|

सल्यान : कालीमाटी गाउँपालिका-५ काल्चे दम्दवालीका स्थानीयवासी बबई खोलाको दूषित पानी खान बाध्य भएका छन्। एक करोड बढी रकम खर्च भएको खानेपानी योजना अलपत्र परेपछि काल्चेका १८० घरधुरी खानेपानीको चरम अभाव भोग्न बाध्य भएसँगै बबई नदीको पानी खान बाध्य भएका हुन्। 

खानेपानीको मुहान सुकेपछि खानेपानी योजना अलपत्र परेको हो। स्थानीयवासी वर्षाको समयमा समेत खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन्। मान्द्रेखोलाको मुहानबाट गाउँसम्मको करिब ६ किमी दूरी पानी पुर्‍याइएको भए पनि अधिकांश संरचना जीर्ण बनेका कारण खानेपानी समस्या निकै भएको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष शशिबहादुर खत्रीले बताए। 

जडान गरेको पाइपसमेत काम नलाग्ने भएको छ। डढेलो, सडक निर्माण, चोरी लगायतका कारण ६ किलोमिटर लामो पाइप काम नलाग्ने भएको उनको भनाई रहेको छ। खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष शशिबहादुर खत्रीले अलपत्र भएको खानेपानी योजना सुचारु गर्न विभिन्न निकायमा माग गर्दै आए पनि बेवास्ता हुँदै आएको बताए। ‘अहिले मान्द्रेखोलाको मुहान सुकेको छ, उनले भने, ‘स्थानीयवासी बबई खोलाको दूषित खानेपानी उपभोग गर्न बाध्य छौं।’

उपभोक्ता समितिका अनुसार २०५९ मा सञ्चालन गरिएको खानेपानी योजना अलपत्र परेको हो। सुरुको चरणमा स्थानीयवासीले तीन माहिना मात्र खानेपानी उपभोग गर्न पाए। मुहान सुकेपछि योजना अलपत्र पर्‍यो। फेरि बाँसघारी खोलाबाट पानी ल्याइ २०६४ मा अर्को  योजना सञ्चालन गरिए पनि स्थानीयले एक महिना समेत पानी उपभोग गर्न नपाएको स्थानीय मिना बुढाले बताइन्। खानेपानी समस्याका कारण दैनिक सास्ती भोग्नु परेको बताइन्। 

‘गाउँबाट एकाध घण्टा हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘१३ वर्षदेखि पूरै बस्तीका बासिन्दाले खोलाको फोहोर पानी उपभोग गरिरहेका छौं।’ उनले खानेपानी समस्याका कारण सरसफाइ गर्ने, वस्तु भाउलाई पानी खुवाउने लगायतका काममा सास्ती भएको बताइन्। स्थानीय सुरेश गाहामगरले खानेपानी अभावका कारण अधिकांश शौचालय प्रयोगविहीन बनेको बताए। उनले गाउँमा खानेपानी समस्या समाधान गर्न विभिन्न निकायमा माग गरिए पनि बेवास्ता भएको बताए। 

यस्तै बन्गाड कुपिन्डे नगरपालिका-१ नाम्राका ६० घरपरिवार भेरीको धमिलो पानी खान बाध्य छन्। अन्य खानेपानीको कुनै विकल्प नभएका कारण भेरीको धमिलो पानी खान बाध्य भएको स्थानीय गोपीलाल आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.