|

कञ्चनपुर : तीन पटक मन्त्री भइसकेकाको सन्तान कस्तो अवस्थामा बसेका होलान्? शहरमा बंगला, ओहोरदोहोर गर्न गाडी, आरामदायी जीवनयापन। तर तीनपटक मन्त्री भएका लवरु राना थारुका छोरा ६१ वर्षीय भज्जनसिंह रानाको हकमा यो  लागू हुँदैन।

कञ्चनपुरबाट पञ्चायत कालमा तीनपटक यातायात, भूमिसुधार र वनमन्त्री बनेका लवरु राना थारुका छोरा ६१ वर्षीय भज्जनसिंह कृष्णपुर नगरपालिका–२ मुक्त कमैया शिविरमा बस्छन्। उनी रहरले मुक्त कमैया बस्तीमा बसेका होइनन्।

मन्त्रीका जेठी श्रीमतीतर्फका जेठा छोरा ६१ वर्षिय भज्जन परिवारबाट अंश नपाएका कारण मुक्त कमैया शिविरमा बस्दै आएका हुन्। 'कान्छी आमाको कुरामा लागेर बुवाले अंश दिएनन्', उनले भने, ‘नौ वर्ष गाँउकै चमरु राना र खुसीराम रानाको घरमा कमैया बसेँ। कमैया मुक्ति भएपछि सरकारले दिएको पाँच कठ्ठा जग्गामा जीविका चलाउँदैछु।’

उनका कान्छी आमापट्टिका जेठा छोरा काठमामै बस्छन्। कान्छाले देखतभूलीमा रहेको जग्गा सम्हाल्दै आएका छन्। 'तर मैले भने मजदुरी गरेर जीविका धान्नु परेको छ', उनले भने, 'मेरा छोरा समेत मजदुरीमै लागेका छन्।’

'पढलेख गर्न सिकेनन्। गोरु, बाख्रा चराउन र जोत्नमै जीवत बित्यो। बुवाले दोस्रो बिहे गरेपछि घरबाट तिरस्कारमा परे। 'साँझ बिहानको खाना खर्च जुटाउन र लुगाफाटो जोड्नमै दिन बित्दा प्रगति हुन सकेन', उनले सम्झिए, ‘बुवासँग बीस बिघाभन्दा बढी जग्गा थियो। धेरै पटक अंश माग्ने प्रयत्न गरे पनि दिनै मानेनन्।' अंशकै लागि उनले बुवाविरुद्ध अदालतमा मुद्दा पनि हाले।

'अदालतले पैसा र जग्गा हुनेकै पक्षमा न्याय दियो। बुवाको देहवसान भएपछि अंश माग्नै छाडिदिएँ’, उनले भने। 

जीविका चलाउनका लागि बस्दै आएको शिविर नजिकैको जनहित महाकाली सामुदायिक वनमा नौ वर्षदेखि वन हेरालुका काम गर्दै आएका छन्। वन हेरेवापत उनले मासिक रूपमा आठ हजार रुपैयाँ पारिश्रमिक बुझ्छन्।

भज्जनका चार छोरा र एक छोरी छन्। छोराहरूले राजमिस्त्रीको कार्य गर्ने भएकाले यसैले परिवारको खर्च टर्ने उनले बताए। २०५७ सालदेखि उनी मुक्त कमैया शिविरमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.