|

भद्रपुर : नेपाल-भारतको सीमावर्ती नाकामा नेपाली नक्कली नोटको कारोवार गर्ने गिरोह सक्रिय हुन थालेको छ। झापाको काँकडभिट्टा र भारतको पश्चिम बंगालस्थित पानीट्यांकी नाका जोडिएको सीमावर्ती बजारमा नेपाली नक्कली नोटको कारोबार हुन थालेकोले पछिल्लो समय काँकडभिट्टा 'ट्रान्जिट प्वइन्ट' बनेको छ।

नेपाल प्रहरी तथा भारतीय प्रहरीले नेपाली नक्कली नोट कारोबार गर्ने गिरोहमा आवद्ध केही व्यक्तिलाई अाठलाख ५० हजार नेपाली नक्कली नोटसहित पक्राउ गरे पनि गिरोहको जालोसम्म दुवै देशका प्रहरी अझै पुग्न सकेको छैन। यसको फाइदा उठाउँदै गिरोहमा आबद्ध समूहले नेपाली नक्कली नोट धमाधम नेपाली बजारमा भित्र्याउन थालेका छन्। 

प्रहरीले साउन २९ गते चेकजाँचको क्रममा भारतको सिलगुडीबाट ५० हजार नेपाली नक्कली नोट बोकेर आएका दुई भारतीय नागरिकलाई पक्राउ थियो। दुईजना पक्राउ परेका दुई सातापछि भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले सीमावर्ती बजार नक्सलबाडीबाट अाठ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित एक नेपालीभाषी नागरिकलाई सोमबार पक्राउ गरेको छ। 

काकँडभिट्टादेखि सीमावर्ती बजार नक्कसबाडीको दूरी ७ किलोमिटर रहेको छ। नेपाली नक्कली नोटसहित सीमावर्ती बजारमा यसरी भारतीय नागरिक पक्राउ पर्ने थालेपछि दुवै देशका प्रहरी अहिले खोज अनुसन्धानमा जुटेको छ। नेपाली नक्कली नोट भारतीय सीमावर्ती बजार क्षेत्रमै बन्ने गरेकाले त्यहीबाटै त्यस्ता नोटहरू नेपाली बजार भित्र्याउने गरेको स्रोतको भनाइ छ। 

घटना नम्बर १

पानीट्यांकी-काकँडभिट्टा नाकामा दैनिक चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले साउन २९ गते दिउँसो झोला बोकेका दुई जना भारतीय नागरिकलाई शंका लागि चेकजाँच गरेका थिए। मेचीनगर-६ स्थित भन्सार गेटअगाडि चेकजाँचको क्रममा उनीहरूसँग प्रहरीले ५० हजार नेपाली नोट फेला पारेपछि आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगेका थिए। 

भारत पश्चिम बंगला राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय शतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवालसँग फेला परेको नेपाली नोटको जाँच गर्दा उक्त नोट नक्कली भएको प्रमाणित भएको थियो। उनीहरू धुलावारी बजारबाट नेपाली नोट बोकेर भारतीय रुपैयाँमा साट्न काँकडभिट्टामा घुमिरहेका थिए। 

प्रहरीले सतिसको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामै राखेर अहिलेसम्म अनुसन्धान भइरहेको उनले बताए। 

घटना नम्बर २ 

काकँडभिट्टादेखि ७ किलोमिटर उत्तरमा पर्ने भारतको नक्सलबाडीबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ४१ बटालियनको टोलीले एउटा घरमा छापा मारेर अाठ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ। एसएसबीले नक्सलबाडी निवासी मनोज आचार्यलाई नक्कली नोटसहित पक्राउ गरेको हो। पक्राउ परेका आचार्य नेपालीभाषी नागरिक हुन्। एसएसबीले बरामद गरेको एक हजार दरका ८०० वटा नेपाली नक्कली नोटको प्रमाणित नेपाल प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। पक्राउ परेका आचार्यले दिएको बयानअनुसार उक्त नेपाली नोट भारतकै बागडोरमा पुर्‍याउनका लागि घरमा लुकाएर राखेको जनाइएको छ। 

यता पक्राउ परेका आचार्यलाई एसएसबीले नक्सलबाडी प्रहरीलाई जिम्मा लगाइसकेको एसएसबीका सहयाक सेनानायक प्रवीणकुमारले जानकारी दिए। उनले भारतीय सञ्चारमाध्यमलाई भने, ‘यसबारेमा पश्चिम बंगाल प्रहरीले थप अनुसन्धान गर्नेछ।’ 

रकम सटही गर्दा नक्कली नोट प्रयोग हुने आशंका !

भारतीय एसएसबीले अाठ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेपछि भारतीय सुरक्षाकर्मीले रकम साट्दा नक्कली नोटलाई त्यस माध्यमबाट प्रयोगमा ल्याउने गरेको आशंका व्यक्त गरेका छन्। भारतीय एसएसबीका सहायक सेनानायक प्रवीणकुमारले भारतीय सञ्चारमाध्यमलाई भने, ‘व्यापार तथा कारोबारका सिलसिलामा नेपालको नोट भारतीय रुपैयाँमा साटिन्छ। त्यस्तै भारतीय नोट पनि नेपाली रुपैयाँमा साटिन्छ। भारतीय नोट साट्ने बेला गिरोहका व्यक्तिले नक्कली नोट प्रयोग गर्न थालेको उनले आशंका व्यक्त गरे। यस सीमावर्ती नाकामा दैनिक करोड बढी रकम सटही हुने गरेको छ। 

के भन्छन् झापा प्रहरी ?

भारतीय नागरिक शतीश र हितेश नेपाली नक्कली नोटसहित पक्राउ परेपछि झापा प्रहरी उनीहरुबाटै अनुसन्धान सुरु गरेको छ। साउन २९ गते पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी प्रहरीले १५ दिनदेखि अनुसन्धान गरिरहेका छन्। दुवै जनाले धुलावारी बजारबाट उक्त रकम ल्याएको अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए। उनले भने,‘अहिलेसम्म गिरोह समक्ष पुग्न सकेका छैनौं। उनीहरूमाथि अनुसन्धान जारी छ।’ 

नक्कली नोट नेपालमा कहाँबाट आयो त्यसबारेमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ। यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पछिल्लो समयमा काकँडभिट्टा तथा सीमावर्ती बजार आसपासका क्षेत्रमा नक्कली नोट कारोबार गर्ने समूह सक्रिय रहेका छन्। ‘अहिलेसम्म दुई जना पक्राउ परे पनि गिरोहका व्यक्ति सम्म पुग्न सकेका छैनौँ’, उनले भने,‘चाँडै नक्कली नोटको कारोबारी गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले अनुसन्धानको पाटोलाई तीव्र बनाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.