|

ओखलढुंगा : बुधबार ओखलढुंगामा पनि भव्य रूपमा रोपाइँ जात्रा मनाइएको छ। दिउँसो १ बजेदेखि वर्षात्का कारण कार्यक्रमलाई केही असर गरे पनि टाढाटाढाबाट रोपाइँ जात्रा हेर्न आएका दर्शकहरूले ओखलढुंगा सदरमुकाम बजार भरिएको थियो। जात्रामा सदरमुकामका र विभिन्न पेसा तथा व्यवसायमा आवद्ध रहेर ओखलढुंगामा बसोबास गर्दै आएकाहरूले विभिन्न वेशभूषामा सजिएर आआफ्नो कला प्रस्तुत गरेका थिए।

विशेषगरी यो रोपाइँ जात्रा असार महिनाको रोपाइँ सकेपछि मनाइन्छ। यो जात्राको परम्परा नेवार संस्कृतिबाट सुरु भएको हो। धान रोप्ने काम सकिएको खुसियालीमा यो जात्रा मनाइने गरिन्छ। यो जात्रामा वर्षातको समयमा रोपाइँमा धान रोपेझैँ गरी नाच्ने, गाउने गरिन्छ। रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाच्दै रमाइलो गर्छन्।

रोपाइँ जात्रालाई कर्णाली अंचलका जिल्लाहरूमा भने चोपाइँ भनिन्छ। त्यहाँको चलनअनुसार चोपाइँ एक प्रथा हो। चोपाइँ प्रथामा रोपाइँ जात्रा जस्तै जात्रा गरिन्छ। खास गरेर जुम्ला जिल्लामा रोपाइँ जात्रालाई चोपाइँ भनिन्छ। यहाँको भाषामा चोपाइँ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ। जसको घरमा विवाह भएको छ, अथवा जसको घरमा छोरा जन्मिएको छ, त्यसको घरमा चोपाइँ अथवा रोपाइँ जात्रा गरिन्छ। चोपाइँ गराउने व्यक्तिले आफ्नो खेतको रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनुपर्ने चलन छ।

नेपालको मध्य तथा पश्चिममा रोपाइँ गर्दा खेतको बीच गरामा पुल्ती राखिन्छ। पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ। रोपाइँ जात्रामा पुल्तीको ठूलो महत्त्व हुन्छ। खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ।

जुम्लामा चोपाइँ गर्नेको खेतमा पुल्ती राखेपछि नवविवाहित वर-वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ। त्यसपछि तिनलाई अक्षता र दुबो लगाएर बाहिर पठाइन्छ। त्यसपछि पुल्ती राख्ने चेलीले दुवै हातमा बिउ लगेर पुल्ती वरिपरि नगराको तालसँगै नाचेर चोपाइँका लागि नवविवाहित दुलाहाको बुबा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन्। चोपाइँको आमन्त्रण गर्ने बेलामा असारे गीत गाउँछन्। यसरी चोपाइँको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलाहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउँछन्।

प्राय: रोपाइँ जात्रामा रोपाइँको मालिकलाई हिलोमा डुबाउनुपर्छ भन्ने सबैतिर प्रचलन छ। रोपाइँ जात्रा नेपालका विशेष गरेर सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ। रोपाइँ जात्रालाई मनाउने तरिका भने स्थानअनुसार फरक फरक हुने गरेको पाइएको छ। विगतका वर्षहरूमा ओखलढुंगामा पनि रोपाइँ जात्राको भिन्दै खालको माहोल हुने गर्थ्यो। विगतका वर्षहरूमा झैँ यस वर्ष भने वर्षातले साथ नदिँदा सोचेजस्तो र दर्शकहरूले अपेक्षा गरेजस्तो रौनक भने देखिएन।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.