|

लमजुङ : कहिले उकालो, कहिले सम्म, खोल्सा-खोल्सी, जंगल क्षेत्र, जुकासँग पैंठेजोरी खेलेर लड्दै धेरैजसो उकालो, थोरैजसो सम्म, परेको भुभाग पार गर्दै गएपछि हिमालको काखमा कुण्डको दर्शन गर्न पाइन्छ। लमजुङ सदरमुकाम बेसी शहरबाट पैदलयात्रा गरेपछि खर्कमा बास बस्दै लगातार तीन दिनको हिडाइँपछि समुन्द्री सतहदेखि चारहजार ७०० मिटर उचाइमा अवस्थित दूधपोखरी कुण्ड स्पर्स गर्न सकिन्छ।

हिउँ नपर्ने, जाडो कम हुने मौसम, बनेली फूलहरू नफुल्ने महिना र खासगरी जनैपूर्णिमाको दिन श्रद्धालु भक्तजन, तीर्थालु र पर्यटक दूधपोखरी कुण्डलाई साक्षी राखेर भाकल पूरा गर्छन्। भदौको गर्मी महिना भए पनि लुगलुग काप्ने चिसो धरालतमा अवस्थित दूधपोखरी कुण्ड प्रचारप्रसार र प्रवर्द्धनको अभावले ओझेलमा परेको पर्यटकीय, ऐतिहासिक र प्रशिद्ध धार्मिक नमुनास्थल भएकाले विशेष गरी हरेक जनै पूर्णिमाको दिन कुण्डमा नुहाएर जलदेवीको पूजा र प्रार्थना गरे आफूले चिताएको भाकल पूरा हुने तीर्थयात्री कालीमाया गुरुङले बताइन्।

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका-१ मा रहेको दूधपोखरी कुण्ड लमजुङ, कास्की र मनाङको सिमानमा अवस्थित छ। वर्षको एकचोटी जनैपूर्णिमाको दिन विशेष गरी तीन जिल्लाका तीर्थालुहरूको जम्काभेट गर्ने पवित्र धार्मिक स्थल दूधपोखरी कुण्ड बनेको छ। टाढा रहेका र भेटै नभएका आफन्तसँग भेट हुन मनकामना गरेमा स्वयं आफन्त भेट नभए पनि छिमेकी भेट हुने हुँदा हाल खवर थाहा हुने, माया र श्रद्धा बढ्ने वडा १ का वडा अध्यक्ष रुद्रमान गुरुङले बताए, ‘दूधपोखरी कुण्डमा कुनै मन्दिर छैन।

भक्तजनले पोखरी छेउमा पूजा गर्ने, गह्रा काट्ने, परेवा उडाउने गर्दछन्।’ वडा अध्यक्ष गुरुङका अनुसार दूधपोखरी कुण्डका लागि स्थानीय स्तरबाट केही पनि भएको छैन। विकासका लागि विनियोजन भएको बजेट भौतिक निर्माण र पूर्वाधारको विकासको नाममा खर्च हुने गर्दछ। विछोड र पीडामा रहेका परिवारहरू पुर्नमिलन र स्वच्छ सम्बन्धको कामना गर्दै दूधपोखरी कुण्डमा स्नान गर्ने र आफूले चाहेको फल सो दिन मागे पुरा हुने विश्वास रहेको छ।

जनैपूर्णिमाको दिन मेला भर्न आउने आन्तरिक र बाह्य पर्यटकको निकै घुइँचो लाग्ने भएकोले मानवविहीन वस्ती दूधपोखरी क्षेत्रको चहलपहल बढ्ने गर्दछ। हुन पनि यो क्षेत्रमा मानववस्ती नै छैन। यातायात र सञ्चारको पहुँच पुगेको छैन। जसले गर्दा सहज रुपमा दूधपोखरी कुण्डमा पुग्न पनि सोचेजस्तो छैन। अग्लो स्थानमा अवस्थित कुण्ड भएको कारण स्वासप्रस्वासमा बाधा पुग्ने, लेक लाग्ने, चक्कर लाग्ने, बिसन्चो हुने जस्ता लक्षणहरू देखा पर्ने गर्दछ। तीर्थयात्री र पर्यटकहरू पूर्व तयारी भएर मात्रै यात्रा गर्ने गर्दछन्।

दूधपोखरी कुण्डको पहुँचमार्ग सहज नभए पनि मानिसहरू धर्मका लागि कुण्डमा गएर नुहाएमा आफ्नो मनोकांक्षा पूरा हुने र आफूले गरेको पाप नष्ट भई पुण्य प्राप्ति हुने जनविश्वास रहेको मर्स्याङदी गाउँ पालिका-३ सिउरुङका बुद्धिजीवी बखतबहादुर गुरुङले बताए। उनले भने, ‘पदमार्गको सहज व्यवस्था नहुँदा पैदल यात्रीलाई निकै कठिन भएको छ। लामो यात्राको क्रममा ठाउँठाउँमा धर्मशाला, ठाँटी, खानेपानी अभाव भएकाले पर्यटकलाई समस्या भएको छ।’

दूधपोखरी कुण्डको मुख्य पहुँच मार्गनजिक रहेको मानववस्ती लमजुङको पर्यटकीय गाउँ सिउरुङ, घनपोखरा, ताघ्रिङ, कास्कीको सिक्लेस र मनाङको तिमाङ हो। कुण्ड नजिकबाट जडिबुटीको जंगल थोरुजु लेक, कालो पोखरी, बांगे खोलाजस्ता तालतलैया, विभिन्न हिमश्रृंखलाको पनि अवलोकन गर्ने सकिन्छ। पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने मर्स्याङदी गापा-१ घनपोखराका  स्थानीय कमल गुरुङले बताए, ‘नयाँ रुटहरूमा पदमार्ग, क्याम्पसाइट, पदचिन्न स्थानीयवासीमा पर्यटकमैत्री शिक्षा कमी छ।’ उनका अनुसार स्थानीयले दुई वर्षअघि घनपोखराबाट आधा आधीसम्म पदमार्ग सहज बनाएका थिए।

पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार गर्न सके अन्य समयमा पनि पर्यटक आवागमनमा बृद्धि हुने देखिन्छ। दूधपोखरीसम्म पुग्न अव्यवस्थित पदमार्ग, खानेपानी र धर्मशाला अहिलेको मुख्य चुनौति बनेको देखिन्छ। धर्मशाला र ठाँटीको अभावले पर्यटकहरू भैंसीगोठ, भेंडीगोठ र गोठालाको साथमा रात बिताउनु परेको छ। विजुली र सञ्चार सेवा अझ टाढाको विषय हो।

अहिलेको सञ्चारको युगमा मोवाइल टावरसम्म नहुँदा पर्यटकहरूलाई असहज भएको छ। दूधपोखरी कुण्ड धार्मिक, सांस्कृतिक, प्राकृतिक र सामाजिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ। धेरै विशेषताले भरिपूर्ण भए पनि यस स्थानको विकास रप्रवर्द्धनमा सरकारी नजर ओझेलमा परेको छ।

लमजुङ र मनाङको सिमाना भएर बग्ने म्यार्दी खोलाको मुहान समेत रहेको दूधपोखरी कुण्ड संरक्षणका लागि सरकारी निकायको ध्यान पुगेको देखिदैन। नत स्थानीय सरकारको नै पहल छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी कुण्ड संरक्षण, प्रवर्द्धन र प्रचार प्रसार गर्न सके पर्यटनको क्षेत्रमा लमजुङको विकासका लागि एउटा इट्टा थप हुने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.