|

बागलुङ : भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई आग्रह गरेकी छन्। संघीयताको कार्यान्वयनको पहिलो चरणमा कर आतंकबारे आएका हल्लाले व्यवस्थामा असर पर्ने देखिएको भन्दै उनले जनतालाई सकस पर्ने गरी कर बढाउन नहुने बताएकी हुन्। 

आदर्श संचार सहकारी संस्था लिमिटेड बागलुङको १२ औं साधारणसभामा आएकी मन्त्री अर्यालले जतासुकै कर बढ्यो, जन्मेदेखि मृत्युसम्म कर भन्ने भ्रम हटाउन सकिने गरी कामगर्न उनले आग्रह गरेकी थिइन्। शनिबार साधारणसभा उद्घाटनका लागि मन्त्री अर्याल बागलुङ आएकी थिइन्।

कार्यक्रममा मन्त्री अर्यालले वर्तमान सरकार गठन भएपछि जनताको विपक्षमा हुने कुनै काम नगरेको भन्दै सरकारको बचाउ गरिन्। उनले प्रतिपक्षले लगाएको आरोपमा सबै लागेको भन्दै सबै जनताको पक्षमा काम गरेको बताइन्। व्यवस्थापकीय काममा अल्मलिएकोले सरकारले गति लिन नसकेको भन्दै केही समयमा तीव्र गतिमा काम गर्ने दावी गरिन्। सरकारको मूल्यांकन गरी हाल्ने समय नआएको समेट उनले बताइन्। बागलुङका सहकारी संस्थालाई ठूलो पुँजी बनाएर उत्पादनमूलक काममा लगानी गर्न पनि उनले सल्लाह दिएकी थिइन्। 

सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्न नीति सरकारले बनाउने तयारी गरेको भन्दै लगानी भने सहकारीले गर्नुपर्ने तर्क राखिन्। उनले भूमिको व्यवस्थापनमार्फत युवा रोजगारी र उत्पादन बढाएर बिदेश पलायन रोक्ने कार्यक्रम बनाउन लागेको समेत जानकारी दिइन्। मन्त्री अर्यालले सानो समूहमा छरिएर रहेका सहकारीको एकीकरण गर्ने र त्यहींको पुँजीलाई उत्पादनमा लगाउन पहल गर्ने बताएकी हुन्।

‘अब हामीले बचत मात्र गर्ने होइन। लगानी पनि बढाउनु पर्छ’ उनले भनिन्,‘लगानी गर्न नपाएमा त्यो बचतले केही फाइदा हुँदैन। त्यसैले ठूलो लगानीमा लैजान सकेमा व्याजदर पाउने र उचित फाइदा लिन सकिने संभावना छ।’ अव धेरै नभई थोरै सहकारीमार्फत बढी उत्पादनका कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिइन्। धेरै सहकारी भन्दा सरकारको नजरमा देखिने थोरै सहकारीहरू बन्नुपर्ने उनको भनाई छ। 

गणतन्त्र र संघीयतामा गइसकेपछि सहकारीहरूको उद्देश्यमा परिवर्तन गर्नुपर्ने उनले बताइन्। अब देशले आर्थिक समृद्धिका लागि राखेको उद्देश्य जस्तै सहकारीहरूले पनि आर्थिक समृद्धिकै लागि भूमिका खेल्नुपर्ने बताएकी थिइन्।

राज्यले आर्थिक समृद्धिको बाटो रोजि सकेकोले अब सबैले त्यही बाटो समात्नु पर्नेमा उनले जोड दिइन्। सहकारीहरुले बचत उठाएर खान्छन् भन्ने पुरानो धारणा अव परिवर्तन हुन लागेकोले त्यो प्रमाणित गरेर देखाउनु पर्नेमा पनि उनले जोड दिएकी थिइन्। सरकारले सबै लाई रोजगारी दिने, नभए बेरोजगार भत्ता दिने नीति लिएको भन्दै त्यसका लागि सहकारीहरू राज्यको सहयोगी बन्ने बताइन्। उक्त अवसरमा प्रतिनिधि सभाकी सांसद मनकुमारी केसीले सहकारीमार्फत गाउँगाउँका महिला, किसान र युवा संगठित भएको बताइन्। 

चार पत्रकार पुरस्कृत

धौलागिरीमा क्रियाशील चार जना पत्रकार शनिबार बागलुङमा पुरस्कृत भएका छन्। आदर्श सञ्चार सहकारी संस्थाले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा बागलुङ र पर्वतका चारजना पत्रकारलाई नगदसहित सम्मान गरेको हो। पत्रकार सन्तोष क्षेत्री र सिर्जना पन्तले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका संवाददाता संगम घर्ती मगरलाई सम्मान तथा पाँचहजार नगदले पुरस्कृत गरिएको थियो। 

आदर्श सञ्चार सहकारीले स्थापना गरेको कोषबाट पर्वतका पत्रकार लक्ष्मण सापकोटा, बागलुङका पत्रकार बालकृष्ण सुवेदी र रामनारायण सुवेदीलाई पाँचहजार नगदसहित पुरस्कृत गरिएको थियो। उनीहरूलाई मन्त्री अर्यालले नगदसहित प्रमाणपत्रले सम्मान गरेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.