|

चितवन : करिब एक साता पुग्न लागेको थियो, हात्तीसहितको टोलीले मान्छे खाने बाघ खोजेको। ठूलो सकसबीच टोलीलाई बिहीबार साँझ सफलता मिल्यो। चितवन राष्ट्रिय निकुञ्जले मान्छेखाने बाघलाई माडीबाट नित्रयन्त्रण लिएको हो।

बिहीबार साँझ पौने ७ बजे डाट गरेर बाघ नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

भदौ ७ मा वस्तु चराउन गएका दक्षिण चितवनको माडी नगरपालिका–९ गोविन्दवस्तीका ५६ वर्षीय जीतबहादुर राई घर फर्किएनन्। खोजी गर्दै जाँदा भदौ ८ मा शरीरका केही अंग बाघले खाएको अवस्थामा राईको शव फेला परेको थियो। कार्यालयको प्रारम्भिक अनुसन्धानले उक्त बाघ समस्याग्रस्त रहेको निष्कर्ष निकालेर अर्काे दिनदेखि नै बाघ नियन्त्रणका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरियो।

त्यही टोलीले करिब एक साताको अथक प्रयासपछि बाघ नियन्त्रणमा लिएको हो। बाघ वयस्क भएकाले समाउन कठिन परेको टोलीको नेतृत्व गरेका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेले बताए। बाघ करिब १० वर्षको भाले हो। ‘खाना पानी नभनीकन बिहानदेखि खटिएका थियौ, साँझ ६ः४२ मिनेटमा खोरमा राख्यौं,’ डा. गैरेले अनुभव सुनाउँदै भने, ‘यसपाली बाघले धेरै डुलायो।’ यसअघि मंगलबार नियन्त्रण गर्नै लाग्दा बाघ फुत्किएको थियो। 

बाघ घटनास्थल नजिक डुल्दै आउँथ्यो। बेलाबेला देखिने र हराउने भइरहन्थ्यो। तर, डाट गर्न सकिएको थिएन। भौगोलिक अवस्थाले गर्दा बाघलाई डाट गर्न सकस भएको प्राविधिकहरुले बताए। वन्यजन्तुलाई डाटगनमार्फत बेहोस पार्ने औषधि पठाएर नियन्त्रणमा लिने गरिन्छ। भौगोलिक अवस्था नमिलेमा वन्यजन्तुलाई डाट गर्ने बेलैमा जोखिममा पर्न सक्छ भनेर उचित वातावरण खोज्नु पर्छ।

यसअघिको मकवानपुरको मनहरी नजिक प्रतापपुर वा पश्चिम चितवनको शुक्रनगरमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन यति सकस परेको थिएन। 

भदौ ७ मा मान्छे मारेको बाघले त्यसलगत्तै अर्काे दिन एउटा बाच्छी समेत खाएको थियो। त्यसपछि जंगलमा पाडो राखेर नियन्त्रण प्रयास गरिएको थियो। त्यो पाडो समेत बाघले खाइसक्दा बाघलाई डाट गर्न मुस्किल परेको थियो। ‘भौगोलिक अवस्थानै त्यस्तै भो, दिउँसो पनि देखिएको थियो,’ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन्, ‘तर खोंचले डाट गर्न समस्या पार्यो।’

सामान्यतः बाघ आफुले मारेर छाडेको शिकार लिन आउने गर्छ। जबसम्म शिकार सकिंदैन त्यो बाघ त्यही वरिपरि रहन्छ। बाघ नियन्त्रणमा लिन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली खटिएका थिए। टोलीमा छ वटा हात्ती प्रयोग गरिएको थियो। 

गत साउन २१ मा भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सुशीला डुम्रेलाई मारेको बाघ सजिलै नियन्त्रणमा लिन सकिएको निकुञ्जको भनाइ छ। त्यो बाघ भने खोरमै मरेको निकुञ्जले जनाएको छ। त्यसको केही समयअघि पनि खोरमा रहेको एउटा बाघ घाउको संक्रमणका कारण मरेको थियो। बिहीबार समातिएको बाघलाई त्यही खोरमा ल्याइएको छ।

फेरि बाघले मान्छे मार्‍याे

मान्छे मार्ने बाघ नियन्त्रण गर्न टोली परिचालन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.