|

पर्सा : इतिहासका भूल्नै नसकिने विरासत बोकेका ठाउँहरूमध्ये नेपालको पर्सागढी पनि एक हो। तर यसको नाम कमै नेपालीले मात्र नसुनेको हुनुपर्छ, जुन ठाउँमा सन् १८७१ मा ब्रिटिस (अंग्रेज) सेनालाई नेपाली भूमिमा घुँडा टेकाएर नेपाल कब्जा गर्न नदिई पछाडि फर्कन बाध्य पारिएको इतिहास छ। इतिहासको त्यो गौरव बोकेको पर्सागढी मुलुकको पछिल्लो संरचनाअनुसार पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये एउटाको नाम जुराउने बलियो आधार बनेको छ। त्यही पर्सागढीबाट पर्सागढी नगरपालिका नामाकरण गरिएको स्थानीय तह पर्सा वन्यजन्तु आरक्षसँग पनि जोडिएको छ। 

संयोग पनि यो नगरपालिकाको त्यस्तै जुरेको छ, जुन ब्रिटिस सेनासँग भिड्दा संयुक्त रूपमा मिलेर लडेका चैनपुर, हरपुर, जिङ्गना, बागवाना, बिरुवा र वक्नेर्वा अथवा साविकका हरपुर, पचरुखी, बागवना, बिरुवागुठी र बागेश्वरी तित्रौना गाविसको एकीकृत भूगोल नै हालको पर्सागढी नगरपालिकाको समग्र भूगोल हो। मुलुकका कान्छा नगरपालिकाहरूमध्येको यस नगरपालिकाको पूर्वमा वीरगंज महानगरपालिका, पश्चिममा सखुवाप्रसौनी गाउँपालिका, उत्तरमा पर्सा वन्यजन्तु आरक्ष र दक्षिणमा बहुदरमाई नगरपालिका छन्। नगरपालिकाको वरिपरिको कुल दूरी ९९.६६ किलोमिटर रहेको छ। 

राष्ट्रिय जनगणना २०६८ अनुसार ३९ हजार ८०० कुल जनसंख्या रहेको यस नगरपालिकाको मतदाता संख्या भने १७ हजार ५०० छ। स्थानीय तहको गत निर्वाचनमा यस नगरमा तीन हजार ९६५ मत ल्याई तत्कालीन एमालेका उम्मेदवारलाई ६७ मतले पछि पार्दै नेपाली कांग्रेसको तर्फबाट लोकनारायण यादव पहिलो नगर प्रमुख बनेका छन्। उनै नगर प्रमुख लोकनारायण यादवको एक वर्षको कामको अनुभव र नगरको समृद्धिका लागि नयाँ योजनाहरूलगायतका विषयहरूमा केन्द्रित रहेर थाहाखबरकर्मी तुलसी भण्डारीले यादवसँगगरेको कुराकानी प्रस्तुत छ।

ऐतिहासिक गरिमा बोकेको नगरपालिकाको नेतृत्व सम्हाल्ने पहिलो अवसरको एक वर्षे अनुभव कस्तो रह्यो ?

तिलावे र सिंगाही नदीको बीचमा पर्ने यस नगरपालिकाको भूगोल, जहाँ राँगा-भैँसीको सिङमा राँको बालेर पाँचै गाउँका मानिसले चारैतिरबाट घेरा हाली जनावरको साथले समेत ब्रिटिस  सेना परास्त गरेको इतिहास छ। यस्तो एेतिहासिक भूगोल समेटिएको पर्सागढी नगरपालिकाको नेतृत्वमा पुग्दा जति सन्तुष्ट थिएँ, त्यसअनुसार तीव्र गतिमा काम हुन नसकेकामा भने आफैँलाई सन्तुष्ट हुन सकेको छैन। तर नयाँ संरचना संचालनका लागि नयाँ नीति बनाउनुपर्ने नगरको समृद्धिको आधार तयार गर्ने काम भने धेरै गरिएको छ। तर सोचेजस्तो कामको प्रतिफल बाहिर देख्नेगरी भने हुन सकेको छैन। 

जनतासामु गरेका प्रतिवद्धता जस्तो सजिलो हुँदो रहेनछ र काम गर्न? 

