|

इलाम :  घर परिवारमै फुटबलको वातावरण। अझै घरै छेउमा दुईवटा प्रतिष्ठित फुटबल क्लब। यही माहोलले तान्यो विराज महर्जनलाई फुटबल खेलमा। सानैदेखि फुटबलमा रुचि राख्ने विराज आफ्ना बुबा र दाजुको प्रेरणाले फुटबलर बनेको बताउँछन्। दाजु विक्रम महर्जन आफैँ एन्फाको पहिलो व्याचका कप्तान र घर नजिकै त्यो बेलाका चर्चित क्लब एनआरटी र व्वाइज युनियन भएकाले उनको मन फुटबलले तान्यो।

राष्ट्रिय टिमका कप्तानसमेत रहेका विराज सम्झन्छन्, ‘दिनहुँ दाइहरूले फुटबल खेलेको देख्दा मलाई नि खेल्न मन लाग्थ्यो। बाबाले बाइकमा हालेर फुटबल खेल भएको ठाउँमा लाने गर्नुहुन्थ्यो। सायद त्यसैले हो फुटबलमा रुचि बढ्यो।’ 

उनका काका रत्नकाजी महर्जन पनि एक समय नेपाली राष्ट्रिय टोली यु–२३ का खेलाडी थिए। एन्फाले एकेडेमीका लागि दोस्रो व्याच छनोट गर्दा विराज काठमाडौं जिल्लाबाट देशभरका ३० हजार खेलाडीबाट अन्तिम ७८ मा छनोट भए। अन्तिम छनोटपछि विराजले ज्ञानोदय आवासीय विद्यालय खोकना ललितपुरमा अध्ययन गर्दै आफ्नो फुटबल करिअरलाई अघि बढाए। छनोट खेल्न जाँदाको क्षण सम्झँदै विराज भन्छन्, ‘बाबाले दादा जसरी तिमी पनि सेलेक्ट हुनुपर्छ भन्नुभएको थियो। मिहिनेतले खेलेर ३० हजार माझ आफूलाई प्रमाणित गरेँ।’

विराजले उमेर समूहको खेल यु-१४ देखि खेल्न सुरु गरेका हुन्। सन् २००६ मा उमेर समूहको विश्वकप छनोटअघि सिंगापुरमा भएको एएफसी यु-१७ च्याम्पियनसीपमा समेत विराज खेलेका थिए।  त्यो बेलाको क्षण विराज यसरी सम्झन्छन्, ‘तुलनात्मक रूपमा हामी विपक्षीभन्दा कमजोर थियौँ। त्यसैले अपेक्षा गरिएअनुरूप भएन।  कोरियासँग २-० र जापानसँग ६-० ले हारेका थियौँ तर जापान जस्तो बलियो टिमलाई बराबरीमा रोक्न सफल सिंगापुरसँग गोलरहित बराबरी खेल्न सफल भयौँ।’ सन् २००७ मा भएको यु-१९ मा पनि नेपालको टोलीमा विराज थिए तर नेपाल एक खेल नजिती प्रतियोगिताबाट बाहिरियो।

राष्ट्रिय टिममा डेव्यु

विराजले नेपालको राष्ट्रिय टोलीमा भने सन् २००८ मा डेव्यु गरेका हुन्। पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमा उनी प्लेइङ इलेभेनमा नै मैदानमा उत्रिएका थिए। विराजसँगै उक्त खेलमा एन्फाका व्याज स्ट्राइकर भरत खवासले पनि नेपालका लागि डेव्यु गरे। राष्ट्रिय टिमका ‘राइट व्याक’ विराजले अन्तर्राष्ट्रिय एक गोल पनि गरेका छन्। सन् २०१० मा किर्गिस्तानविरुद्ध उनले ४५ याड टाढाबाट हानेको फ्रि किक गोलमा परिणत भएको थियो। 

