|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको चर्चा सुरु भएपछि महामन्त्री डा. शशांक कोइरालाको पनि सभापतिमा नाम चर्चामा छ। सभापतिमा आकांक्षाका साथ अघि बढेका कोइराला अहिले पार्टीभित्रका आफू निकट नेताहरूसँग छलफलमा व्यस्त छन्। 

पार्टीको विधानअनुसार २०७६ सालको फागुनमा १४औँ महाधिवेशन गर्नुपर्ने हुन्छ। उक्त महाधिवेशनका लागि कोइरालाले अहिलेबाटै लविङ सुरु गरेका छन्। पछिल्लो समय उनी पार्टी कार्यकर्ताको भेला, प्रशिक्षण तथा भेटघाट कार्यक्रममा समेत व्यस्त छन्। आफू निकटका नेताहरूसँग उनले पार्टी सुधारका लागि आफ्नो विकल्प नरहेको दाबी गर्दै आएका छन्। 

पार्टीलाई कोइराला परिवारमा पुनः ल्याउनका लागि कोइराला पररिवारका तीन प्रभावशाली नेताहरूसमेत लागिपरेका छन्। कोइराला परिवारका सदस्य डा. शशांक, डा. शेखर र सुजाता कोइराला यतिबेला आन्तरिक रूपमा छलफलमा छन्। उनीहरूले आफ्नो परिवारको विरासत जोगाउन एक हुनुको विकल्प नरहेको समेत आफू निकटहरूलाई बताउँदै आएका छन्। 

केही समयअघि विराटनगरमा भएको एक कार्यक्रममा जाँदा कोइराला निवासमा शेखर र शशांक सँगै बसेका थिए। उनीहरूले त्यसबेला पनि आउने महाधिवेशनमा पार्टी नेतृत्वको विषयमा निकै लामो छलफल गरेको उनी निकट स्रोत बताउँछ। कोइराला परिवारबाट सभापतिको उम्मेदवार हुँदा शशांककै नाम पहिलो नम्बरमा आउने कोइराला परिवार नजिकका नेताहरू बताउँछन्। ‘आउने महाधिवेशनमा कोइराला परिवारबाट एक जना नेतृत्वका लागि अघि बढ्ने पक्का छ’, कोइराला निकट स्रोत भन्छ, ‘अहिलेको पदको हिसाबले उहाँ (शशांक) पार्टी महामन्त्री हुनुहुन्छ। त्यस कारण उहाँ नै सभापतिको उम्मेदवार हुने धेरै सम्भावना छ।’

पछिल्लो समय शशांक कार्यकर्तासँगको भेटघाटका लागि देश दौडाहामा छन्। उनी विभिन्न कार्यक्रममा पुग्दै कार्यकर्तामाझ आफ्ना धारणा राख्दै आएका छन्। यसै क्रममा गत मंगलबार मात्र कोइराला सर्लाही पुगेका थिए। त्यहाँ भएको एक कार्यकर्ता भेलामा उनले आफूलाई आश मात्र होइन, अब विश्वास गर्नुपर्ने धारणा राखेका थिए। यसले पनि कोइरालाले सभापतिको तयारीमा रहेको स्पष्ट हुने कांग्रेसमा चर्चा छ। 

यस्तै, बिहीबार मात्र कोइरालाले आफ्नै निवासमा रात्रिभोजको आयोजना गरेका थिए। भोजमा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यसहित उनी निकटका नेता तथा कांग्रेसबाट जितेका गाउँ तथा नगरपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरूको पनि सहभागिता थियो। 

कोइराला परिवारले पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग असन्तुष्ट भएका नेताहरूलाई समेट्ने प्रयास गरिरहेका छन्। खासगरी कोइराला परिवारले कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह र अर्जुननरसिंह केसीको समूहलाई आफूहरूसँग सहकार्य गर्न ल्याउनका लागि छलफल गरिरहेको स्रोतले बताउँदै आएको छ। यसका लागि पार्टी नेता डा. शेखर सक्रिय छन्। 

शशांकले आफू कुनै पनि हालतमा सभापतिबाट पछि नहट्ने आफू निकटका नेतासँगको भेटमा बताउँदै आएका छन्। ‘मैले केही गरिनँ, मैले पार्टीका बारेमा बोलिनँ भनेर साथीहरूले भनिरहनुभएको छ’, उनीसँग निरन्तर भेट भइरहने एक नेताले कोइरालालाई उद्धृत गर्दै भने, ‘मैले बोलिरहेको छु। पार्टीभित्र गुटको अन्त्य गर्नुपर्छ भन्ने मेरो धारणा हो। तर आउने महाधिवेशनमा पार्टी सुधारका लागि भए पनि म जसरी पनि सभापतिको चुनाव लड्छु।’

तर उनी प्रचारका लागि भने कमजोर रहेको स्रोत बताउँछ। उनी आफू निकटका नेतासँग खुलेर सभापतिको उम्मेदवारमा चुनाव लड्ने दाबी गर्दै आएका छन् तर बाहिर भने उनी प्रचार गर्दैनन्। ‘उहाँ प्रचारमा चाहिँ कमजोर नै हुनुहुन्छ, प्रचारका लागि हामीले आग्रह गर्दा पनि प्रचारले मात्र जितिने हो र भन्नुहुन्छ’, स्रोतले भन्यो, ‘उहाँले हामीसँगको भेटमा प्रचार नगरी अघि बढ्छु, सभापतिको उम्मेदवार बन्छु भन्दै आउनुभएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.