|

काठमाडौं : युवा पुस्तामाझ लोकप्रिय लेखकका रूपमा परिचित सुविन भट्टराई विशेषत: प्रेममा आधारित उपन्यास लेख्न माहिर छन्। उनका 'कथाकी पात्र' कथासंग्रह, 'समर लभ', 'साया', 'मनसुन' उपन्यास बजारमा आइसकेका छन्। 'प्रिय सुफी' असोजमा ल्याउने अन्तिम तयारीमा छन्। यसअघिका कृतिले जस्तै प्रिय  सुफीले पनि पाठकको माया पाउने कुरामा विश्वस्त छन् उनी। 

'कथाकी पात्र'को कथा 

सुविन भट्टराईको लेखनका सुरुवाती दिनदेखि डिग्री नसकिउन्जेलसम्म लेखिएका कथाहरू छनोट गरेर वि.सं. २०६७ मा प्रकाशित गरिएको पहिलो कृति हो- 'कथाकी पात्र।' भर्खर डिग्री सकेका थिए उनले त्यस बेला। बेरोजगारीको चरम संकटमा हुँदा प्रकाशन गरेको यस कृतिले उनको लेखक बन्ने ठूलो सपना पूरा गरिदियो। पाँच पोखरी प्रकाशन गृहबाट प्रकाशन भएको यस पुस्तकले लेखकको रूपमा उनलाई स्थापित गर्न केही हदसम्म सफल पनि भयो।

आफैँले  लगानी गरेर  प्रकाशन गरेको उक्त कृतिले सोचेभन्दा बढी नै लोकप्रियता पाएको अनुभव गर्छन् उनी। समालोचकीय दृष्टिबाट भने अत्यधिक मनपराइएको थियो यो कृति। त्यस बेला नयाँ ट्रेन्डका कथा पढ्न रुचाउनेका लागि उक्त किताब पहिलो रोजाइमा परेको थियो। थोरै पाठकले पढे पनि उनको यस कृतिले सकारात्मक प्रतिक्रिया पायो।

यसमा संगृहीत १३ वटा छोटा कथाहरू, विशेषत: मनोवैज्ञानिक, प्रेम, आत्मपरक शैलीले बच्चादेखि वृद्धसम्मका पाठकको ध्यान तानेको थियो। उनी भन्छन्, 'सोचेको थिएँ, दुई चार सय प्रति बिक्री होला तर पन्ध्र सय प्रति बिक्री भएको थियो त्यसबेला।' 'समर लभ' प्रकाशनपछि भने सुविन सेलिब्रेटी लेखक बने। उनको माग ह्वात्तै बढ्यो नेपाली साहित्यिक प्रकाशन बजारमा। फलस्वरूप कथाकी पात्रको अर्को संस्करण निकाल्ने जिम्मा फाइन प्रिन्टले लियो। यो पुस्तक आजसम्म लगभग पन्ध्र हजार प्रति बिक्री भइसकेको  बताउँछन् उनी।

कलेज जीवनका अनुभूतिले जन्मायो 'समर लभ' 

'कथाकी पात्र' निस्किएको दुई वर्षपछि उनको नयाँ उपन्यास 'समर लभ' प्रकाशन भएको थियो। भर्खर डिग्री सकेकाले कलेजका दिनहरू उनका आँखैमा आइरहन्थे। तिनै पृष्ठभूमिलाई समेटेर उनले 'समर लभ' तयार पारे। त्यति बेलासम्म उनी दुई कलेजमा पार्ट टाइम पढाउने काम गर्थे। उनी भन्छन्, 'पार्ट टाइम भन्नु मात्रै थियो, पूर्ण रूपले बेरोजगार भन्दा फरक पर्दैन।' उनको 'कथाकी पात्र'ले नयाँ किताब लेख्ने ऊर्जा थपेको थियो।

सरल भाषामा धेरै पाठक वर्गसम्म पुग्न सक्ने हेतुले नयाँ सोच बनाए उनले। विशेष गरेर युवा पिँढीलाई प्राथमिकतामा राखेर उनले यो पुस्तक लेखेका थिए। उनी भन्छन्, 'म नेपालका युवा पिँढीमाझ पठन संस्कृति विकास हुनुपर्छ भन्ने सोच्थेँ। त्यहीअनुरूप नै मैले समर लभ लेखेको हुँ।' अतीत र साया पात्र मुख्य पात्र रहेका छन् यस कृतिमा। उनीहरूको मिलन, बिछोड र रोमान्सलाई विषयवस्तु बनाएर लेखिएको समर लभ बजारमा आइसकेपछि उनी युवाहरूमाझ प्रिय बने। कतिपय लेखकहरू के सम्म भन्छन् भने समर लभ नेपाली साहित्यको यस्तो पुस्तक हो, जसले नेपाली युवाहरूमाझ पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

