|

लहान : सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै पश्चिमी च्यानल हुँदै आएको पानीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सयभन्दा बढी घर डुबानमा परेका छन्।

सोमबार राति करिब ८ बजे आएको बाढीले वडा नम्बर ८ र १२ का १२५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। पानीले नगरपालिका कार्यालय र लिलजा ठाकुर आधारभूत विद्यालय समेत डुबानमा परेको प्रहरीले जनाएको छ।
  
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार भारतले ब्यारेजमुनि बनाएको च्यानलका कारण पानी गाउँ पसेको हो। ‘गाउँमा पानी पस्दा कोसीमा पानीको बहाव १७० हजार क्युसेक थियो,’ प्रहरी नायब उपरीक्षक रिमालले भने, ‘त्यसअघि कोसीमा अढाइदेखि ३ लाख क्युसेक बहावमा समेत नपसेको पानी सामान्य अवस्थामै गाउँ पसेको हो।’

पानी गाउँमा पसेपछि डुबानमा परेका स्थानीय बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ। मंगलबार बिहानसम्म कोसीको बहाव अझै घटेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए। पानी पुनः गाउँ पस्न नदिन र गाउँको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत् समन्वय गर्ने कार्य भइरहेको बताइएको छ।

च्यानलले जोखिम

भारत सरकारको कोसी योजनाअन्तर्गत ब्यारेजभन्दा तल कोसीको मूलधारलाई पाइलट च्यानल बनाएर पश्चिमतर्फ फर्काएपछि बाँधभन्दा तलतिरका बस्ती जोखिममा परेका छन्।

कोसी योजनाअन्तर्गत कोसीको पानीको बहावलाई च्यानलमार्फत् पश्चिमतिर फर्काएपछि बहाव पश्चिमी बाँधतिर मोडिएको छ। योजनाअन्तर्गत कोशी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतिर फकाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.