तस्करीसहित आपराधिक क्रियाकलाप रोक्न दुवै देशका सुरक्षा निकाय सहमत

|

भद्रपुर, (झापा) : पूर्वी नेपालको झापा र भारतको पश्चिम बंगाल सीमावर्ती बजार क्षेत्रमा पछिल्लो समयमा विभिन्न अपराधिक घटनाहरू बढ्न थालेको पाइएको छ। पछिल्लो समयमा झापाको काँकडभिट्टा र पश्चिम बंगालको पानीटंयाकी र नक्सलबाडीका बजार क्षेत्रमा दुवै देशको अर्थतन्त्रलाई धरायशी बनाउने उद्देश्यले तस्कर समूहले विभिन्न अपराधिक गतिविधिलाई बढाएका छन्। साथै यसले सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई समेत चुनौती दिन थालेका छन्।

काँकडभिट्टा नाकादेखि ७ किलोमिटर उत्तरमा रहेको भारतीय नक्सलबाडी बजार क्षेत्रबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले केही दिनअघि मात्र नेपाली नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै शुक्रबार नक्कली सुनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

एसएसबी ४१ बटालियन टोलीले बिस्कुट आकारको १२५ पिस नक्कली सुनसहित दार्जिलिङ निवासी दिलीप गुरुङ र सेरिङ भुटियालाई पक्राउ गरेको नक्सबाडी प्रहरी थानाका इञ्चार्ज तपनकुमार पाललाई उद्धृत् गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पक्राउ परेका दुवै नेपालीभाषी भारतीय नागरिक हुन्। उनीहरूलाई विशेष सूचनाको आधारमा नक्सलबाडी रथखोला क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ। पक्राउ परेका मध्ये गुरुङ नक्कली सुन लिएर सिलगढी बजारतर्फ गइरहेका थिए। उनीहरूले नेपालबाट सुन भित्र्याएको बंगाल प्रहरीले आशंका गरेको छ।

नक्कली सुन कसरी र कहाँबाट ल्याएको विषयमा बंगाल प्रहरीले थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भदौ १२ गते एसएसबी ४१ वटालियन टोलीले एक हजार दरका आठ सय थान अर्थात आठ लाख नेपाली नक्कली नोटसहित नक्कलबाडी निवासी मनोज आचार्यलाई पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानको क्रममा आचार्यले उक्त परिणामका नेपाली नक्कली नोट काकँडभिट्टाबाट नेपाल भित्र्याउने योजनामा रहेको खुलेको थियो।

गत साउन २९ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारत पश्चिम बंगला राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय शतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई ५० हजार  नेपाली नक्कली नोटसहित पक्राउ गरेको थियो। उनीहरूले धुलावारी बजारबाट नेपाली नोट बोकेर भारतीय रुपैयाँमा साट्न काँकडभिट्टामा घुमिरहेका थिए।

प्रहरीले सतिसको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। काँकडभिट्टापानीट्यांकी सीमावर्ती नाकामा दुवै देशका सुरक्षाकर्मीले कडा रूपमा चेकजाँच गर्दासमेत गिरोहका व्यक्तिले नक्कली नोट र नक्कली सुन ओसारपोसार गरी अर्थतन्त्रलाई धरायशी बनाउने योजना लागि परेको यी घटनाहरूले पुष्टि गर्दछ।

पहिला यी नाकाबाट लत्ताकपडा, सुख्खा सुपरी, गाईगोरु, मरिच, लागुऔषध, मानवतस्करी हुँदै आएको थियो। तर, पछिल्लो समयमा नोट र सुनको कारोबार हुन थालेपछि सीमा सुरक्षामा थप चुनौती थपिएको छ।

यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार सीमा क्षेत्रमा अपराध बढनुभन्दा प्रहरी सक्रियता बढेको बताए। नक्कली नोटको बारेमा दुवै देशका सुरक्षा निकायबाट अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक ढकालले भने,  ‘नक्कली सुनको विषयमा हामीलाई थाहा छैन, यस बारेमा भारतीय सुरक्षाकर्मीसँग बुझ्छौ।

'सीमा सुरक्षाका विषयमा नेपाल प्रहरी गम्भीर छ, सबै सीमा क्षेत्रका युनिटलाई तस्करीसहित अपराधिक क्रियाकलाप रोक्न निर्देशन दिइसकेका छौँ, उनले थपे। अर्थतन्त्रलाई धरायशी बनाउने योजनाकारहरूलाई पक्राउ गर्न प्रहरी लागि परेको उनको भनाई छ।

तस्करीसहित अपराधिक क्रियाकलाप रोक्ने सहमति

काँकडभिट्टापानीट्यांकी सीमावर्ती क्षेत्रमा तस्करीसहित अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणका लागि नेपालभारतका सुरक्षा निकाय तथा भन्सार अधिकारी सहमत भएका छन्। पछिल्लो समयमा सीमासँग जोडिएका अपारधिक घटनाहरू बढेसँगै भारतको पानीट्यांकीस्थित सशस्त्र सीमा सुरक्षा वल (एसएसबी) ले आयोजना भेटघाट कार्यक्रममा दुवै देशका सुरक्षा तथा भन्सार अधिकारीले अपराधिक तथा तस्करी गतिविधि रोकथाम तथा नियन्त्रणका लागि आआफ्नो निकायबाट सहयोग पुर्‍याउने बारेमा सहमति जनाएका छन्।

साथै भन्सारबाट आयातनिर्यात हुने वस्तुहरूमा सहज बनाउने विषयमा पनि छलफल गरिएको थियो। कार्यक्रममा नेपाली पक्षबाट मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार प्रमुख टेकबहादुर अर्याल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी बल भन्सार गुल्मका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे र भारतीय पक्षबाट एसएसबी एडीजी ज्योतिमय चक्रवर्ती, कमान्डर राजीव राना, भन्सार प्रहरी इन्स्पेक्टर रीना लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.