|

२०७० वैशाख २५ गते लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नियुक्त गर्न प्रमुख भूमिका खेल्नेमध्येका एक थिए- एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल। तर अहिले कार्कीलाई महाभियोग लगाउन दर्ता गरिएको प्रस्तावमा एमाले वरिष्ठ नेता खनाल आफैले हस्ताक्षर गरेका छन्। आफूसमेतको समर्थनमा नियुक्त गरेका कार्कीलाई महाभियोग लगाउनुपर्ने अवस्था कसरी आयो भनेर खनाललाई थाहाखबरकी देविका घर्ती मगरले सोधिकी छन्।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि हतारहतार महाभियोग लगाउनुपर्ने अवस्था कसरी आयो? 

कुनै पनि कुरा अचानक हुदैन। हरेक कुराको प्रक्रिया हुन्छ। त्यसको जन्म हुन्छ, त्यसको विकासक्रम हुन्छ र त्यसको अन्त्य हुन्छ। यसरी नै लोकमानमाथि महाभियोग प्रस्ताव आउने पनि एउटा पृष्ठभूमि छ। हामीले लोकमानजीलाई एउटा अत्यन्त महत्वपूर्ण, गरिमामय पदमा नियुक्त गरेका थियौं। त्यतिबेला नेकपा एमालेको अध्यक्ष म नै थिएँ। हामीले नै उहाँलाई नियुक्त गरेको हो। 

उहाँप्रति हाम्रो अपेक्षा ज्यादै ठूलो थियो। देशमा हुने कुनै पनि प्रकारका अनियमितताहरु अन्त्य होलान्, भ्रष्टाचार अन्त्य होला र अख्तियार गरिमामय संस्थाको रुपमा स्थापित होला भन्‍ने हाम्रो अपेक्षा थियो। तर उहाँले त्यसको विपरीत कामहरु गर्दै जानुभयो। अख्तियार सम्मानित, मर्यादित संस्थाको रुपमा विकसित होला भन्‍नुको सट्टा आतंक फैलाउने, विभिन्‍न व्यक्तिहरुलाई अनावश्यक रुपले ठग्‍ने खालका काम समेत भयो। जसले गर्दा अख्तियारको प्रतिष्ठामा आँच आयो। संविधानले जुन प्रकारको सुशासन हुनुपर्छ भन्‍ने कुरा गरेको छ, ती कुराहरु हुन सकेनन्। त्यसले गर्दा यो प्रस्ताव ल्याउनुपर्‍यो।

त्यतिबेला विवाद हुँदाहुँदै पनि उनको नियुक्तिका लागि तपाईं पनि राजी हुनुभयो। नियुक्त गर्नैपर्ने त्यस्तो दवाव तपाईँहरुलाई के थियो?  

लोकमानजीका बारेमा त्यतिबेला विभिन्‍न प्रकारका टिप्पणी नआएका होइनन्। टिप्पणी आउँदा आउँदै पनि मुख्य ३ दलकाबीचमा विभिन्‍न कारणले सहमति भयो। मुख्य दलका नेताहरुले नै प्रस्ताव गर्नुभयो र सबैको बिचमा छलफल हुदा एउटा सहमति बन्‍ने स्थिति बन्यो। यद्यपि म अन्तिमसम्म पनि सहमत थिइनँ।

तर सबै दलका नेता सहमत भएपछि ठिकै छ उहाँको काममा हेरौं न त भनेर, उहाँहरु सबैले योग्य ठहराएको व्यक्ति साँच्चै नै योग्य देखिनुभयो र राम्रो काम गर्नुभयो, अख्तियारलाई राम्ररी स्थापित गर्नुभयो, देशबाट धुलोमैलो बढार्ने, विकृति विसंगति बढार्ने राम्रो काममा राम्रो काम गर्नुभयो भने ठिकै छ भनेर हामीले पनि सहमति जनाएका हौँ र उहाँको नियुक्ति भएको हो। तर त्यतिबेला हामीले जे शंका गरेका थियौं, कैयौँ साथीहरुबाट जे शंका गरिएका थिए, त्यो शंका सत्य साबित भयो। 

तत्कालीन समयमा प्रधान सेनापति रुक्माङ्गद कटवाल बर्खास्त गर्न पहिले समर्थन जनाएर नेकपा एमाले पछि ब्याक भएको थियो। लोकमान प्रकरणमा त्यस्तो हुने सम्भावना कत्तिको छ? 

