|

ओखलडुंगा : ओखलढुंगाका स्थानीय तहहरू प्रविधिमैत्री बन्दै गएका छन्। स्थानीय सरकारका रूपमा स्थापित नगरपालिका, गाउँपालिका र वडा पालिकाहरूले विद्युतीय हाजिरीको अभ्यास थालेपछि स्थानीय तह प्रविधिमैत्री बन्न थालेका हुन्। कार्यालयका कर्मचारीहरूलाई कामप्रति थप जिम्मेवार बनाउन विद्युतीय हाजिरीको प्रयोगलाई जोड दिएको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।

एक नगरपालिकासहित ८ स्थानीय तह यस जिल्लाका सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका, लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकाले विद्युतीय मेसिनको प्रयोग गरी हाजिरी सुरुवात गरिसकेका छन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयसमेत विद्युतीय हाजिर पयोग गर्न थालेका छन्। नियमित विद्यालय नआउने शिक्षकहरूका लागि विद्युतीय हाजिरी बढी नै उपयोगी भएको लिखु ५ मा रहेको यसम मावि यसमका प्रअ घनबहादुर काफ्लेले बताए। 

स्थानीय तहका कार्यालयमा कर्मचारीहरूको अभाव भए पनि भएका कर्मचारीहरूलाई नियमित उपस्थिति हुन र जिम्मेवारी बनाउनका लागि पहिलो प्राथमिकताका साथ हाजिरी मेसिन जडान गरिएको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलले बताए। विद्युतीय हाजिरी मेसिन जडानपछि कार्यालयमा कम उपस्थित हुने कर्मचारीहरूको उपस्थिति नियमित हुने र उनीहरूको कामप्रति कर्मचारीहरूको जिम्मेवारी अझ बढ्ने उनको विश्वास छ।

सुनकोशी गाउँपालिकाले भने वडा कार्यालयहरूमा समेत यसको अभ्यास थालेको जनाएको छ। गाउँपालिका कार्यालय र यहाँका सबै वडाहरूमा विद्युतीय हाजिरी मेसिन जडान गरी प्रयोगमा ल्याइएको सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए। गाउँपालिकाको वार्षिक लक्षित कार्यक्रमअनुसार नै पहिलो चरणमा गाउँपालिका र सबै वडा तथा दोस्रो चरणमा गाउँपालिका भित्रका माध्‍यमिक विद्यालय र स्वास्थ्य चौकी तथा तेस्रो चरणमा बाँकी रहेका अन्य कार्यालयमा पनि जडान गरिने गाउँपालिका अध्यक्ष अधिकारीले भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.