कप्तानीको अवसर

उनले कप्तानीको पहिलो अवसर भने सन् २०१५ को अन्त्यतिर केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसीपमा पाएका थिए , जति बेला नेपालले लिग चरणको आफ्नो दोस्रो खेलमा भारतसँग खेलेको थियो । श्रीलंकाविरुद्धको पहिलो खेलमा  अनिल गुरुङ नै कप्तान थिए  तर भारतविरुद्ध दोस्रो खेलमा भने अनिलले सुरुदेखि खेल्ने मौका पाएनन्, जसको फाइदा विराजलाई भयो। उनी निर्विवाद कप्तान बने। नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराज नै कप्तान थिए। सन् १९९३ को साफयता नेपालले २३ वर्षसम्म कुनै उपाधि नजितेको अवस्थामा विराजको नेतृत्वमा उपाधिको खडेरी तोडियो।

त्यो समय नेपाली फुटबलका ‘ह्याट्रिक हिरो’ भनेर नवयुगको चर्चा चल्यो तर नेपालको उपाधिको खडेरी तोड्ने कप्तान महर्जनको भने खासै चर्चा हुन पाएन। 

विराजले यस सफलतामा गौरव महसुस गरेका छन्। ‘मैले फुटबल खेल्न सुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ। निरन्तर मिहिनेत गर्दै गएँ र सौभाग्य भन्नुपर्छ राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएँ। यहाँसम्म आइपुग्दा मलाई परिवार, समकक्षी खेलाडी र प्रशिक्षक तथा समग्र फुटबलको साथ मिलेको छ’, उनले भने, ‘देशको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो, जुन मैले लगातार प्राप्त गरिरहेको छु। मैले प्रत्येक खेल आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेर मैदानमा उत्रन्छु। अहिले इतिहासमा आफ्नो नाम लेखाउन पाउँदा मसँग खुसी व्यक्त गर्न शब्द छैन।’

सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान

राष्ट्रिय टिमबाट ६८ क्याप जितेका उनी यमनविरुद्ध २७ मार्चमा कतारको दोहामा सम्पन्न एएफसी एसियन कप, २०१९ को तेस्रो चरणको खेलका नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरे। ‘लेफ्ट ब्याक’ खेल्दै उनले आफ्नै प्रशिक्षक राजुकाजी शाक्यसँग कीर्तिमान बराबरी गरे। शाक्यले सन् १९९७ को साफ च्याम्पियसीपमा पाकिस्तानविरुद्ध कीर्तिमान कायम गरेका थिए। अब विराजसामु आफ्ना प्रशिक्षकको उपलब्धि उछिनेर नेपालका लागि सर्वाधिक खेल्ने खेलाडी हुने अवसर जुरेको छ। कम्तीमा सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसीपमा यो उपलब्धि छुन सक्छन् उनले।

क्लव यात्रा

एन्फामा रहँदा नै सन् २००८ मा संकटा क्लबसँग आवद्ध भई एक सिजन विताएपछि एनआरटीबाट विराजले तीन सिजन लिग खेले। एनआरटीले लिगमा धेरै खेल जित्यो तर लिग विजेता भने बन्न सकेन। एनआरटीपछि उनले पाँच सिजन थ्री स्टार क्लबमा बिताए। उनकै पालामा २०६९ को सिजनमा थ्री स्टार लिग विजेता बन्दा विराज वेस्ट डिफेन्डर पनि बनेका थिए। 

२०७२ बाट भने विराज मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध छन्। उनी हाल मनाङका कप्तानसमेत हुन्। नेपालमा अहिले धेरै गोल्डकपहरू हुने भएकाले उनी पूर्वी नेपालदेखि पश्चिमसम्म गएर खेल खेल्ने गरेका छन्। 

पछिल्लो समय विराजले ‘सेन्टर ब्याक’ र ‘लेफ्ट ब्याक’ दुवै भूमिकामा आफूलाई अभ्यस्त गराइराखेका छन्। आगामी दिनमा पनि विराज यसलाई निरन्तरता दिने सुरमा छन्। ‘जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ, म निरन्तर राष्ट्रको सेवामा समर्पित छु। म अझै पनि खेल्न सक्ने क्षमता राख्छु र राष्ट्रिय टोलीको सफलतामा योगदान दिन सकेसम्म मैदानमा डटिरहनेछु। राष्ट्रिय टिमलाई अझै सफल बनाउँछु।’, उनी आफ्नो योजना सुनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.