साहित्यमा विकर्षित युवा पुस्ता समर लभका कारण आकर्षित भएको कुरा स्वयम् सुविन पनि स्वीकार्छन्। उनी भन्छन्, 'समर लभले पाठकको मन जित्छ भन्ने विश्वस्त थिएँ। लेख्दै गर्दा म आफैँ पनि एकदमै सन्तुष्ट थिएँ।' उनलाई लागेको थियो- यो उपन्यास नेपालको राम्रो प्रकाशन गृहलाइ दिनुपर्छ। एक दिन पत्रकार तथा उनका साथी विमल आचार्यले फाइन प्रिन्टसँग कुरा गरिदिए, वि.सं. २०६८ मा।

एक वर्षपछि फाइन प्रिन्टले उनको उक्त पुस्तक छाप्यो। उनी भन्छन्, 'आजसम्म पनि म समर लभकै ब्याज खाइरहेको छु।' हालसम्म यो कृति साठी हजार प्रति बिक्री भइसकेको बताउँछन् उनी। यही पुस्तकमा आधारित भएर फिल्म पनि चाँडै आउँदै छ।

पाठकको दबाबले लेखियो 'साया'

'समर लभ'को भाग २ भन्न रुचाउँछन् सुविन 'साया'लाई। 'नयाँ किताब नलेख्नुहोस्, कृपया समर लभको स्याड इन्डिङलाई ह्याप्पी इन्डिङमा बदल्नुहोस्' भन्ने पाठकको आग्रहलाई उपेक्षा गर्न नसकेका कारणले साया जन्मिएको उनको भनाइ छ। यो उपन्यासलाई पाठकहरूको मायासहितको अनुरोधको प्रतिफल मान्छन् उनी। सामाजिक उपन्यास भन्न रुचाउने उनी समर लभमा भएका साया र अतीत नै यसका मुख्य पात्र भएको बताउँछन्।

'सुविनले प्रेमबाहेक अरू विषयवस्तुमा लेख्न सक्दैन। कृति नयाँ भए पनि स्वाद उही नै छ’, पछिल्लो क्रममा उनलाई मनपराउने पाठकले उनीमाथि यस्तो आरोप लगाइरहेका छन्। उनी यो आरोप सहर्ष स्वीकार्छन्। यही आरोपलाई खण्डन गर्नकै निम्ति उनले प्रिय सुफी लेखेको बताउँछन्।

समर लभ आफैँमा पूर्ण उपन्यास जस्तो लागेको थियो उनलाई। पाठकहरूलाई समर लभको स्याड इन्डिङ मन नपरेको र पात्रको मिलन गराउनुपर्‍यो भन्दै चर्को दबाब आएपछि साया लेखिएको उनको तर्क छ। उनी भन्छन्, 'केही प्रश्नको जवाफ दिनुपर्थ्यो। जस्तै : सायाले किन अतीतलाई छोडिन्? यसको चित्तबुझ्दो जवाफका लागि नै मैले साया लेखेँ।' दुई वर्षपछि २०७१ मा उनको साया बजारमा आयो, जुन आजसम्म ५५ देखि ६० हजार प्रति बिक्री भइसकेको बताउँछन् उनी। अडियो सुन्ने पाठक लाखौँ पुगेका छन्।

एकतर्फी प्रेमकथा 'मनसुन'

'कथाकी पात्र, समर लभ र सायाको भाषाभन्दा मनसुन अझ उत्कृष्ट छ भन्ने लाग्छ', भट्टराईको यो व्यक्तिगत अनुभव हो। वि.सं. २०७३ असोजमा प्रकाशन भएको यो कृति एकतर्फी प्रेममा आधारित छ। दुई युवायुवतीको एकतर्फी प्रेममा फस्दा उब्जिएका समस्या नै यसको विषयवस्तु हो। यसका दुई पात्र छन्- धरानकी मनसुन र काठमाडौंको सुदान। यी दुई पात्रको सामान्य कथा यसमा छ। यस कथाको विषयवस्तुमा भन्दा लेखनमा आफू बढी सन्तुष्ट रहेको बताउँछन् उनी।

पाठकको आरोपको खण्डनका लागि 'प्रिय सुफी'

'सुविनले प्रेमबाहेक अरू विषयवस्तुमा लेख्न सक्दैन। कृति नयाँ भए पनि स्वाद उही नै छ’, पछिल्लो क्रममा उनलाई मनपराउने पाठकले उनीमाथि यस्तो आरोप लगाइरहेका छन्। उनी यो आरोप सहर्ष स्वीकार्छन्। यही आरोपलाई खण्डन गर्नकै निम्ति उनले प्रिय सुफी लेखेको बताउँछन्। सम्भवत: असोजमा बजारमा आउने उक्त किताबको नाम झट्ट सुन्दा प्रेममै आधारित पुस्तक लाग्न सक्छ। तर यसको खण्डन गर्दै उनी भन्छन्, 'यो पुस्तकमा पारिवारिक र साथीभाइको प्रेम अनि केही सामाजिक सन्देशमा आधारित रहेकाले पाठकहरूलाई निश्चिन्त हुन आग्रह गर्छु।'

पाठकले उनीमाथि लगाएको आरोपलाई फरक विषयवस्तुमा लेखिएको प्रिय सुफीले के साँच्चै खण्डन गर्ला? त्यसका लागि केही समय पर्खिन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.