|

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले रसायनिक मल युरिया वितरण नगरेको भन्दै स्थानीय कृषकले शुक्रबार कार्यालय घेराउ गरेका छन्। कम्पनीले कृषि सहकारी संस्थामार्फत किसानलाई सहुलियतमा रसायनिक मल वितरण गर्ने बताए पनि किसानले मल नपाएपछि सो कार्यालय घेराउ गरेका हुन्।

धानमा युरिया मल राख्ने बेला भएकाले ग्रामीण भेगबाट किसानहरू रसायनिक मल लिन कार्यालयमा आएपछि कम्पनीले मल नदिएको भन्दै कम्पनीको कार्यालय घेराउ गरेको सन्तपुरका किसान राम पुकार चौधरीले बताए। कम्पनीले ७४० रुपैयाँ प्रतिबोरा युरिया मलमा १२ रुपैया ५० पैसा छुटमा सहकारीलाई दिएको छ। बजारमा प्रतिबोरा युरिया मलको ८०० रुपैयासम्म पर्ने गरेको छ।

किसानले भने समयमा नै रसायनिक मल युरिया नपाएको गुनासो गरेका छन्। धान गोडेर मल हाल्ने बेला भइसकेकाले मल लिन आउँदासमेत नपाएपछि किसानहरू आक्रोशित भई कार्यालय घेराउ गरेका हुन्। कम्पनीको क्षेत्रिय कार्यालय वीरगंजबाट केहि दिनअघि १०२ मेट्रिक टन युरिया मल ल्याएको थियो। त्यसपछि शुक्रबार बिहान कम्पनीले १२२ मेट्रिक टन युरिया मल ल्याएको छ।

किसानले मल नदिएको आरोप लगाइरहेका बेला कम्पनीमा पर्याप्त मात्रामा रसायनिक मल रहेकाले अभाव भने नभएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख सुगन तिवारीले बताइन्। कृषि सामग्री कम्पनी लिमिटेडले १७७ मध्ये १३० सहकारी संस्थालाई रसायनिक मल उपलब्ध गराँउदै आएको उनले जानकारी दिइन्। करिव ६०० किसानले युरिया मलको माग गरेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।

कम्पनीको मल सहकारी हुदै व्यापारीको पसलमा

कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले विभिन्न सहकारीमार्फत वितरण गरेको मल चन्द्रनिगाहपुरका व्यापारीको पसलमा पुग्ने गरेको छ। कम्पनीले सहकारीलाई सर्वसुलभ दरमा उपलब्ध गराएको भएता पनि केही नामधारी सहकारीका संचालकहरूले सिधैँ व्यापारीलाई दिने गरेको पाइएको छ। कम्पनीमा ७४० मा पाइने युरिया मल पसलमा एक हजार पाँच सयमा समेत बेच्ने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.