|

काठमाडौं : पूर्वमन्त्री तथा तत्कालीन नेकपा एमालेकी नेतृ शान्ता मानवी साहित्यिक व्यक्ति पनि हुन्। आठ वर्षको उमेरमा मागी विवाह भएकी शान्ता बालविधवा हुन्। आफूभन्दा दोब्बर बढी उमेरका केटासँग विवाह गरेपछि माइतीमै बसेकी शान्ता एकैचोटि श्रीमानको किरिया गर्न घर फर्किइन्। त्यसपछि सुरु भए शान्ताका दु:खका दिनहरू। श्रीमानको मृत्यु हुनुका सबै कारण उनीमाथि नै लगाइयो।

एक वर्षपछि उनी माइतीमा फर्किइन्। माइतीमा पनि आमाको मृत्यु भइसकेको थियो। दाजु, दिदीबहिनी आफ्नै जीवनमा व्यस्त थिए। त्यतिबेला विवाह गरेकी छोरी माइतीमा बस्नु पनि गाह्रो थियो। कतै केही काम गरिखाऊँ भने पनि जग्गा जमिन थिएन। जागिर खाऊँ पढाइलेखाइ थिएन। त्यसैले उनी २३ वर्षको उमेरमा घर छाडेर भारतको दिल्ली पुगिन्। 

दिल्लीमा अनेक हण्डर र ठक्कर खाएर अर्काको घरमा काम गर्दै आएकी शान्तालाई उनका मित दाजु पर्ने कम्युनिस्ट नेता मोदनाथ प्रश्रितले वनारस लगे। वनारसमा नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग भेट भएपछि उनी कम्युनिस्ट पार्टीसँग आवद्ध भइन्। 'दिल्लीमा अर्काको घरमा भाँडा माझेर बसिरहेकी मलाई मित दाजु आएर बनारस लैजानुभयो', शान्ता भन्छिन् 'म मर्थें कि बाँच्‍थेँ थाहा छैन, तर बनारस गएर मैले जीवन त पाएँ।' यी कुरा बोल्दै गर्दा उनको गला अवरुद्ध भयो। आँखा एकाएक रसाएर आए। 

कम्युनिस्ट पार्टीका विद्यार्थी संगठन, महिला संगठन हुँदै उनी राजनीतिमा सक्रिय हुँदै गइन् सँगै पढाइ पनि अगाडि बढाइन्। त्यतिबेलादेखि नै हो उनी साहित्यतर्फ आकर्षित भएकी। समाज परिवर्तन गर्ने उद्देश्य बोकेर अगाडि बढेकी उनको पढ्नेलेख्ने कार्य निरन्तर रूपमा अगाडि बढ्दै गयो। आफ्नो मनमा लागेका कुरा लेख्दै गइन्। तिनै टिपोटहरूले साहित्यको रूप लिँदै गए।

मोदनाथ प्रश्रित, यदुप्रसाद मिश्र, पुष्पलाल, मदन भण्डारीसँगको संगतले नै उनी राजनीतिसँगको यात्रासँगै साहित्यको यात्रामा अगाडि बढाइन्। २०५० सालमा त्रिशूली नदीमा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको रहस्यमय दुर्घटना भएपछि शान्ताले उनीहरूको सम्झनामा कविता कोरिन्।

भेटिनेछन् मदन–आश्रित
हलो र गोठालाका हत्केलामा
ज्यामी र खेतालाका पसिनामा 
भेटिनेछन् उनीहरूकै कणकणमा
होइन रोदन र क्रन्दनमा
भेटिनेछन् जोश र जाँगरमा 
साहस र हिम्मतहरूमा 
निरन्तरता र आत्मनिर्भरतामा 
दृढ संकल्प र आत्मविश्वासमा।

उनले यी कविताका पंक्तिहरूमा मदन–आश्रित सधैँ जनताको मनमनमा बसिरहने कुरा उल्लेख गरेकी छन्। किसानका हलो र गोठालाका हत्केलाहरूमा, ज्यामी र खेतालाका पसिनाहरूमा मदन-आश्रित भेटिने लेखेकी छन्। 

शान्त समुद्र जस्तै चुपचाप 
आफूलाई मैनबत्ती जस्तै ढाल्नुपर्ने
यही हो स्वास्नी मान्छेको जिन्दगी।

अरूकै खुसीमा रमाइदिएर
उनकै भावनामा डुबुल्की मार्दै 
अन्तिम चौतारीमा विसर्जित हुने
यही हो स्वास्नी मान्छेको जिन्दगी !
यही हो स्वास्नी मान्छेको जिन्दगी !!

साहित्य भावना हो। जतिबेला पनि फुर्न सक्छ। भावना फुर्दै गर्दा उनी लेख्छिन्। जीवनमा यस्तोसम्म घटनाको भागिदार भएकी छन् उनी तर सोही घटनाहरूले उनलाई जीवनमा ऊर्जा दिएको बताउँछिन्।

झुपडीको न्यानो माया
मैले आफ्ना कथा र व्यथालाई 
कुनै मोलतोलका बन्धक बनाउन चाहिनँ
आफ्नो स्वाभिमानलाई 
कसैका शरणमा सुम्पन चाहिनँ।

२०३२ सालदेखि लामो समयसम्म लगातार भूमिगत जीवन विताएकी शान्ता जीवनलाई संघर्षको प्रतीक मान्छिन्। दुई वर्ष भूमिगत भएपछि कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरिन् उनले। सोही घटनालाई जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्छिन् शान्ता। ‘मेरो जीवनको सबैभन्दा खुसीको क्षण भनेको कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्दाको दिन हो। त्यो दिन अहिलेसम्मकै मेरो जीवनको खुसीको क्षण हो’, उनी भन्छिन्।

राजनीतिक पुस्तक पढ्दापढ्दै साहित्यमा आकर्षित भएकी उनी आफ्ना कथाहरू भन्दै गर्दा पटक पटक भक्कानिइन्। उनका आँखा पटक पटक यसरी रसाए कि पटक पटक उनको गला नै अवरुद्ध भयो। 

२००३ सालमा अर्घाखाँची, सन्धिखर्कमा जन्मिएकी शान्ता पण्डित परिवारकी छोरी हुन्। २०४९ सालमा नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी शान्ता १६ वर्ष केन्द्रीय सदस्य भइन्। 

२०५२ सालमा राष्ट्रियसभामा निर्वाचित भएकी शान्ता २०७२ सालको संविधानसभाको सदस्य भइन्। २०७३ साउन १९ गते कृषि, पशुपंक्षी विकासमन्त्री भएकी शान्ता अहिले राजनीतिको खास जिम्मेवारीमा छैनन्।

हिजोआज साहित्यिक गोष्ठी, सभा तथा राजनीतिक कार्यक्रमहरूमा व्यस्त भएकी शान्ताका ‘मानवीका रचनाहरू’, ‘पर्दाभित्रका व्यथाहरू’ आत्मसंस्मरण संग्रह प्रकाशित छन्। शान्ता अर्को यात्रा संस्मरण र कवितासंग्रहको तयारीमा रहेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.