द्रनगर हो। प्रदेशको मुख्य तथा धेरै जनसंख्या भएको स्थानीय तह पनि वीरेन्द्रनगर नगरपालिका हो। तत्कालीन राजा वीरेन्द्र देश भ्रमणका क्रममा सुर्खेत पुगेको बेला उनले अत्याधिक रुचाइएको ठाउँका रुपमा वीरेन्द्रनगरलाई लिने गरिन्छ। त्यही भएर पनि यो उपत्यकाको नाम वीरेन्द्रनगर राखिएको स्थानीयहरुको भनाइ छ।

नगरपालिका र शहरको नाम त वीरेन्द्रनगर छ। तर, तत्कालीन राजा वीरेन्द्र झल्काउने कुनै संरचना छैन। सुर्खेतको मुख्य बजारको चोकमा वीरेन्द्रको शालिक थियो। जसलाई वीरेन्द्रचाेक भनेर चिनिन्छ। अहिले पनि वीरेन्द्रचौकको नामबाट नै चिन्ने गरिन्छ। तर, २०६२/०६३ को जनआन्दोलन ताका प्रदर्शनकारीबाट राजा वीरेन्द्रको शालीक भत्काइयो।

वीरेन्द्रनगरमा नै वीरेन्द्रको उठिबास लगाएकोमा वीरेन्द्रनगर नगरपालिका-९ का अलि उमरले दुःख व्यक्त गरे। ‘राजाको शालिक हटाएर जीर्ण बनाइएको छ। बजार नै कुरुप भएको छ’ उनले भने, ‘छिट्टै शालिक बनाइयोस्।’ 

बजारको निशानका रुपमा रहेको तत्कालीन राजा वीरेन्द्रको शालिक त छैन। त्यही ठाउँमा केही महिनाअघि वीरेन्द्रनगर नगरपालिकाले नयाँ स्वरुपको चाेक बनाउने भन्दै डोजर चलायो। तर, काम भएन। अहिले यहाँ भग्नावशेष मात्र छ। भत्काइएको तीन महिना बितिसक्दा समेत त्यसलाई व्यवस्थित गर्न अझैसम्म कुनै सुरसार छैन।

यस्तो थियो चोकमा शालिक

तत्कालीन राज्यको संरचनाअनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर अहिले नयाँ संरचनाअनुसार कर्णाली प्रदेशको राजधानी भएको छ। तत्कालीन क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा सुन्दरता भरेको र शोभा बढाएको वीरेन्द्रचाेकले अहिले संघीय गणतन्त्रमा कर्णाली प्रदेशको राजधानीमा त्यही वीरेन्द्रचौकले कुरुप बनाएको छ।

नगरपालिका उपप्रमुख मोहनमाया ढकालले चोकलाई कस्तो बनाउने भन्ने टुंगो लागिनसकेको बताइन्। तरअहिले पनि योजना तयारीकै चरणमा रहेकाले काम गर्न ढिलाइ भएको उनको प्रष्टीकरण छ। उपप्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रचोक भने कस्तो बनाउने भन्ने योजना बन्दै गरेकाले केही समय लाग्छ।’ उनका अनुसार मंगलगढी चोकको अहिलेको भन्दा आकार केही घटाएर बगैंचा र पानीको फोहोरासहितको बनाइने छ भने वीरेन्द्र चोकको आकार थोरै घटाएर संरक्षण गरिने छ। त्यसमा लाइटिङ पनि गरिने उनले जानकारी दिइन्।

‘वीरेन्द्र चोकको संरचना ठूलो भएका कारण ट्राफिक असहज भएको गुनासो आएकाले हामीले चोकको साइज घटाउने भएका हौं,' ढकालले बताइन्। वीरेन्द्रनगरका चाेकमध्ये वीरेन्द्रनगर र मंगलगढी चाेक संरचनासहितका चाेक हुन्। व्यवस्थित बनाउन गत जेठमा यी दुवै चोकलाई नगरपालिकाले भत्काइएको हो। भत्काइए पनि व्यवस्थित बनाउने कार्य अझैसम्म सुरू नहुनु नगरपालिकाको गैरजिम्मेवारीपन भएको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.