|

सोलुखुम्बु पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन्। निरन्तरको वर्षातका कारण भदौ १ गते घरको आगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिए।

विस्थापित हुनेमा स्थानिय सुब्बा थामी र सुक विर थामीको परिवार रहेका छन्। 'पहिरोले घरनै जोखिममा पर्‍यो' पहिरो पीडित सुकवीर थामीले भने, 'अहिले आफन्तको शरणमा बसिरहेका छौँ।'

निरन्तरको वर्षातका कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताए। 'पहिरोले घर वरिपरीको जमिन चिराचिरा भएको छ', अर्का पीडित सुब्बा थामीले भने, 'आफन्तको जग्गामा पाल टाँगेर रात बिताउने गरेका छौँ।'

पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास सुरू गरेको जनाएको छ। वडा नम्बर ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पहिरो रोकथामका लागि गाउँपालिकामा छलफल गरी तत्काल व्यवस्थापन गरिने बताए।

पहिरो रोकथामका लागि पीडितलाई जिल्ला प्रशासन कार्यलय अन्तर्गतको दैविक प्रकोप उद्धार समितिबाट १० थान तारजाली प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले बताए।

सोताङको चेमेदु बस्तीनै जोखीममा

केही दिनदेखिको अविरल वर्षातपछि खोप खर्कबाट निरन्तर पहिरो खस्दा सोताङ चेमेदुको ११ घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष तारा कुमार राईले जानकारी दिए। 'विगतका वर्षदेखि नै सामान्य पहिरो गइरहेको थियो', वडा अध्यक्ष राईले भने, 'यो वर्ष अत्याधिक पानी पनि पर्‍यो, निरन्तर पहिरो पनि गयो, यसले निक्कै ठूलो क्षेत्र बनाउँदै गएपछि बस्ती नै जोखिममा पर्‍यो।'

पहिरो नरोकिएपछि स्थानीय त्रसित बनेका छन्। स्थानीय लक्ष्मण राईका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयलाई रात बिताउँन गाह्रो भएको छ। राईले भने, 'रातभरी पहिरोले तान्छ कि भन्ने त्रासले गर्दा जग्राम नै बस्नुपर्छ।'

बस्ती जोखिममा परेपछि स्तान्तरण गर्नुपर्ने अवस्था सृजना भएको सोताङ गाउँपालिका २ का वडा सदस्य नैबहादुर राईले बताए। 'पहिरो रोकथाम गर्नसक्ने अवस्था पनि कम छ', राईले भने, 'बस्ती नै स्तान्तरण गर्नुपर्ने स्थिति सृजना भयो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.