|

लुम्बिनी : म्यानमारका राष्ट्रपति विन मिन्तले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। बिहान ११ बजे लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेका उनले मायादेवी मन्दिरमा प्रार्थना गर्नुका साथै लुम्बिनी गुरुयोजनाबारे जानकारी लिएका छन्।

लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति मिन्तलाई कोषका सूचना अधिकारी हरिध्वज राई र पूरातत्वविद् वसन्त बिडारीले लुम्बिनी गुरुयोजना र लुम्बिनीको महत्वबारे जानकारी गराएका थिए।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक  उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपति मिन्तलाई मायाको चिनोस्वरुप बुद्धमूर्ति प्रदान गरेका थिए। त्यसपछि राष्ट्रपति मिन्तले लुम्बिनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै लुम्बिनी भ्रमणको अवसर  दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

मायादेवी मन्दिरपरिसरमा करीब ४५ मिनेट बिताएका मिन्तले म्यानमारको गुम्बाको अवलोकन तथा जानकारी लिएर केहीबेर पण्डिताराममा ध्यान गरेका थिए।

मिन्तले नेपाली टोली र आफ्नी धर्मपत्नीसँग मायादेवी मन्दिर परिसरमा तस्वीर खिचाए। त्यसपछि राष्ट्रपति मिन्तसहितको टोली लुम्बिनीस्थित होटल कासाईमा आराम तथा खाना लिएर काठमाडौं प्रस्थान गर्ने छ।

यसअघि राष्ट्रपति मिन्त काठमाडौंबाट चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी पुगेका थिए।

मिन्तलाई लुम्बिनीमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ प्रमुख उमाकान्त झा, प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष धेशकुमार त्रिपाठीलगायतले स्वागत गरेका थिए। मिन्तको आगमनलाई ध्यानमा राखेर लुम्बिनी र आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.