पटक-पटक ताकेता गर्दा पनि उपस्थित भएनन् डिएसपी भण्डारी

|

धनकुटा : संखुवासभा जिल्लाको चैनपुरस्थित सशस्त्र प्रहरीको अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीको संलग्नतामा गुल्मकै गाडीमा प्रतिबन्धित सखुवाको काठ अवैध रूपमा तस्करी गरिएको विषयमा जिल्ला वन कार्यालय धनकुटाले आवश्यक अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।

सशस्त्र प्रहरीले सखुवाको काठ तस्करी गरेको विषयमा आवश्यक अनुशन्धान तथा छानबिन गर्न जिल्ला वन कार्यालय धनकुटाबाट जिम्मेवारी पाएका सहायक जिल्ला वन अधिकृत शिवशंकर ठाकुरले अनुशनधान प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन्।

गत जेठ २१ गते राती अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढंगले विराटनगरतर्फ लाँदै गरेको १ सय ८४ थान चिरान सखुवाको काठ सशस्त्र प्रहरीको वेश क्याम मुलघाट धनकुटाले मूलघाटमा पक्राउ गरेको थियो।

बरामद गरिएको काठ जिल्ला वन कार्यालय धनकुटामा यसअघि नै वेश क्यामले बुझाएको थियो। काठ बुझाए पनि काठ तस्करीमा प्रयोग भएको सशस्त्र प्रहरीको गाडी भने पकली स्थित बाहिनीमा पु¥याइएको थियो। वन कार्यालय धनकुटाले अनुसन्धानको क्रममा काठ बोक्न प्रयोग भएको सशस्त्र प्रहरीको उक्त गाडी पनि जिल्ला वन कार्यलयमा झिकाएको छ। सहायक वन अधिकृत ठाकुरले अनुसन्धानको क्रममा काठ तस्करीमा संलग्न चैनपुर स्थित अरुण गुल्मका गाडी चालक प्रहरी जवान गत श्रावण २३ गते जिल्ला वन कार्यालय धनकुटाका उपस्थित भएको बताए। उनलाई सरकारी वकिल कार्यालयमार्फत फिराद पत्र दायर गरी आवश्याक कानुनी कारबाही भइरहेको अनुसन्धान अधिकृत ठाकुरले बताए।

त्यसैगरी काठ तस्करीमा संलग्न भनी आरोपित अरुण गुल्ममा कार्यरत सशस्त्र प्रहरीका जवान विनोद कट्टेल र मिलन कुमार राई भने सोमबार जिल्ला वन कार्यालय धनकुटामा हाजिर भएका छन्। उनीहरुलाई सोमबार नै जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको अनुसन्धान अधिकृत ठाकुरले जानकारी दिए।

उनीहरु दुवैलाई मंगलबार फिराद पत्र तयार गरेर अदालतमा म्याद थप गरेर मुद्धा दायर गरि आवश्याक अनुशन्धान गरिने ठाकुरले बताए। सोमवार जिल्ला वन कार्यालय धनकुटामा हाजिर भएका दुई जवान भने तत्कालीन समयमा आफूहरु घर बिदा लिएको र काठ तस्करीमा संलग्नता नरहेको जनाएका छन्। उनीहरुले घर जाने क्रममा त्यो गाडीमा चढेर आएको बताए।

पटक-पटक ताकेता गर्दा पनि उपस्थित भएनन् डिएसपी भण्डारी

काठ तसकरीमा संलग्न भनिएका अरुण गुल्मका सशस्त्र प्रहरीका डिएसपी भण्डारी भने हालसम्म जिल्ला वन कार्यालय धनकुटामा उपस्थित नभएको बताइएको छ। 'पकलीस्थित बाहिनीमा र गृह मन्त्रालयमा समेत पटक-पटक डिएसपी भण्डारीलाई उपस्थिति गराउनको लागि पत्रचार गर्दासमेत उपस्थिति हुनुभएको छैन।'

वन कार्यालयका अनुसन्धान अधिकृत ठाकुरले भने, 'जिल्ला वन कार्यालयमा हाजिर हुन पटक-पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि सोझै फोन गर्दा पनि भण्डारीले गृह मन्त्रालयको कारबाहीमा रहेको बताउने गर्नुभएको छ।' गृहमन्त्रालयले भने डिएसपी भण्डारीलाई भने भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सशस्त्र प्रहरीको ऐनअनुसार कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर धनकुटा नं.६ गुल्मका गुल्मपति बालकृष्ण श्रेष्ठले सोमवार हाजिर भएका कट्टेल र राई भने सो घटनामा संलग्न नरहेको बताएका छन्। गुल्मपति श्रेष्ठले नै आरोपित जवान दुई जनालाई सोमबार जिल्ला वन कार्यालय धनकुटामा हाजिर गराएका हुन्। तस्करीमा संलग्न मुख्य भनिएका डिएसपी रामप्रसाद भण्डारी, गाडी चालक दीपेन्द्रकुमार कर्माकार र अन्य २ जना जवानलाई वन ऐन २०४९ अनुसार कारबाही हुने अनुसन्धान अधिकृत ठाकुरले बताए।

अवैध ढंगले तस्करी गरेको सखुवाको काठ ९२ दशमलब ९८ क्युफिट रहेको जिल्ला वन अधिकृत कृष्णप्रसाद बस्तीले जानकारी दिए। सरकारी मूल्यमा प्रतिक्युफिट न्यूनतम ८ सयको दरले भए पनि जिम्मा लगाइएको काठको बजार मूल्य भने ६ लाखभन्दा बढी हुने बताइएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.