|

चितवन : दक्षिणी चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ। 

भदौ ७ मा वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दवस्तीका ५६ वर्षीय जितबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो। उकत बाघ समस्याग्रस्त भएर वस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। 

उनका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन्। बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ।

बाघलाई डाट गरेर बोहोस बनाई नियन्त्रणमा लिइन्छ। ‘बाघ वस्ती वरिपरि नै बसिरहेको छ,’ प्रमुख ढकालले भने, ‘मान्छे मारेपछि गोठको एउटा बाच्छी समेत खायो, त्यसपछि अहिले पाडो राखेर नियन्त्रण प्रयास जारी छ।’ उनका अनुसार मंगलबार नियन्त्रण गर्न लाग्दा बाघ फुत्किएको थियो। बुधबार बिहानैदेखि सो क्षेत्रमा बाघ नियन्त्रणका लागि टोली खटिएका छन्। 

यसअघि साउन २१ मा भरतपुर महानगरपालिका–२५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सशीला डुम्रेलाई बाघले मारेको थियो। त्यसपछि नियन्त्रणमा लिएको बाघ मरेको निकुञ्जले जनाएको छ। बाघ बुढो भएर मरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.