|

पाल्पा : सेवाग्राहीको घुइँचो लाग्ने कार्यालय साविकको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय अहिले सुनसान बनेका छन्। दुई/चारजना सेवाग्राही भने अहिले पनि दैनिकजसो आउने गर्दछन्। तर, मौखिक सेवाबाहेक अन्य कुनै प्रकारको सेवा पाउँदैनन्। धेरै टाढाबाट आउने उनीहरू रित्तै फर्किनुपर्ने बाध्यता छ। यद्यपि कार्यालयमा साविकका हाकिमसहित केही कर्मचारी छन्। तर, ती हाकिम र कर्मचारीले आएका सेवाग्राहीलाई मौखिक सुझाव सल्लाह दिने र अब यो कार्यालयको सेवासुविधा गाउँपालिका तथा नगरपालिका कार्यालयबाट नै पाउनुहुन्छ भन्ने जानकारी दिने बाहेकको कुनै अधिकार छैन।

साविकको जिल्ला कृषि विकास कार्यालय तर हाल कुनै पनि नाम नतोकिएको कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतसहित अन्य दुईजना कर्मचारी छन्। उनीहरू कामविहीन भएर बसिरहेका छन्। उनीहरूलाई दिन कटाउनसमेत कठिन भइरहेको छ। थाहाखबर अनलाइनका संवाददाता कार्यालय पुग्दा साविक कृषि कार्यालयका प्रमुख किशोरमान श्रेष्ठ सोफामा बसेर मोवाइल फोनमा कुरा गरिरहेका थिए। उनले कुनै एक सेवाग्राहीलाई मोबाइल फोनबाट नै सल्लाह दिइरहेका थिए। 
फोन राखेपछि उनले खुसी हुँदै भने, 'एकछिन भए पनि तपाईसँग गफ गरेर समय बिताउन पाइने भो।' उनले थपे, 'कार्यालय खारेज भयो हामी यहीँ छौँ। न कार्यालय छ, न मेरो पद अनि जिम्मेवारी छ। ए फोर साइज अर्थात् सादा कागजमा हाजिर गर्नमात्र कार्यालय आएजस्तो भएको छ। पुरानो रजिष्टर देखाउँदै उनले भने पहिले यसमा हाजिर गर्थें अहिले (अर्को सेतो कागजको देखाउँदै) भने यसमा हाजिर गर्दै आएको छु। उनी पहिलेको कार्यालय प्रमुख हुँदा बस्दै आएको कुर्सीमा समेत त्यति बस्दैनन्। त्यो कुर्सीमा बस्ने अहिले मेरो पद छैन,' उनले भने। 

गएको असार मसान्तबाट कार्यालय खारेज भए पनि उनीसहित यहाँका अन्य दुईजना कर्मचारीको कुनै व्यवस्थापन भएको छैन। दिनभरी कार्यालयमा बसेर नै दिन कटाइरहेका छन्। काम गरिरहने बानी परेको थियो, अहिले बिहान १० वजेदेखि वेलुकी ५ बजेसम्म काम नगरेर बस्नुपर्दा दिन कटाउन समेत कठिन भइरहेको छ किशोरमान श्रेष्ठले भने। कहिलेकाँहि सेवाग्राही आउँछन् उनले भने सामान्य मौखिक सल्लाह दिएर पठाउछु।

प्रायः अन्य दिन सोफामै बसेर बिताउछु। उनले थपे जिल्लामा रहेका कुनै कर्मचारी साथीको विदाइ तथा स्वागत कार्यक्रम भयो भने बोलाउछन् त्यहाँ जाने गर्छु। कहिलेकाँहि प्रशासनले डाकेको बैठकमा जान्छु तर मेरो तर्फबाट कुनै एजेण्डा हुँदैन। अहिले जिल्ला प्रहरी कार्यालयले राशनको दर भाउ उपलब्ध गराइदिन भन्दै पत्र पठाएको छ श्रेष्ठले भने खारेज भएको कार्यालयको लेटरप्याड, छाप प्रयोग गर्न मिल्दैन नयाँ अधिकार केही आएको छैन, काम रोकिएको छ। अर्को घटना सुनाए गएको पुस महिनामा बढुवा भएर गएका यहाँका एक जना कर्मचारीको पदस्थापन गत साउन महिनामा भयो तर रमनापत्र दिन नपाउँदा उनले तलब समेत खान पाएका छैनन्। 

पशु कार्यालयका कर्मचारीको काम घाँस काट्ने 

त्यस्तै, साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले कार्यालय खारेज भएसँगै आफूहरूलाई कुनै कामको जिम्मेवारी नआएको बताउँछन्। 'कार्यालय खारेज भएसँगै प्रमुख पनि सरुवा भएर गए' उनले भने, 'अहिले मसहित चारजना कर्मचारी छौँ, तर काम केही छैन। कार्यालयमा आउने हाजिर गर्ने  काम मात्र भइरहेको छ। यद्यपि कार्यालय परिसरमा उम्रिएको घाँस काट्ने र झाडी सफा गर्ने काम भने गरिरहेका छौँ।'

खारेज भएको कार्यालयको निमित्त प्रमुख भए म, ज्ञवालीले थपे यहाँ आएका किसानलाई सेवा दिने अधिकारसमेत छैन, तर सुझाव सल्लाह भने दिने गरेको छु। उनले थपे आएका सेवाग्राहीलाई अब सेवा पाइने गाउँपालिका र नगरपालिकाबाट हो भन्ने जानकारी दिँदै आएको छु।

उनीलगायत कार्यालयमा रहेका अन्य तीनजना कर्मचारीको कार्यालय समय यसैगरी नै बितेको छ। 'कहिलेकाहीँ प्रशासनबाट बैठकमा बोलाउने गर्नुहुन्छ त्यहाँ जाँदा दिन बिताउन सजिलो हुन्छ बाँकी अन्य दिनमा के गर्ने? न समयमा तलब पाइएको छ न काम पाइएको छ' उनको गुनासो थियो। यो कार्यालय किसानसँग प्रत्यक्ष सम्बन्ध भएको हुनाले यसको छिटो टुंगो लगाउन सम्बन्धित निकायलाई उनले अनुरोध पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.