|

पाल्पा : तानसेनको मुख्य बजार, बजारको बीचमा पिच सडक, हलमा नारिएका गोरु, एक हल गोरुले हलो तानिरहेका, एक हल गोरुले खोक लगाइरहेका थिए। पछाडि बाउसेले खेतको आली ताछिरहेका थिए साथमा रोपारले धान रोपिरहेका थिए। केहीले माछी जाल हानिरहेका थिए। जालमा माछा परेका थिए। पछिपछि पञ्चेबाजा घन्किएको थियो। सुरक्षासहित छाता ओढाइएका एक जना आइरहेको दृश्य।

बाजागाजासहित गरिएको रोपाइँ हेर्न वरिपरि दर्शकहरुको घुइँचो। सडक छेउमा रहेका घरको कौसी, झ्याल र घर अगाडिबाट मानिसहरुले कौतुहलताका साथ हेरिरहेका थिए। यो साँच्चिकै रोपाइ नभई रोपाइँ जात्रा थियो। पाल्पामा मनाइने विभिन्न जात्रामध्ये मंगलबार रोपाइ जात्रा निकालिएको हो। विगतका वर्षजस्तै यो वर्ष पनि असारे रोपाइँको झल्को दिने गरी रोपाइँ जात्रा निकालिएको हो।

गाउँबाट आएका किसानले तानसेन बजारभित्रका पिच सडकमा रोपाइँ गरेर शहरवासीलाई रोपाइँको झल्को मेटाइदिएका हुन्। पञ्चेबाजा र असारे भाकासहित प्रदर्शन गरिएको जात्रामा सहभागी किसानहरुले सडकमा धान रोप्ने, हल गोरुले जोत्ने, खोक लगाउने, बाउसेहरुले आली लगाउने, खन्ने, रोपारले सडकमा धान रोपेको अभिनय गरेका थिए। साहु महाजनले हली, बाउसे र रोपारलाई चर्को स्वरमा काम अह्राएको अभिनय गरेका थिए। खेतवाला साहु महाजनलाई छाता ओढाउनुका साथै साथमा सुरक्षा गार्डसहित हिडेका थिए। अगाडि पछाडि साहुमहाजनका सहयोगीहरु घोडमा चडेर हिडेको अभिनय पनि गरेका थिए। 

तानसेन–५ अर्चलेको टोल विकास समितिमा आवद्ध किसान रोपाइँ जात्रा देखाउँदै तानसेन बजारमा आएका थिए। शहरमै जन्मिएका, हुर्किएका र यहाँका विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई समेत रोपाइँबारे र धान उत्पादन कसरी हुन्छ भन्ने जानकारी दिन रोपाइँ जात्रा देखाउने गरिन्छ। 

रोपाइँमा जाने फुर्सद नपाएका शहरवासीलाई रोपाइँको झल्को दिने उद्देश्यले गाउँका किसानले तानसेन बजारमा रोपाइँ जात्रा देखाउने गरेको जात्रामा सहाभागी फणिन्द्र बस्यालले बताए। उनका अनुसार सांस्कृतिक महत्व बोकेको रोपाइँ जात्राको रौनकता भने पछिल्लो समयमा घट्दै गएको छ। 

करिव एक लाख खर्च लाग्ने रोपाइँ जात्रामा सरोकारवाला निकाय वास्ता नगर्दा यसको रौनक घट्दै गएको हो। २०१४ सालदेखि देखाइँदै आएको जात्रा संरक्षण गर्न सरोकारवाला निकायले चासो नदेखाएकोमा जात्रामा सहभागीहरुले गुनासो गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.