राम्रो आम्दानी देखाएर युवालाई विदेश नजान प्रेरणा दिने सोच

|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–१४ भैसेपाटी इटापुरका मधुकर राउत जागिरे जीवनबाट फर्केपछि कुखुरापालन व्यवसाय गरेर आम्दानी गरिरहेका छन्।

नेपाली सेनाको अस्पतालमा १८ वर्षसम्म सेवा गरेर घर फर्केका उनले त्यतिकै बस्नुभन्दा केही पेसा गरौं भनेर कुखुरापालन व्यवसाय सुरु भएको बताए। ‘जागिरे जीवनपछि के गर्ने भन्ने सोचमा थिएँ, पछि गिरिराज जातको कुखुरापालन व्‍यवसाय सुरु गरेँ’ राउतले भने।

०७४ मंसिरबाट सुरुमा दाना र चल्ला गर्दा ६०/६५ हजारबाट व्यवसाय थालेको उनी बताउँछन्। 'थालनी गरेको व्यवसाय अहिले साढे चार लाख भएको छ, अब लगानी छैन नाफा मात्रै हो’ उनले भने। फार्मबाट नै बेच्ने गरेको कुखुरा अहिले २३४ वटा छन्। कुखुरा किन्नका लागि ग्राहकहरु फार्ममा नै आउने गरेको उनले बताए। ‘सायद नयाँ ढंगले पालेकोले पनि होला, टाढा–टाढाबाट यहीँ किन्न आउने गरेका छन्,’ राउतले थपे।

चार रोपनी चार आना क्षेत्रफल जग्गामा सुरु गरेको कुखुरापालन व्यवसाय अहिले लगानी उठिसेकको उनको भनाइ छ। ‘राम्रो आम्दानी भइरहेको छ,’ उनले भने, ‘पेसाप्रति निकै सन्तुष्टि छु।’

पाँच वर्षसम्म चल्ला ल्याएर बेचविखन गरेका उनले पछिल्लो अवस्थामा आफैँले कुखुरा पाल्न थालेका हुन्। ‘भएको जग्गामा काम गर्ने मान्छे नपाएर खेत बाँझै रहिरेको थियो, के गर्ने भनेर सोचिरहेको थिएँ।’ राउतले भने, ‘पछि आफैँले चल्ला उत्पादनको लागि प्यारेन्ट जातको कुखुरा पाल्छु र गिरिराज कुखुरालाई लोकल ढंगले पालेर त्यही किसिमबाट बजारीकरण गर्छु भनेर वरिपरि झुल टाँगेर सुरु गरेको हुँ।’

कसैबाट सिकेर नभई आफैँबाट काम सुरु गरेको उनी बताउँछन्। ‘विदेश लागेका युवाहरुको लागि त्यहाँ होइन, यहाँ नै आम्दानी गर्न सक्छ भनेर सिकाउनका लागि पनि मैले यो गरेको हुँ।’ राउतले भने, ‘डुबे पनि आफैँ डुब्छु र फाइदा भए पनि म कसैलाई बाँड्नु पर्दैन भनेर गरेँ, तर एकदमै राम्रो हुँदोरहेछ।’ कुखुरा फार्मसँगै रहेको एउटा कुनामा पानी पोखरी बनाएर उनले माछासमेत पालिरहेका छन्।

ब्रोइलर कुखुरा आकाशे खेतीजस्तै

कुखुरामध्येमा ब्रोइलर कुखुरा आकाशे खेतीजस्तै लागेको उनी बताउँछन्। ‘मेरो अनुभवमा ब्रोइलर कुखुरा भनेको आकाशे खेतीजस्तै हो, कुखुरा राम्रोसँग धेरै पाल्ने वेलामा भाउ घट्ने र भएका कुखुरामा पनि के–के भएर बिग्रने गरेको हुन्छ।’ उनले भने, ‘बजार धेरै छ, तर सुरक्षाको ग्यारेन्टी छैन।’

सो कुखुरा पाल्दा माग र आपूर्ति भए पनि सुरक्षा नभएको उनले अनुभव सुनाए। ‘ब्रोइलर कुखुरमा रोग धेरै हुने गिरिराज कुखुरामा कम मात्र रोग लागेको पाएँ, यसरी छाडा छोडेका कारण यी कुखुराहरुले घाँस, माटो, किरा लगायतका खानेकुरा खान्छन्, रोग लागेको भेटाएको छैन, राम्रो छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.