स्वभावैले जनता सामु प्रतिबद्धता गर्दा जति सहज हुन्छ, काम गर्ने सवालमा त्यस्तो सहज हुँदैन। चुनौतीपूर्ण छ। त्यसमा पनि राज्यका नीति नियम समय सापेक्ष नहुँदा तीव्र विकासको अपेक्षा गरेका जनताको भावनाअनुसार काम हुन नसकेको देशभरिकै अवस्था छ। तथापि, जति काम गरिएका छन्। त्यसले अझ काम गर्ने प्रेरणा मिलेको छ। जनताले पनि भएका कामहरूमा साथ दिनुभएको छ। उहाँहरूको साथले निर्वाचनका प्रतिबद्धता पूरा गर्नेमा कत्ति पनि विचलित भएको छैन। 

हालसम्म जनताले देखिने केके काम गर्नुभएको छ? 

गत असोजको पहिलो साता निर्वाचनको परिणाम आए पनि तत्काल कुनै काम गर्ने नीतिगत आधार थिएन। गत चैतमा नगरपरिषद् सम्पन्न भएपछि मात्र कामले गति लिएको हो। नगर क्षेत्रका कृषकहरूको आत्मनिर्भरताका लागि मत्स्यपालन व्यवसाय गर्न २५ हेक्टर जमिनमा माछापोखरी खनिएको छ। त्यसमा प्रतिहेक्टर तीन लाखको दरले कृषकलाई अनुदान दिने तयारी भइरहेको छ। नगरबासीको चेतनास्तर वृद्धिका लागि विभिन्न गोष्ठी तथा तालिमहरू दिइएको छ।

पर्सा वन्यजन्तु आरक्ष र कोइलाभार जंगलसम्म पर्यटक पुर्‍याउने, किसानहरूको हितका लागि आधुनिक कृषि प्रविधिलाई बढावा दिने, माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउने, यसको अलावा पर्सागढी नगरपालिकामा जडिबुटी खेतीलाई उच्च प्राथमिकतामा राखेर जिल्लाकै नमुना स्थानीय तह बनाउने लक्ष्य लिएको छु।

पहिले हिँड्नै नसकिने खालका पाँच-छ वटा सडकमा ग्राभेलिङ गरी वर्षातमा पनि हिँड्न सक्ने बनाइएको छ। यसको अलावा नगर क्षेत्रभित्र भेडाहा खोला हुँदै अगाडि जाने जनता सडक, थरूहट सडक, गण्डकबाट नगरपालिकातर्फ जाने रामपुर-हर्दिया-पचरुखी सडक, डोकैलाबाट हरपुर मनवा सडक र हरपुरदेखि टिकुलियासम्मका जिल्ला लेबलका पाँचवटा सडकको गुरु योजना बनाइराखेका छौँ। निर्माणभन्दा पनि सफ्टवेयरका काम बढी भएका छन्। योजनामा परेका कामहरू असार १ मा खोलाबाट बालुवा झिक्ने काम बन्द भएकाले खासै गर्न पाइएको छैन। आगामी असोज २ बाट खोला फुक्का भएपछि निर्माणका काम भटाभट गर्ने योजना छ।

नगरको समृद्धिका लागि तपाईंका खास योजना के छन्? 

सर्वप्रथम त मुलुक र मुलुकबाहिरबाट पनि पर्यटक भित्र्याई आम्दानीको गतिलो आधार बनाउन ऐतिहासिक पर्सागढीको निर्माण र प्रचार प्रसार गर्ने, पर्सा वन्यजन्तु आरक्ष र कोइलाभार जंगलसम्म पर्यटक पुर्‍याउने, किसानहरूको हितका लागि आधुनिक कृषि प्रविधिलाई बढावा दिने, माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउने, यसको अलावा पर्सागढी नगरपालिकामा जडिबुटी खेतीलाई उच्च प्राथमिकतामा राखेर जिल्लाकै नमुना स्थानीय तह बनाउने लक्ष्य लिएको छु। त्यसैगरी शिक्षा र स्वास्थ्यमा पनि नगरबासीले अरू क्षेत्रको पूर्ण भर पर्नुपर्ने अवस्था नआउने गरी पूर्वाधारलाई भरपर्दो बनाउँदै जाने नगरपालिकाले रणनीति बनाएको छ। 

काम गर्ने क्रममा खास चुनौती केके पाउनुभयो?  

