|

बाँके : शान्ति सुरक्षा र साहित्य दुई फरक पाटा हुन्। साहित्य र गीत, संगीतमा मायाप्रेमका कुराले स्थान पाउँछन् तर शान्ति सुरक्षामा खटिने राष्ट्रसेवकको काम त्यसको ठीक उल्टो खालको हुन्छ। शान्ति सुरक्षा कायम गर्दा मायाप्रेमका कुराले काम नगर्न सक्छ। दंगा नियन्त्रण गर्दा कठोर बन्नुपर्ने हुन्छ। तैपनि नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक टेकबहादुर तामाङले यी दुई फरक पाटालाई एकै साथ लग्न सफल भएका छन्। सुरक्षा निकायमा फुर्सद कमै पाइने भए पनि मौका मिलाएर साहित्य, गीत तथा भजन रचना गर्दै आएका छन् उनी। ‘हामी सुरक्षाकर्मी २४सै घण्टा ड्युटीमा हुन्छौँ, फुर्सद र वातावरण मिल्यो भने गीत लेख्न थाल्छु’, उनले भने। 

तीन एल्बम बजारमा, एक एल्बम प्रकाशोन्मुख 

भोजपुरको साविक हेलम्छार गाविस- ३ मा वि.सं. २०२७ मा जन्मिएका सहित्यकार एवम् गीतकार तामाङले अहिलेसम्म झण्डै एक हजार सिर्जना रचना गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको एक वर्षे कार्यकाल सकेर बाँकेबाट सरुवा भएर जाँदै गर्दा उनले नेपालगंजमा सामाजिक सद्भावका लागि सांगीतिक साँझ आयोजना गर्न भ्याए। गीत संगीतप्रति रुचि भएकाले सामाजिक सद्भावका लागि सांगीतिक साँझ गर्न मन लागेको उनले बताए। 'सांगीतिक कार्यक्रमले एकातिर सामाजिक सद्भाव बलियो बनाउन मद्दत गर्ने र अर्कोतर्फ संस्कृति पनि जोगाउन सहयोग हुने लाग्यो’, उनले भने। 

साहित्य र गीत संगीतमा रमाउने तामाङका तीनवटा एल्बम प्रकाशित छन्। प्रहरीमा कठोर र साहित्यमा नरम हुनुपर्ने अवस्थालाई चिर्दै उनले माया पिरतीका कुराभन्दा देशभक्ति, समय र समाजसम्वद्ध गीत र भक्ति भजन रचना गरेका छन्। उनले रचना गरेका ३० वटा गीत रेकर्ड भई बजारमा आइसकेका छन् भने १५ वटा गीत बजारमा आउने क्रममा छन्। 

साथीभाइले र्‍याप र डान्सिङ गीत लेख्न अनुरोध गरे पनि आफूलाई त्यस्तो गीत रचना गर्न मन नलागेको उनले बताए। 'मेरो स्वभाव त्यस्तै भएर होला मलाई सुगम संगीत मात्र लेख्न मन लाग्छ’, उनले भने।  

उनका 'स्वदेश', २०६७, 'जीवन साथी', २०६९ र 'आमा', २०७० एल्बम प्रकाशित छन्। सरल स्वभावका तामाङको देशभक्ति र भजन मिश्रित ‘माटोको माया’ नामक पुस्तक प्रकाशनमा आएको छ। उनले रचना गरेको ‘माया गरेर हेर...’ बोलको गीतले चलचित्र विन्दास- २ मा स्थान पाएको छ। 

‘इमेज अवार्ड, २०६९’ जित्न सफल

नरम बोली, सरल स्वभाव र मिलनसार स्वभावका प्रहरी उपरीक्षक तामाङले रचना गरेको ‘सानो ठूलो जातै छैन...’ बोलको गीतले ‘इमेज अवार्ड, २०६९' जितिसकेको छ। उक्त गीतमा शिव परियारले स्वर र भीम विरागले संगीत दिएका छन्। 

तामाङको रचना र मेलिना राईको स्वर रहेको ‘नजिक यति भएर पनि...’ बोलको गीत रिलिज भएको दुई महिनामै छ लाखले हेरेका छन् भने विन्दास- २ मा समावेश गीत डेढ लाख र झण्डै एक लाखले ‘यस्तै रहेछ जिन्दगी' बोलको गीत हेरेको उनले बताए। ‘मैले रचना गरेका गीत लोकप्रिय भएका त छैनन् तैपनि निरन्तर रचना गरिरहेको छु’, उनले भने।

साहित्यलाई मानव जीवनको एक पाटो मान्ने उनले साहित्यलाई रिटायर्ड नहुने विधाका रूपमा पनि लिने गरेका छन्। उनले साहित्यले समाजलाई जीवन्त राख्न मद्दत गर्ने बताए। तामाङले झण्डै एक हजार गीत, कविता र भजन रचना गरिसकेका छन्। 

सुगम संगीतमा तामाङको रुचि

उनले ५०० गीत रचना गरेका छन् भने २०० वटा देशभक्तिपूर्ण र १०० भक्ति भजन रचना गरेका छन्। तर, पछिल्लो समय काममा ब्यस्त भएका कारण त्यति धेरै गीत रचना गर्न नसकेको उनले बताए। 

फुर्सदको सदुपयोग गरेर गीत तथा साहित्य रचना गर्दै आएको बताउँदै उनले साहित्य सिर्जनाका लागि शान्त र एकान्त ठाउँ आवश्यक पर्ने बताए। एक वर्षे बाँके बसाइको क्रममा उनले जम्मा तीनवटा गीत सिर्जना गर्न भ्याए। संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा पूर्वी टिमोर, सुडानको डार्फर गएको बेला धेरै गीत तथा साहित्य रचना गरेको उनले बताए। ‘दैनिक आठ घण्टा मात्र ड्यूटी गर्नुपर्थ्यो, बाँकी समय साहित्य रचना गरेर बिताउँथेँ,’ उनले भने। 

'प्रहरीको समाज सेवा पाटो ओझेलमा परेको छ'

प्रहरीको एउटा पाटो ओझेलमा परेको उनको बुझाइ छ। प्रहरीले समाज सेवामा ठूलो भूमिका खेले पनि उक्त सेवा ओझेलमा पारेर शान्ति सुरक्षा कायम गर्ने, गुण्डागर्दी नियन्त्रण गर्ने कामलाई महत्त्व दिँदा प्रहरीप्रति समाजमा नकारात्मक सोचको विकास भएको उनले बताए। 

पीडितलाई न्याय दिने, आगलागी, असहाय, अशक्त, महिला, वृद्धवृद्धा, बाढीपीडितको उद्धार गरेर समाज सेवा गरे पनि उक्त कुरालाई अपराध नियन्त्रणको पाटोले ओझेल पारेको बताउँदै उनले प्रहरीले पनि समाजकै लागि काम गर्दै आएको छ भन्ने सूचना प्रवाह गर्न आवश्यक रहेको औँल्याए। ‘प्रहरीप्रतिको नकारात्मक सोच परिवर्तन गर्न सकिए मात्र नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर हुन सक्छ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.