|

रामेछाप : लिखु तामाकोसी गाउँपालिकाको धोबी–दिलौरी सडकखण्डको भुस्रा वनमा ६५ मिटर सडक ढलान गरेको १५ दिन नबित्दै भत्किएको छ। उकालोे सडक जोखिम ठाउँमा रहेकाले बलियो बनाउन पिचको सट्टा ढलान गरिएको थियो। तर, उक्त ढलान १५ दिन नबित्दै चिरा पर्नुका साथै छेउको भागबाट भत्किन थालेको छ। 

सडक डिभिजन कार्यालय सिन्धुलीले ६५ मिटर सडक ढलान गर्नका लागि १३ लाख रुपैयाँको ठेक्का आह्वान गरेकोमा दिनेश निर्माण सेवाले सात लाख ३५ हजार रुपैयाँमा ठेक्का पारेर काम गरेको थियो। 

निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले सडक निर्माण भइनसक्दै भत्किएको लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष पदमबहादुर तामाङले बताए। वडाध्यक्ष तामाङका अनुसार बोरामै ढिका भएको सिमेन्ट फुटाएर प्रयोग गरिएको छ। उनले भने, ‘वडाको तर्फबाट हामीले सचेत गरायौं तर हाम्रो कुरा सुनुवाइ भएन।’ सडक ढलानमा म्याद नाघेको सिमेन्ट प्रयोग गर्नुका साथै बालुवा पनि बाटो मिसिएको प्रयोग गरिएकाले सडक बनिनसक्दै भत्किएको स्थानीय सोमहरी गौतमको आरोप छ।

सडक ढलानसँगै नाला निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाला भने निर्माण गरिएको छैन। सडक ढलान गर्नुपर्ने ६५ मिटरमध्ये केही भाग ढलान नै नगरी निर्माण व्यवसायी हिँडेको स्थानीयको आरोप छ। 

तर, गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा न्यौपाले (दाहाल)ले भने वडाध्यक्ष तामाङ र स्थानीय गौतमको कुरामा विमती राखिन्। उपाध्यक्ष न्यौपानेका अनुसार सोही वडाको ढाँडेमा निर्माण भइरहेको लिखु ४ हाइड्रो पावरका लागि निर्माण सामग्री लिएर बढी भार भएका गाडीहरु गुड्ने भएकाले सडक बिग्रिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.