अहिले काम गर्ने क्रममा सबैभन्दा असजिलो नीतिगत कमजोरी नै छ। प्रदेश र संघको नीतिगत पर्याप्तता तथा ऐन कानुनको पूर्णता भई नसक्दा कामको तीव्रता हुन सकेको छैन। कहिले प्रदेशको ऐन कानुनले व्यवधान खडा हुन्छ भने कहिले संघको ऐन कानुनले पनि अड्चन आइपर्ने गरेको छ। नयाँ व्यवस्था लागू भएपछिको पहिलो सरकार भएका कारणले पनि तलदेखि माथिसम्म नीतिगत कमी कमजोरीबाट काममा असहज भएको महसुस भइरहेको छ।

शिक्षा, स्वास्थ्यमा मधेसका अधिकांश स्थानीय तह मानव सूचकांकमा निकै पछि छन्। तपाईंले नेतृत्व गरेको नगरपालिकाको अवस्था चाहिँ के छ? 

सूचकांकको आधारमा अहिले नै पर्सागढी नगरपालिका पनि पछि छैन भन्ने त होइन तथापि अहिले त्यो अवस्था यो नगरको नहोस् भनी अहिलेसम्म जिल्लाकै पहिलो पूर्ण खोप नगर घोषणा भइसकेको छ। पाँचवटा स्वास्थ्य चौकीमध्ये दुईवटामा बर्थिङ सेन्टर छन्। बाँकी तीन वटामा पनि तत्काल बर्थिङ सेवा संचालन गर्न क्षमता विस्तार गर्न गइरहेका छौँ। स्वस्थ्यलाई ख्याल नगरी रोगी भएर रोग निको पार्ने क्रममा हुने खर्च स्वस्थ्य भए गर्नै नपर्ने वातावरण सिर्जना गरी बालबालिकाका भविष्यलाई ख्याल गरी आगामी असार महिनाभित्र प्रदेश २ कै प्रथम बालमैत्री नगर घोषणा गर्ने तयारी पनि गरिरहेका छौँ।

त्यसैगरी शिक्षा स्वास्थ्यमा रूपान्तरण नभए विकासको गति ठोस रूपमा अगाडि बढ्न सकिँदैन भनी नगरभित्र रहेका ३० वटा विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई नियमित विद्यालय जाने वातावरण सिर्जना गर्दै छौँ। गर्मीमा पढाइमा असर नहोस् भनी सबै विद्यालयका सबै कक्षा कोठामा पंखाको व्यवस्था गरेका छौँ। नरगको सरसफाइ र नगरबासीको स्वास्थ्यको ख्याल गरी आगामी कात्तिकसम्म खुला दिसामुक्त नगरपालिका घोषणा गर्ने अभियान पनि तीव्र रूपमा संचालन गरिरहेका छौँ।

स्थानीय करको दरले देशै रन्थनिएको समयमा तपाईंको नगरपालिकाको कर नीतिको अवस्था के छ? 

हामीले विगतको करको दरमा कुनै पनि बढोत्तरी गरेका छैनौँ। जन्म, मृत्यु, विवाह दर्ता जस्ता जनसरोकारका कुनै पनि शीर्षकमा शून्य दरमा काम गर्दै आएका छौँ। यो सुविधा अझ बढी नागरिकले लिऊन् भनी ३५ दिनभित्र यस्ता कुरामा ख्याल नगर्ने मानिसका लागि मात्र सानो जरिवानाको दायरा राखेका छौँ। अरू स्थानीय तहमा के हुन्छ, हामीलाई मतलब छैन तर हामीले हाम्रो नगरपालिकामा भने कर बढाएर जनतालाई आहत पार्ने काम गर्दैनौँ।

त्यसो भए पर्सागढी नगरपालिकाको मुख्य आम्दानीको स्रोत के हो त? 

पर्सागढी नगरपालिकाको मुख्य आम्दानीको स्रोत नै पर्यटन हुनेछ। ऐतिहासिक महत्त्व बोकेको यस नगरको वास्तविक पहिचान झल्काउन ब्रिटिस सेना पराजित गर्दा अपनाइएका विधिलाई प्रतीकात्मक रूप दिई नेपालका मात्र नभएर विदेशी पर्यटकसमेत यस नगरमा ल्याउने पयत्न गर्दै छौँ। यसका साथै नगरभित्र रहेका अरू पनि पर्यटकीय स्थलहरूलाई अझ परिस्कृत गरी पर्यटकका लागि गतिलो गन्तव्य बनाई आम्दानीको प्रमुख आधार पनि पर्यटनलाई बनाउने लक्ष्यमा छौँ। कृषिको अपार भूसतहलाई उपभोग गरी जडिबुटी र अन्य कृषि उत्पादन तथा पशुपालनबाट गतिलो आन्दानी गरी नगरलाई समृद्ध बनाउने पक्षमा छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.