|

सिरहा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको बताएका छन्।

नेपाल राष्ट्रिय मारवाडी परिषद्को सिरहाको लहानमा बुधबार आयोजित १५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरण नभई मुलुक नबन्ने र सामाजिक रुपान्तरणमा छोरीका ठूलो भूमिका हुने भएकाले प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई विशेष प्राथमिकता दिएको बताए।

‘छोरीको सामाजिक भूमिकालाई बलियो बनाउन प्रदेश सरकारले ल्याउने हरेक कानुनमा महिलालाई ५० प्रतिशत अनिवार्य आरक्षणको व्यवस्था गरिने छ’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश प्रहरी, निजामति सेवालगायतको क्षेत्रमा महिलालाई ५० प्रतिशत अनिवार्य आरक्षण सुनिश्चित गरिने छ। महिलाको हातमा अधिकार आए विभिन्न सामाजिक अपराध स्वतः घट्छ, त्यसैले प्रदेश सरकारले महिलालाई विशेष प्राथमिकता दिएको छ।’

मुख्यमन्त्री राउतले मुलुकका ठूला करदाता, रोजगारदाता र सामाजिक सेवाको काममा उल्लेखनीय भूमिका खेलिरहेका मारवाडी समुदायलाई प्रदेशमा उद्याग, कलकारखाना खोल्न आग्रह गरे। ‘प्रदेश सरकारले लगानीको सुरक्षित वातावरण बनाउँछ’ उनले भने ‘प्रदेशको समृद्धिबिना मुलुक समृद्ध नबन्ने भएकाले मारवाडी समुदायले प्रदेश २ लाई विशेष लगानीको क्षेत्र बनाउ जरुरी छ।’

शिक्षा, स्वास्थ्य, बेरोजगारी, गरिबी, विभिन्न सामाजिक विकृति विसंगतिले गाँजेको प्रदेश २ को समृद्धिका लागि मुलुकको सम्पत्तिको रूपमा रहेका मारवाडी समुदायले कृषिजन्य उद्योग स्थापना गरी रोजगारीको अवसर सिर्जना गरे गरिबी स्वतः घट्ने मुख्यमन्त्री राउतले औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.