|

इलाम : मुख्य नगदेबालीको स्रोत अदुवा निर्यातमा बारम्बार भारतले अवरोध लगाइरहँदा इलामका किसानहरू समस्यामा छन् तर त्यही अदुवालाई प्रशोधन गरेर इलाम नगरपालिका- ८ धोविधाराकी उषा निरौलाले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेकी छन्। अदुवा र अकबरेको अचार बनाउने इलाम अदुवा प्रशोधन केन्द्र चलाइरहेकी उषालाई अदुवा-अकबरेको भाउ कम हुँदा व्यवसायमा बढी फाइदा हुन्छ। किसानबाट अचारका लागि चाहिने कच्चा पदार्थ अदुवा–अकबरे सस्तोमा पाइँदा बढी नाफा हुने गरेको उनी सुनाउँछिन्। 

भाउ नआएकै कारण किसानको अदुवा बारीमै कुहिँदै गरेका बेला उषाको आम्दानी भने बढेको छ। पाँच वर्षअघि खुलेको उषाको उद्योगमा अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बन्ने गरेको छ। २०६७ सालमा उद्योग वाणिज्य संघ इलामबाट अदुवाको क्यान्डी र अचार बनाउने तालिम लिएपछि उनी यो व्यवसायमा संलग्न छन्। अदुवाको अचार र क्यान्डी बनाएर उनी वार्षिक ४५ लाख रुपैयाँ आम्दानी गर्छिन्। २०७० सालमा स्थापना भएको इलाम अदुवा प्रशोधन उद्योगकी संचालिका निरौलाले अदुवा प्रशोधन गरेर क्यान्डी, अचार, मिक्स अचार, तितौरा, चाना सुठो र सर्वत बनाउँछिन्।

५० हजार रुपैयाँको लागतमा स्थापना भएको इलाम अदुवा प्रशोधन केन्द्रको उत्पादनबाट सहयोगीको तलब, लागत खर्च कटाउँदा वर्षमा १५ लाख रुपैयाँजति आम्दानी हुने उनी बताउँछिन्। उद्योगमा गत वर्षसम्म मेसिनको अभाव रहेको थियो तर उन्नति कार्यक्रमको २५ लाख रुपैयाँको प्रोजेक्टमार्फत अदुवाका लागि आवश्यक मेसिनसमेत ल्याइसकेपछि कारोबारसमेत बढेको उनको भनाइ छ। वि.सं. २०७३ मा उन्नति कार्यक्रममार्फत् अदुवा क्यान्डी तयार पार्न धुने, बोक्रा छोडाउने, चाना बनाउने, सुकाउने र अदुवालाई धुलो बनाउने मेसिन अनुदानमा प्राप्त भएको उनले बताइन्। 

इलाम नगरपालिका र माईजोगमाई गाँउपालिकाका कृषकले उत्पादन गरेका अदुवा तथा अकबरे उनले खरिद गर्ने गरेकी छन्। उषाको यही उद्यमले इलाम सदरमुकाममा घरघडेरी जोडेको छ भने काठमाडौं बसेर बढ्ने छोरीको खर्च पनि टारेको छ। उषाको उद्योगमा मासिक १० क्विन्टलजति अदुवाका विभिन्न अचारका परिकार बन्छन्। आफू एकल महिला रहेको र व्यवसाय सुरु गर्दाताका धेरैले हतोत्साहित गराउन खोजेको विगतको अनुभव सुनाउँछिन् उनी, ‘सुरुसुरुमा अरूले तिमीले गर्न सक्दैनौ भने कसैको कुरा नसुनी थोरै लगानीमा व्यवसाय सुरु गरेर लागिरहेँ, अहिले यसै उद्यमबाट सबैतिर चिनिन थालेकी छु।’ उद्योगमा हाल चार जना महिला कर्मचारी रहेका छन्, जसमा क्याम्पस पढ्दै गर्ने विद्यार्थीहरू समेत रहेकाले उनीहरूलाई समेत आत्मनिर्भर बनाउने इच्छा रहेको बताउँछिन् उनी। तर यसलाई विस्तार गर्ने उनको सपना छ- सयौँ महिलालाई रोजगार र स्वरोजगार बनाउने उनको सपना हो।

महिलाहरूलाई रोजगारदाता मात्र होइन, उद्यमी बनाउन उषा प्रेरणाकी स्रोत बनेकी छन्। उनको उद्योगमा काम गर्ने महिला हाल आफ्नै उद्योग गर्दै गर्दा आफूलाई गर्व महसुस भएको बताउँछिन्। आफूले अचारको उद्यम चलाएपछि अहिले सबैले ‘अचार दिदी’ भनेर चिन्ने गरेको सुनाउँदै उषा भन्छिन्, ‘उद्यमकै कारण सबैले चिन्न थाल्नुभएको छ, खुसी लाग्छ।’

जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। प्रदेश १ का १४ जिल्लामध्ये पाँच जिल्लामा धेरै किसान व्यावसायिक अदुवा खेती गरिरहेका छन्। जिन्जर प्रोफाइलका अनुसार इलाममा तीन हजार २३३, पाँचथरमा ६६१, धनकुटामा २४९, तेह्रथुममा २१२ र झापामा ३४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ। इलामका अधिकांश किसानले अदुवाबिना प्रशोधन कच्चा रूपमा नै बेच्ने गरेका कारण पनि सधैँ मूल्यको मारमा पर्नुपर्ने अवस्था रहेको कार्यालयले बताएको छ। अदुवालाई प्रशोधन र विभिन्न परिकार बनाई बिक्री गरेको खण्डमा आम्दानी बढाउन सकिने कृषि विकास कार्यालयको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.