|

कालीकोट :

पीरैमाथि पीर थपिन्छ तालको माछो लातै
बाउँदै दुःख बर्सिन्छ, कठै माया जालै!

सम्झँदा विपद्को घडी, तालको माछो तालै
दिल मेरो तर्सिन्छ कठै माया झालै!!

रेडियो नेपालमा २०५० सालमा पहिलो पटक यो गीत रेकर्ड भएको थियो। अहिले पनि आक्कलझुक्कल रेडियो नेपालमा यो गीत बजिरहन्छ। यो गीत २०२१ असोज ७ गते मुगुको साविकको सुकाढिक गाविस (हाल खत्याड गाउँपालिका- ८)मा जन्मिएका कविराज कार्कीले गाएका थिए।

कविराज नाम भएका कारणले गाउँकै स्कुलमा कवि भनेको कविता लेख्ने मान्छेलाई भनिँदोरहेछ भनेर सबैले भन्न थालेको र त्यसै कारणले आफूले पहिला स्कुलमा कविता लेख्न थालेको अनि त्यसैबाट कविबाट कलाकार बनेको कार्कीले बताए। ‘बुबाआमाले खै किन मेरो नाम कविराज राखे थाहा भएन’, उनले भने, ‘स्कुलमा पढ्दा थाहा पाएँ कवि भनेको कविता लेख्ने मानिसलाई भनिँदोरहेछ। त्यहीँबाट स्कुलमा कविता र गीत लेख्न थालेँ।’

कुनै बेला नेपालका कुनाकाप्चामा सुनिने एक मात्र संचारको माध्यम रेडियो नेपाल थियो। रेडियो नेपालमा अरू कलाकारको गीत सुनिन थालेपछि मुगुको विद्यालयमा पढाइरहेका शिक्षक कार्कीलाई रेडियो नेपालमा गीत गाउने झोँक चलेछ। ‘स्कुलमा पढाउने एउटा शिक्षक मात्र थिएँ। देशका अन्य भागका कलाकारको गीत रेडियो नेपालमा बजेको सुन्दा मलाई पनि रेडियो नेपालमा गीत गाउने रहर जागेको हो’, उनी भन्छन्, ‘रेडियो नेपालमा गीत गाउने रहर लागेर विद्यालयमा पाएको तलब थापेर रेडियो नेपालमा गीत गाउन काठमाडौं हिडेँ।’ 

मुगु महाकाली उच्चमाध्यमिक विद्यालयमा शिक्षण पेसामा संग्लन कार्की शिक्षण पेसाबाट आएको तलब थापेर २०४१ सालमा रेडियो नेपाल स्वर परीक्षा दिन मुगुबाट सातु सामल बोकेर हिँडे। मुगुबाट काठमाडौं पुग्न अहिले जस्तो मोटरबाटो, हवाईजहाजलगायतका उपाय सहज थिएनन्। रेडियो नेपालमा गीत गाउन स्वर परीक्षा दिन हिँडेका कार्कीले त्यो बेला न रेडियो नेपालमा स्वर परीक्षा दिन पाए, न गीत नै रेकर्ड गर्न पाए। शिक्षण पेसाबाट आएको तलब काठमाडौंमा सकेर त्यस बेला रेडियो नेपालबाट बेलुका ८ः१५ बजे बज्ने चर्चित कार्यक्रम ‘चौतारीमा’-

‘चौतारी शीतल हुन्छ बरको छायाले
रात निद नाइँ दिन भोक नाइँ प्यारीको मायाले’

भन्ने गीत गाएर चित्त बुझाए। ‘भर्खर शिक्षण पेसामा संलग्न भएको र थोरै तलब थापेर काठमाडौंमा रेडियो नेपालको गीत गाउन हिँडेको मान्छे, न स्वर परीक्षा दिन पाएँ, न गीत गाउन पाएँ। निराश भएर फर्किएँ’, उनी भन्छन्।

गीत गाउने लक्ष्य बोकेका कार्कीलाई पहिलो असफलतापछि निराशा छाएन। उनी झन् उत्साहित हुँदै पुनः २०४३ सालमा स्वर परीक्षा दिन काठमाडौं लागे। ‘मलाई पहिलो पटक रेडियो नेपालमा गीत रेकर्ड गराउने इच्छा तीब्र थियो। अहिले जस्तो जहाँत्यहीँ रेकर्डिङ स्टुडियो थिएनन्। रेडियो नेपालमा गराउनुपर्थ्यो’, उनी भन्छन्, ‘त्यो बेला अहिले जस्तो कहाँ गीत रेकर्ड गराउन पाइन्थ्यो र!'

२०४३ सालमा स्वर परीक्षा दिएका कार्की त्यो वर्ष फेल भए। तीन पटक रेडियो नेपालमा स्वर परीक्षा दिएपछि कार्की पास भए २०५० सालमा।
स्वर परीक्षा पास गरेपछि उत्साहित भएका कार्कीले त्यसभन्दा पछि २२ वटा गीत आफ्नै स्वर तथा संकलनमा र तीनवटा गीत साथीहरूको सहयोगमा रेडियो नेपालमा रेकर्ड गराए। 