यो घटनालाई अरु कुनै पनि घटनासँग जोड्न मिल्दैन। यो नितान्त कुनै घटनासँग जोडिने विषय होइन। घटनाहरु स्वतन्त्ररुपमा घट्ने गर्छन र यो घटना पनि स्वतन्त्र घटना हो। यसलाई अरु कसैसँग जोडिदैन। 

नेकपा एमाले र माओवादीका कतिपय नेतालाई मुद्दा लगाउन अख्तियार प्रमुख कार्कीले तयारी गरेको थाहा पाएपछि रातारात महाभियोग प्रस्तावमा सहमति बनेको चर्चा छ नि? 

त्यस्तो चर्चा चलाउनेहरु बुद्धिमान मान्छे होइनन्। बुद्धिमान मान्छेबाट यो चर्चा चलेर आएको छैन। यो प्रतिशोधको राजनीति हो। बरु अख्तियार प्रमुखले आफ्ना काम, क्रियाकलापहरु सम्पादन गर्दा विभिन्‍न ढंगले प्रतिशोध साँध्‍ने, विभिन्‍न व्यक्तिहरुलाई आतंकित गर्ने, ठग्‍ने जस्ता कामहरु हुन पुगे। सुरक्षा निकाय समेत आतंकित भएर हिँड्नुपर्ने अवस्था बन्यो। यसले गर्दा यो प्रस्ताव आएको हो। 

नेकपा एमालेले अहिलेको सत्ता समीकरण भत्काउन महाभियोग प्रस्ताव अगाडि सार्‍यो भनेर कांग्रेसका नेताहरु बोलिरहेका छन् नि? 

सत्ता समीकरणसँग पनि यो विषयको सम्बन्ध छैन। मुलुकमा सुशासन स्थापित हुनुपर्दछ, भ्रष्टाचार निवाण हुनुपर्छ, फोहोरमैला, विकार विकृतिहरु बढारिनुपर्छ। त्यो सबभन्दा माथिबाटै नियन्त्रित हुनुपर्दछ। अख्तियारबाटै नियन्त्रित हुनुपर्दछ। अख्तियारमा भएका मान्छेहरुले एकदमै निट एन्ड क्लिन भएर काम गर्नुपर्दछ भन्‍ने भावनाबाट यो महाभियोग प्रस्ताव आएको हो। लोकमानजीले थपक्क राजीनामा गरेर हिँड्नु राम्रो हुन्छ। उहाँले अब के गर्नुहुन्छ हेर्नुपर्छ। 

महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका कतिपय सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको टिप्पणी गरेका छन्। त्यस्तो किन भयो?

त्यस्तो गरेको त मलाई थाहा छैन। को सांसदले गर्नुभयो र त्यस्तो? कसैलाई झुक्याएर गरेको जस्तो त लाग्दैन मलाई। हाम्रो पार्टीले त्यसो गरेको छैन। अरु पार्टीको जिम्मा हामीले लिन सक्दैनौं। नेकपा एमालेका जतिपनि सांसदहरुले हस्ताक्षर गर्नुभएको छ उहाँहरु सबैले एकदमै सचेत भएर जानिबुझिकन आफ्नो कर्तव्य सम्झेर हस्ताक्षर गर्नुभएको छ। अरु कसैको त्यस्तो भए हामीलाई थाहा भएन। 

महाभियोग प्रस्तावबारे नेपाली कांग्रेस अनिर्णित छ। आफूसँग सल्लाह नै नभएको पनि उसको गुनासो छ। प्रमुख तीन दलबीच सहमति नभए दुई तिहाई पुग्दैन भन्ने तपाईँहरुलाई थाहै थियो। किन हतार गर्नुभयो? 

प्रमुख तीन दल एमाले, माअाेवादी केन्द्र र कांग्रेसका नेताहरुबीचमा छलफल भइकन एकखालको सहमति भएर यो प्रस्ताव आएको हो। अलग अलग बसेर छलफल गरेर एउटा सहमति बन्यो। यसरी यो प्रक्रियाको थालनी भएको हो। यो प्रस्तावको विपक्षमा त कोही जानै सक्दैन। यो यस्तो प्रस्ताव आएको छ जसलाई हामी कसैले यस्तो प्रस्ताव ल्याउनुपर्ला भनेर सोचेकै थिएनौँ। परिस्थितिले यो विन्दुमा मुलुकलाई ल्याइपुर्‍यायो। यसकारणले यो प्रस्तावका विरुद्धमा कोही जानै सक्दैन। सबैले समर्थन गर्छन् र गर्नैपर्छ। त्यो नेपाली कांग्रेसले पनि गर्छ र अरुले पनि गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.