सबैको ध्यान गएको म्यानमार र बंगलादेशको द्विपक्षीय वार्ता अनिश्चित

|

काठमाडौं : बिम्स्टेकमा भाग लिन बंगालको खाडी वरिपरी रहेका विभिन्न ६ देशका कार्यकारी प्रमुख काठमाडौंमा छन्। नेपालले अध्यक्ष राष्ट्रको नाताले आयोजना गरेको यो सम्मेलन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूको द्विपक्षीय वार्ता गर्ने थलो पनि भएको छ। 

सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका प्रमुख कार्यकारीहरूको दोहोरो वार्ताको समय तय भएको छ। 

द्विपक्षीय भेटवार्तामा सबैभन्दा बढी व्यस्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुने भएका छन्। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको द्विपक्षीय भेटवार्ताको कार्यतालिका अनुसार मोदीले अधिकांश देशका कार्यकारी प्रमुखसँग वार्ता गर्दैछन्। उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्त र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चासँगको द्विपक्षी वार्ता तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

मोदीले बिहीबार श्रीलंकाका राष्ट्रपतिलाई दिउँसो, बंगलादेशकी प्रधानमन्त्रीलाई साझँ र म्यानमारका राष्ट्रपतिलाई राति पौने १० बजे भेट्ने कार्यतालिका रहेको छ। उनले थाइल्यान्डका प्रधानमन्त्रीलाई शुक्रबार बिहान भेट्नेछन्। उनले भोलि नै नेपालका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता र केही सम्झौतामा हस्ताक्षर गर्नेछन्। उनले भोलि नै पशुपति दर्शन गर्ने र पशुपतिमा निर्माण गरिएको धर्मशाला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै, भुटान र बंगलादेशका कार्यकारी प्रमुखबीच पनि द्वीपक्षीय वार्ता तय भएको छ। उनीहरू बिहीबार राति साढे १० बजे भेट्ने कार्यक्रम तय भएको छ। यी दुवै देशमा अबको केही महिनामा आम निर्वाचन हुँदैछ। 

बिम्स्टेक शिखर सम्मेलनमा एउटै मञ्चमा पुगेका म्यानमारका राष्ट्रपति र बंगलादेशका प्रधानमन्त्रीबीचको भेट भने तय भएको छैन अथवा उनीहरूले उक्त भेटलाई सार्वजनिक गर्न चाहेका छैनन्। म्यानमारमा भएको भनिएको रोहिंग्या समुदायमाथिको व्यापक दमन र त्यहाँबाट बंगलादेशमा शरण लिइरहेका लाखौँलाई फिर्ता पठाउनेबारे उनीहरूबीच छलफल हुन्छ कि भन्ने सबैको अपेक्षा रहेको छ। 

म्यानमारमा भएको उक्त दमनपछि यी दुई देशका कार्यकारी प्रमुख नै एउटै मञ्चमा आएको यो पहिलो अवसर हो।  उक्त घटनालाई लिएर म्यानमारको विश्वभर व्यापक आलोचना भएको छ। पछिल्लो दशकमा भएको यो नै भयानक नरसंहारको रुपमा संयुक्त राष्ट्रसंघले नै यसलाई संज्ञा दिएको छ। त्यसको समाधानका लागि यी दुई देशबीच छलफल हुने अपेक्षा गरिएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सबै पाहुनाहरूले भेट गर्ने कार्यक्रम रहेको छ। भुटान, म्यानमार र बंगलादेशका कार्यकारी प्रमुखहरूले ओलीसँग द्विपक्षीय भेट गरिसकेका छन्। उनीहरूसँग अझै सामूहिक भेट हुने बताइएको छ। प्रधानमन्त्रीले आयोजना गरेको भोजमा पनि उनिहरूबीच भेटवार्ता हुनेछ।

शिर्ष नेताहरूबीच सोल्टीमै आयोजना हुने रिट्रिटमा पनि दोहोरो छलफल हुने बताइएको छ। रिट्रिट शुक्रबार बिहान आयोजना गरिएको छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.