|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शुक्रबार बिहानै सरकारी  मोटरसाइकलमा  चाउमिन लोड गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको देखियो। भे १ ब १२२५ सरकारी नम्बर प्लेटको मोटरसाइकल चाउमिन बोक्न प्रयोग भएको हो।

सुर्खेतको एरिचोकका पसलहरुमा चाउमिन पु¥याउन प्रयोग भएको उक्त मोटरसाइकल सुर्खेतको पञ्चपुरी नगरपालिकाको मोटरसाइकल भएको खुलेको छ। सेवाग्राहीलाई दिइने सेवा प्रभावकारी र सहज बनाउनका लागि राज्यले दिएको मोटर साइकल कर्मचारीले दुरुपयोग गरेका हुन्।

वीरेन्द्रनगरदेखि पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकाको मोटरसाइकल कार्यालय प्रयोजनमा प्रयोग नगरी वीरेन्द्रनगरमा व्यक्तिले निजी काममा प्रयोग गर्दै आएका छन्। नगरपालिकाका कार्यरत खानेपानी सहायक टेक्निसियन यामराज जोशीलाई उपलव्ध गराइएको सरकारी मोटरसाइकल निजी कम्पनीको चाउमिन बेच्न प्रयोग भएको हो। जोशीले सरकारी मोटरसाइकल कार्यालयमा नलगी व्यक्तिगत काममा प्रयोग गर्दै आएको खुलेको छ।

उक्त मोटरसाइकल दुई महिनाअघि खरिद गरिएको नगरपालिकाले जनाएको छ। स्रोतका अनुसार जोशीले उक्त मोटरसाइकल सरकारी कामका लागि एक दिन प्रयोग गरेका छैनन्। 

पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले कार्यालयको मोटरसाइकल दुरुपयोग गर्ने कर्मचारी जोशीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.