|

बैतडी : जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन्। जिल्लामा रहेका १० स्थानीय तहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन्। चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँचवटा स्थानीय तहका मुकाम अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन्। जसमा एक नगरपालिका र चार गाउँपालिका बिद्युतविहीन रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्।

स्थानीय तहमा विद्युत् नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ। पुर्चौडी नगरपालिका, सिगास, डिलाशैनी, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा अझै विद्युत्को पहुँच पुग्न नसकेको हो ।

विद्युत् लाइन नहुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। 'विद्युत् नहुँदा गाउँपालिकामा इन्टरनेटसमेत जडान गर्नसकिएको छैन' उनले भने, 'गाउँपालिका कार्यलयमा सोलार बत्ती रहेको भएपनि वर्षतको समयमा घाम नलाग्दा सोलारले काम गर्न छोडेको छ।'

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका सिगासमा पनि विद्युत् नहुँदा कार्यालयको नियमित कामकाजमा समेत समस्या हुने गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। 'सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युतबाट हुने कामको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ बिजुली बत्ती कार्यालयसम्म नपुग्दा सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी, कम्प्युटरसमन्धी अत्यावश्यक काममा असहज भएको  छ' उनले भने, 'गत महिनामात्रै स्थापना भएको कृषि विकास कार्यालयमा समेत इन्टरनेट जडान गर्न नसक्दा सेवा सुभारम्भ हुन सकेको छैन्।'

बिजुली बत्ती नहुँदा सोलार बत्तीको भरमा स्थानीय तहले कार्यालयमा सम्पूर्ण कार्य सम्पादन गर्दा समस्या हुने गरेको छ। सोलार बत्तीले घाम लागेको बेला मात्रै काम गर्ने र घाम नलागेको बेला काम नहुने हुँदा दैनिक कामकाजमा समस्या हुदै आएको पुर्चौडी नगरपालिकामा उपप्रमुख जानकी बमले बताइन्। 'स्थानीय खोलावाट लघुजलविद्युत् आयोजनावाट बिजुली निकालिएको भए पनि काम नलाग्ने भएको छ', उनले भनिन्, 'रातिको समयमा बत्ती बाल्न मात्रै विद्युत् आपूर्ति गर्ने गरिएको छ।, कार्यालय समयमा बिजुली आउदैन्।'

नगरपालिकाको कार्यालयमा विद्युत् नहुँदा विकास निमार्णका काममा समेत बाधा पुगेको छ। योजना सम्झैता र मूल्यांकनका काम कम्प्युटरबाटै गर्नुपर्ने भएकाले सोलारको ब्याट्रीले ब्याकप नधान्दा हप्तौँसम्म ढिला हुने गरेको उनले बताइन्। उनले भनिन्, 'कतिपय उपभोक्ता त रित्तै फर्किन पर्ने बाध्यतासमेत रहेको छ।' 

पञ्चेश्वर गाउँपालिकामा पनि सोलारवाट विद्युतीय कामकाज हुने गरेको छ। कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्पयुटर खुल्ने तर पानी परेको बेला सेवाग्राहीहरूलाई रित्तै फर्काउनुपरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।  'सबै कामकाज बिद्युतीय उपकरणबाटै गर्नुपर्ने भएकाले सोलारबाटै धान्न सक्दैन्', उनले भने, 'योजना इस्टमेटलगायत अन्य कार्यसम्पादन कम्प्युटरबाटै गर्नपर्ने भएकोले अप्ठ्यारो हुँदै आएको छ।' 

लगातार दुई/तीन दिनसम्म घाम नपरेको बेला ब्याट्री ब्याकपले नधान्ने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उनले बताए।

डिलाशैनी गाउँपालिकामा पनि विद्युत नहुँदा कामकाजमा धेरै ढिलासुस्ती हुने गरेको छ। गाउँपालिकाको केन्द्रमा विद्युत् नभएको  सेवाग्राहीले भनेको समयमा सेवा दिन नसकिएको वडा नं १ का वडा अध्यक्ष अक्कल रानाले बताए।  

विद्युत नपुगेका स्थानीय तहहरुले विद्युत सेवा विस्तारका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। विद्युत् नभएका सबै स्थानीय तहबाट विद्युत् विस्तारका लागि निवेदन आए पनि बजेटको अभावमा विद्युत् सेवा विस्तार गर्न सकिएको छैन्।

विद्युतको पहुँचभन्दा बाहिर रहेका स्थानीय तहहरूले विद्युत् विस्तारका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग आग्रह गरेको जनाएका छन्। तत्कालीन जिल्ला विकास समितिले २०७० सालमा प्रकाशन गरेको जिल्ला पार्श्वचित्रका अनुसार जिल्लामा ४५ हजार १९१ घरधुरी छन्। त्यसमध्ये नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार बैतडीका १२ हजार घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ।

ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजनाहरू पनि पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहहरूले विद्युतको समस्या झेलिरहेका हुन्। जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन्। सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.