|
फाइल तस्बिर

बुटवल : म्यानमारका राष्ट्रपति विन मिन्त बुधबार बिहान बुद्धजन्मस्थल लुम्बिनी आउँदैछन्। काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्त लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। बौद्धमार्गीहरूको बाहुल्यता रहेको म्यानमारबाट लुम्बिनीमा गत वर्ष २१ हजारभन्दा बढी पर्यटक आएका थिए।

बौद्धमार्गीको महत्वपूर्ण स्थल लुम्बिनी आउने म्यानमारका राष्ट्रपतिको स्वागतका लागि लुम्बिनी विकास कोषले लुम्बिनीलाई झकिझकाउ पारेको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि राष्ट्रिय झण्डा, बौद्ध झण्डासहित ध्वजापताकाले सजाइएको छ भने पैदलमार्ग चिटिक्क पारिएको छ। राष्ट्रपति मिन्त बिहान साढे ९ बजे काठमाडौँबाट चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिएर हेलिकाेप्टरमार्फत लुम्बिनी जाने कार्यक्रम रहेको जनाइएको छ। 

२८ सदस्यीय टोलीसहित आउने राष्ट्रपति मिन्तलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले स्वागत गर्ने छन्। त्यसपछि राष्ट्रपति मिन्तले मायादेवी मन्दिरमा १० मिनेट दर्शन र प्रार्थनामा बिताउने छन्। प्रार्थनापछि लुम्बिनी गुरुयोजनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ। 

छोटो औपचारिक कार्यक्रमपछि लुम्बिनीमा म्यानमार सरकारले बनाएका गुम्बा र बिहारको अवलोकन गरेर होटल कासाईमा खाना खाने कार्यक्रम तय भएको छ। केहीबेर आराम गरेपछि मिन्त काठमाडौं फर्किने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए। 

सुरक्षामा कमाण्डो फोर्स 

म्यानमारका राष्ट्रपति मिन्तको सुरक्षामा नेपाली सेनाको कमाण्डो फोर्स खटिने छ। अति विशिष्ट पाहुनाको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ। त्यसका लागि सेनाले केही दिनदेखि नै व्यवस्थापन गरिरहेको छ।

राष्ट्रपति मिन्तलाई नेपाली सेनाका मेजरको नेतृत्वमा १५ जनाको फोर्सले सुरक्षा दिने छ। सुरक्षा चुस्त बनाउन सुरक्षा टोलीले मंगलबार लुम्बिनीमा रिहर्सल समेत गरिसकेको छ। 

सीमामा कडाइ 

लुम्बिनीमा भिभिआइपीको भ्रमण हुने भएपछि रुपन्देहीको सीमानाकामा पनि कडाइ गरिएको छ। अतिविशिष्ट पाहुनाको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।

सुरक्षाका लागि सरकारका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। भैरहवा क्षेत्रको सिमानाका बेलहिया र लुम्बिनी क्षेत्रका सिमानाकाबाट आवातजावत गर्ने व्यक्तिहरुमाथि प्रशासनले निगरानी बढाएको जनाएको छ।  

सर्वसाधारणलाई प्रवेश निषेध

बुधबार बिहान साढे ८ बजेदेखि भैरहवा विमानस्थलदेखि लुम्बिनीसम्मको क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। अति विशिष्ट पाहुनाको सुरक्षामा कमी आउन सक्ने भन्दै सवारी साधन र सर्वसाधारणलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए। यस्तै, लुम्बिनीमा पनि बुधबार सर्वसाधारणले प्रवेश पाउने छैनन्। पाहुनाहरुको लुम्बिनी भ्रमणका समयमा सुरक्षाका लागि लुम्बिनीको गुरुयोजना क्षेत्र भित्र प्रवेशमा रोक लगाइएको हो। 

भैरहवाबाट हेलिकोप्टरमा लुम्बिनी 

राष्ट्रपति मिन्तको दम्पत्तिसहितको १२ जनाको टोली भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नेपाली सेनाको हेलिकाेप्टरबाट लुम्बिनी जाने छन्। जसका लागि नेपाली सेनाका दुईवटा हेलिकोप्टर भैरहवा आइसकेका छन्। २८ सदस्यीय टोलीका अरु सदस्यहरू भने सडकमार्ग भएर विशेष सुरक्षाका साथ लुम्बिनी पुग्ने व्यवस्था मिलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.