एक गीत गाएवापत पाइन्थ्यो ४ सय, खर्च लाथ्यो ४० हजार

त्यस बेला सडक संजालले नछोएको र दुर्गमताले भरिएको अर्को नाम हो- कर्णाली। त्यसैमा पनि मुगु। वर्षभरि शिक्षण पेसा गरेर कमाएको पैसा थाप्थे र गीत रेकर्ड गराउन हिँड्थे काठमाडौं। हिउँदे बिदा र दशैँ बिदामा तलब बोकेर प्रत्येक पटक काठमाडौं पुगेँर गीत रेकर्ड गराउनु उनका लागि नियमित जस्तै थियो। ‘गीत गाउने रहर चल्थ्यो। विद्यालय छुट्टी भएका बेला तलब थापेर काठमाडौं गीत गाउन जान्थेँ’, उनले भने, ‘गीत गाउन काठमाडौं गयो, कहिले रेडियो नेपालमा गीत गाउने कार्यसूचीमा नपरी फर्किनुपर्थ्यो।’

कर्णालीको मुगुबाट काठमाडौं (नेपाल) पुग्न महिनौँ दिन लाथ्यो त्यो बेला। त्यो पनि पायो भने हेलिकोप्टरबाट नभएर मुगुबाट हिँड्दै नेपालगंज। नेपालगंजबाट बस चढेर काठामाडौं। ‘सबै खर्च जोड्दा एउटा गीत गाउन काठमाडौं पुग्दा ४० हजारभन्दा बढी खर्च हुने। त्यो बेला रेडियो नेपालले एउटा गीत गाएको २०० देखि ३०० रुपैयाँ दिने, गीत संकलन गरेको १५० देखि २०० रुपैयाँ दिने’, उनी सम्झन्छन्,‘पैसाको भन्दा पनि त्यो बेला मलाई कर्णालीमा गाइने देउडा गीतको देशव्यापी प्रचार प्रसार गर्नु थियो।’

लगातार काठमाडौंमा गीत गाउन जानका लागि हिँड्दै, कहिले केही दुःख झेल्दै जान थालेपछि कार्कीले रेडियो नेपालमा २०६० सालमा एउटा गीत रेकर्ड गराए।
‘कर्णालीमा मोटर पुग्ने कहिले?’ भनेर बमबहादुर कार्की, कोमल वली र शिवा आलेसँग संयुक्त स्वरमा गीत रेकर्ड गराए। त्यसको तीन वर्षपछि जुम्लामा मोटरबाटो पुग्यो। त्यो बेला निकै खुसी भएको कार्कीले बताए। ‘मैले आफ्ना र कर्णालीबासीका पीडालाई लिएर रेडियो नेपालमा गीत गाएको तीन वर्षमा जुम्लामा मोटरबाटो पुग्यो’, उनले भने, ‘मोटरबाटो सात महिना बन्द भयो अनि मलाई साह्रै दुःख लाग्यो।’

कार्कीले गायन क्षेत्रमा लागेर देउडाका गीति एल्बम पनि निकालेका छन्। 'सौराई रारा' र 'कर्णालीका तीर' उनले निकालेका गीति एल्बम हुन्। 
देउडा गीत गाउँदा कार्कीले राष्ट्रिय सम्मान पनि धेरै पटक पाएका छन्। 

शिक्षक, गायक र पत्रकार

कार्कीको परिचय एउटा गायकका रूपमा मात्रै छैन। शिक्षण पेसासँगै गायक बनेका कार्की मुगुबाट नेपाल टेलिभिजनका लागि संवाददाता पनि हुन्। 
एउटा शिक्षक, एउटा कलाकार कसरी एउटा कुशल पत्रकार बन्यो? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई गायक बन्ने एउटा धोको थियो। त्यो बने कर्णालीको गीत संगीतलाई देशव्यापी प्रचार प्रसार गर्न सकिन्थ्यो। त्यो गरेँ। यसमा पूर्ण रूपमा सन्तुष्टि मिलेको छ’, कार्की भन्छन्, ‘कर्णाली कला, संस्कृतिलाई कसरी बाहिर ल्याउने भन्नेमा मलाई टेलिभिजन पत्रकारिताले पनि तान्यो र अहिले म पत्रकारका रूपमा कार्यरत छु।’

एउटा पत्रकार, कलाकार गीत गाएर, लेखेर बाँच्न नसक्ने कार्कीको अनुभव छ। ‘पत्रकार भएर लेखेर मात्र बाँच्न गाह्रो छ। एउटा कलाकार भएर गीत गाएर मात्र बाँच्न गाह्रो छ’, उनी भन्छन्, ‘बाँच्नका लागि मैले शिक्षण पेसा गरेको छु।’

शिक्षक भएर घर घडेरी जोड्न, छोराछारीलाई राम्रो शिक्षा दिन सक्थे कार्की तर कार्की त्यो कुरा मनमा कहिले नपलाएको बताउँछन्। ‘मैले गीत संगीतमा आफ्नो लगानी लगाएँ’, उनले भने, ‘तर आफ्ना घरघडेरी जोड्नेतर्फ कहिल्यै लागिनँ। आफ्ना छोरीछोरीलाई गाउँकै स्कुलमा पढाएँ।’ 

बाँच्नका लागि शिक्षण पेसामा संग्लन रहे पनि कलाकारिता पत्रकारिता क्षेत्र आफ्नो कर्म भएको कार्की बताउँछन्। ‘शिक्षकको जागिरबाट आएको धेरै रकम रेडियो नेपालमा गीत गाउँदै र पत्रकारिता गर्दै खर्च गरेको छु’, उनी भन्छन्, ‘निकै मिहिनेत र लगानीका बाबजुद थोरै भए पनि कर्णाली क्षेत्रको लोक संस्कृति जगेर्ना गर्न पाएकोमा सन्तुष्ट छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.