|

भक्तपुर : मध्यपुर थिमी ८ र ९ मा बोडेमा नीलबाराहीको १२ वर्षे खः त्यलिगु जात्रा भइरहेको छ। प्रत्येक वर्ष गाइजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने स्थानीय भाषामा बोडे प्वाँखले परिचित नीलबाराही गणनाचको प्रदर्शनसँगै यसवर्ष १२ वर्षे खः त्यलिगु जात्रासमेत भइरहेको हो। 

खः त्यलिगु जात्रा नीलबाराही गणनाचको विशेष नाच हो। यो प्रत्येक १२ वर्षमा देखाउने गर्दछ। त्यसैले यसलाई नीलबाराहीको १२ वर्षे जात्रा पनि भनिन्छ। खः को अर्थ खट हो। तर, यहाँ खः को अर्थ एक खण्ड भन्ने अर्थमा बुझ्नुपर्दछ। त्यलिगु को अर्थ कब्जामा लिनु हो। तसर्थ खः त्यलिगु जात्राको अर्थ खण्ड कब्जामा लिने जात्राको रूपमा लिनुपर्ने नीलबाराही गणनाचको गुठी नाइके प्रेम चन्द्र अदुवा श्रेष्ठले जानकारी दिए।

‘खः त्यलिगु जात्रामा मुख्य भूमिका भैरवको हुन्छ। भैरव निलबाराही गणनाचको सेनापति हो। भैरवले पहिलो बाराहीलाई लिएर युद्ध गर्न जाने र त्यसपछि भैरवले कुमारी, अनि सिंह, द्वारपाल र चार गणेशलाई छट्टाछुट्टै लिएर युद्ध गर्न जाने गर्दछ। पछि सबै जम्मा भएर नाच्छन्। यसलाई विजयी र्‍यालीको रूप लिइन्छ’ उनले भने।निलबाराही गणनाचको यो नाच प्रत्येक वर्ष नाच्ने नाचको भाव र आकृतिभन्दा फरक हुन्छ। १२ वर्षमा एक पटक नाचिने यो नाच फरक ताल र भावबाट नाच्ने भएकोले यसको महत्व फरक देखिन्छ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ। देवगणका सहयोगी (जसलाई स्थानीय भाषामा जोकल भनिन्छ) र बाध्य वाधक गरी १०० जना भन्दा बढी व्यक्तिहरू यो नाचमा क्रियाशील हुने गर्दछन्। यो नाच बोडको नारायणथान लाछीबाट सुरू भई लायकु छें, विष्णु घाट महालक्ष्मी थान भाँगुटोल, खोंसी टोल निलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन हुने गर्दछ।

प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत देवी नाच देखाइने गर्दछ। यो नाच फरक फरक दिन र समयमा फरक फर स्थानबाट नाच सुरु गर्ने परम्परा रहेको गुठी नाइके श्रेष्ठले बताए। निलबाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो। यसमा कठिन विधि विधान रहेको श्रेष्ठले बताए। 'यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने हुन्छ, 'उनले भने, 'बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आशन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,' उनले भने।

यो नाचमा एक पटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ। 'देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएका उनको मुकुण्डो देव घरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,' श्रेष्ठले भने।
यो नाच कहिले देखि सुरू भएको भन्ने बारे एकीन प्रमाण फेला परेको छैन। तर भक्तपुरको नवदुर्गा नाचसँगै निलबाराही नाच सुरू भएको स्थानीय वृद्धाहरू बताउँछन्।

यो नाचको बारेमा प्रचलित किवंदन्ती अनुसार निलबाराही देवी मानिसको रुपमा बोडेमा आएर स्थानीय धोँ जातका एक मानिसलाई निलबाराही जंगलमा चार दिनसम्म राखेर नाचको सम्पूर्ण विधि विधान सिकाएर पठाए अनुसार यो नाच सुरू भएको जनविश्वास रहेको पाइन्छ।

निलबाराही स्वयं मनुष्यको रुप धारण गरी सिकाएको विश्वास रहेको यो नाचको लागि आवश्यक सामान र बाजागाजा समेत देवी स्वयंले नै बनाएर पठाएको विश्वास समेत रहेको छ। यसको प्रमाणको रुपमा भैरवले लगाउने तामाको माला रहेको छ। जुन माला त्यही धों भन्ने व्यक्तिको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पुर्‍याउन जानुपर्ने प्रचलन रहेको छ।

निलबाराहीले दिएर पठाएका अन्य सामानहरू अहिलेपनि एउटा काठको बाकसमा रहेको विश्वास गरिन्छ। पुरातात्विक महत्वको उक्त बाकस खोलेर हेर्ने भने गरेको छैन। यो नाचमा देवगणका देवताहरूले आफ्नो सम्पुर्ण खर्च आफु स्वयमले नै व्यर्होनु पर्दछ। गुठी नााइके अदुवा श्रेष्ठले भने, ‘देवतालाई चढाएको भेटी गुठीको कोषमा जम्मा हुन्छ। गुठीमा करिब ५ रोपनी जग्गा छ। त्यसैको बालीबाट यो नाचको तयारी गरिन्छ।’ उनका अनुसार भेटीबाट संकलन भएको रकमले अन्तिम दिन सामुहिक रुपमा भोज खाने गरिन्छ। 

निलबाराही गणनाच मल्लकालदेखि अटुट रुपमा चल्दै आएको नाच हो। कतिपय गणनाचहरू लोप भइसकेका छन् र लोप हुने अवस्थामा पुगेको छ। मध्यपुर थिमिकै नगदेशमा महाकाली, थिमिको लाय्कू भैल, थिमि भैललगायतका गणनाच र सलँचा प्याखँ, पुलु किसी प्याखँ, ईन्द्र अप्सरा, मयुर नाच लगायत परम्परागत नाच लामो समय बन्द हुने र केही युवाको सक्रियतामा यदाकदा सञ्चालनमा आउने गरेका छन्।

यस्तो अवस्थामा अटुट रुपमा सञ्चालन हुँदै आएको निलबाराही गणनाचको संरक्षण र संवर्द्धनको लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.